भारतको बिहारबाट शनिबार बिहान नेपाल छिरेको सलह कीराले हावाको वेगअनुसार ठाउँ फेर्दै गरेको सम्बन्धित विज्ञहरूले बताएका छन्।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार सुरूमा आएर बसेको अधिकांश ठाउँमा अहिले सलह देखिएको छैन। सर्लाहीको नवलपुरमा देखिएका कीरा ४ देखि ५ घन्टा बसेर अन्यत्र गएका छन्। भैरहवामा देखिएका कीरा बुटवल, पाल्पा र स्याङ्जा पुगेका छन्।
त्यस्तै, सिन्धुलीमा गएको झुण्ड चियाबारी पुगेको छ भने पर्सामा देखिएको झुण्ड उडेर चितवनको राष्ट्रिय निकुञ्ज गएको छ। बारामा देखिएका कीरा मकवानपुर र काभ्रेतिर गएको पनि हुमागाईंले बताए।
पूर्व बहिरहेको हावा उत्तर बहन थालेपछि सलह कीरा भारतको बिहारबाट शनिबार बिहान ७ देखि ८ बजेबीच नेपाल प्रवेश गरेको थियो। हावाको वेगले चिप्लिएर फाट्टफुट्ट धेरै जिल्ला पुगे पनि झुण्ड भने बारा, पर्सा, भैरहवा लगायत तराई हुँदै सिन्धुली, रामेछाप, बुटवल, पाल्पा लगायत पहाडी भेगमा सरेको उनले जानकारी दिए।
'हावाको चाप उत्तरतिर बहेकाले सलहको झुण्ड अझै आउन सक्ने देखिन्छ। राजस्थानबाट ठूलो झुण्ड भारतको बिहारतर्फ मोडिएको छ भन्ने सुनिएको छ,' उनले भने, 'त्यो झुण्ड तितरबितर भएर नेपाल प्रवेश गर्यो भने ठूलो समस्या पर्नेछ। बिहार नआउँदै भारत सरकारले राजस्थानतिरै भगाउन सक्यो भने नेपाल छिर्न सक्ने सम्भावना कम देखिन्छ।'
यसबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह व्यवस्थापनका लागि तीनै तहका सरकारबाट गर्ने काम बाँडफाँट गरेको छ।
नेपालका विभिन्न क्षेत्रमा देखापरेको सलह रोकथाम गर्न स्थानीय, प्रदेश र संघीय सरकारले के-के काम गर्ने भन्ने योजना बनाइरहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।
उनका अनुसार स्थानीय तहले विषादी र आवश्यक औजारको व्यवस्थापन गर्नेछ। ठूलो झुण्ड आए संघीय सरकारलाई रिपोर्ट गरिनेछ। संघीय गृह मन्त्रालयले दमकल, ट्यांकर तथा जेडस्प्रे उपलब्ध गराउनेछ।
कुन ठाउँमा कति बाक्लो सलह देखियो भनेर तथ्यांक राख्न सलह सूचना केन्द्र स्थापना गरिने मन्त्रालयले जनाएको छ। सोमबारबाट सञ्चालनमा आउने उक्त सूचना केन्द्र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा रहनेछ।
केन्द्रले सलह कहाँ-कहाँ पुगेको छ, क्षतिको अवस्था के छ, नियन्त्रणका लागि के गरियो लगायत जानकारी लिनुका साथै आवश्यकताअनुसार प्राविधिक सहयोग गर्ने प्रवक्ता केसीले बताए।
सलह व्यवस्थापनका लागि गर्नुपर्ने उपायबारे भारत, पाकिस्तान र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का विज्ञसँग परामर्श लिइरहेको उनले जानकारी दिए। त्यस्तै, विषादी र उपकरणहरूका लागि सम्बन्धित व्यवसायीसँग पनि छलफल सुरू गरिएको छ।
सलह प्रकोप रहुञ्जेल यसको पहिचान, प्राथमिक तहको व्यवस्थापन लगायत सुझावहरू मन्त्रालयको वेबसाइटमा राखिनेछ।
नेपाल प्रवेश गरेको झुण्डको संख्या यकिन गर्न नसकेको प्राविधिकहरूले बताएका छन्। ‘पानी परिरहेकाले सबै ठाउँ जान सकिएको छैन। त्यसैले संख्या भन्न सकिँदैन,’ हुमागाईंले भने, ‘सानो झुण्ड आएको प्राविधिकहरूले बताएका छन्।’ सलह भित्रिए पनि दैनिक पानी परेकाले बालीमा क्षति नगरेको उनले बताए।
नेपालमा अहिलेसम्म दुई प्रकृतिका झुण्ड प्रवेश गरेका छन्- अपरिपक्व वयस्क र परिपक्व वयस्क।
अपरिपक्व वयस्क धेरै संख्यामा आएका छन् भने परिपक्व वयस्क थोरै संख्यामा। परिपक्व वयस्कले फुल पार्ने भएकाले आफ्नो बासस्थानमै जान्छ। यहाँको वातावरणमा फुल पार्न नसक्ने हुँदा यस्ता खालका सलहको जोखिम कम भएको उनले बताए।