३५ वर्षीया सविता आचार्यलाई बिहान ७ बजेदेखि चिन्ता हुन थाल्छ। ‘७ बजिसक्यो, तरकारी सबै जस्ताको त्यस्तै छ अब एक घण्टामा कति बिक्छ र,’ छेवैको साथीसँग गुनगुन गर्छिन्, ‘८ बज्न नपाई सिठ्ठी फुक्दै आइहाल्छन्।’
टेकुमा बस्दै आएकी आचार्यले कालिमाटी बजारभित्र तरकारी बेचेको १५ वर्षभन्दा बढी भयो। कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउँदै साढे दुई महिनाको घर बसाइँपछि उनी जेठको अन्तिम दिनबाट तरकारी बेच्न आएकी छन्।
‘बेच्न आएको भन्नु मात्रै छ, समितिले ८ बजेपछि राख्न दिँदैन,’ उनले दुख पोखिन्, ‘बिकेको बिक्यो नबिकेको यतै थन्काइन्छ, भोलि बेच्न आउँदा आधाभन्दा बढी कुहिसकेको हुन्छ।’
उनकाअनुसार जेठ ३२ गतेबाट कालिमाटीको कृषक बजार खुलेको छ। त्यहाँका प्राय व्यापारीले कालिमाटीको होलसेल तथा किसानसँग खरिद गरेर त्यहीँ बेच्छन्।
कोरोना भाइसरका कारण समितिले बिहान ८ बजेपछि बजार बन्द गरिदिन्छ। लकडाउनभन्दा पहिले भने व्यापारीले बिहान १० बजेसम्म र बेलुका ३ बजेपछि व्यापार गर्न पाउँथे।
‘लकडाउनभरि बसेर खाँदा अलिअलि कमाएको पनि सकियो,’ सागको व्यापार गर्दै आएकी गीता कटुवाल भन्छिन्, ‘तरकारी बिक्ने मुख्य समयमै बन्द गर्नुपर्छ।’
नबिकेको साग गाईलाई दिने गरेको उनले गुनासो पोखिन्। ‘नबिकेपछि हिजोको साग आज गाईलाई दिइयो, अब आजको पनि भोलि दिनुपर्छ,’ उनले भनिन्।
तरकारी बेच्ने समय तोकिँदा अन्तिममा साँवा उठाउन पनि किनेकै मूल्यमा दिने गरेको अर्की व्यापारी पार्वती ढुङ्गानाले बताइन्।
‘साग छिट्टै बिग्रन्छ, फ्याँक्नुभन्दा त साँवा भए पनि उठाउन अन्तिममा त किनैकै मूल्यमा दिन्छौं,’ उनले भनिन्। उनकाअनुसार कृषक बजारमा राख्नेले दैनिक १० रूपैयाँ शुल्क तिर्नुपर्दछ।
कालिमाटी बजारमा कृषक बजार, होलसेल बजार र खुद्रा बजार भनेर स्टल छुट्याइएको छ। होलसेल बजार लकडाउनका बेला दुई साता बन्द भई खुलेका छन्। खुद्रा बजार चैत र वैशाख दुई महिना पूर्णरूपमा बन्द रहे। जेठ १ गतेबाट भने समितिले खुद्रा बजार खुल्ला गरेको छ।
बन्द रहेको दुई महिनाको पनि समितिलाई भाडा तिर्नु परेको व्यापारीले गुनासो गरेका छन्। ‘सरकार आफै घरभाडा नलिन भन्छ तर व्यापारीबाट भने बन्द भएको स्टलको भाडा पनि माग्छ,’ खुद्रा व्यापारी निर्मला चौलागाईंले प्रश्न गरिन्, ‘हामीले तरकारी बेच्न नपाएपछि भाडा तिर्नुपर्छ र, आजको भोलि आएर बजार बन्द गर्दा हाम्रो ५०/६० हजारको तरकारी नोक्सान भयो, त्यसको क्षतिपूर्ति कसले दिन्छ।’
उनकाअनुसार कालिमाटी बजारमा ६५ वटा खुद्रा बजार छन्। समितिले चाँडो बजार बन्द गरिदिँदा त्यहाँका स्टलहरुको दैनिक ५०/६० हजार रुपैयाँको तरकारी नोक्सान भएको छ।
कालिमाटी बजार विकास समितिले व्यापारीलाई धम्क्याएर भाडा लिने गरेको व्यापारी तिलक चौलागाईले बताए। उनले समितिको जवाफ उदृत गर्दै भने, ‘भाडा दिन्छौं भने देऊ नभए पसल खारेज गरिदिन्छु’
‘समितिले भाडा नपाए नवीकरण नगरिदिने भन्छ, उता नवीकरणको लागि कर तिर्नुपर्छ,’ अर्का व्यापारी राजकुमार थापाले भने, ‘असारको एक महिना बाँकी छ। व्यापार छैन, कसरी व्यवस्थापन गर्ने हो थाहा छैन।’
आफूहरूको समस्याबारे सम्बिन्धित निकायमा निवेदन दिँदा पनि कुनै प्रतिक्रिया नआएको व्यापारीको भनाइ छ। समितिले पुरै भाडा छुट नदिएर केही मात्र छुट दिए पनि आफूहरूलाई राहत हुने उनीहरु बताउँछन्।
‘साढे दुई महिना बसेर खाँदा कमाएको पनि सकिहाल्यो। घरभाडा तिर्नैपर्ने छ, पसल भाडा पनि दिनुपर्दा धेरै समस्या भएको छ,’ उनले भने।
उनकाअनुसार खुद्रा बजार भने दिनभरि राख्न पाइन्छ। कृषक बजार हटाउँदा खुद्रा बजारमा पनि खासै मान्छे किन्न नआउने उनले बताए। खुद्रा बजारको मूख्य गेट बाहेक सबै गेट समितिले बन्द गरिदिन्छ।
सरकारले भाडा छुट गर्ने भन्ने निर्देशन नभएकाले भाडा लिइएको कालिमाटी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पसाद पोखरेलले बताए।
‘समिति चल्ने भनेकै भाडाबाट हो। सरकारले हामी पैसा दिन्छु, भाडा नलिनू भनोस् हामी फिर्ता दिन्छौं,’ उनले भने। समितिले भाडा लिएको विषयमा आफूलाई थाहा नभएको कृषिमन्त्रालका सहसचिव तथा कालिमाटी बजार विकास समितिकी अध्यक्ष सवनम शिवाकोटीले बताइन्।
‘खुद्राको व्यापारीलाई भाडा लिएको भन्ने विषयमा मलाई केही थाहा छैन। खुद्रा बजार हामी आफैले बन्द गराएका हौं,’ उनले भनिन्, ‘उनीहरूलाई भाडा लिने, नहिले भन्ने विषयमा केही छलफल पनि भएको छैन, म बुझ्छु।’