आज असार १५ अर्थात् धान दिवस। नेपालमा २०६१ सालदेखि विभिन्न नाराका साथ यो दिवस मनाइँदै आएको छ। कृषिप्रधान देशमा धान दिवस मनाइरहँदा मुलुकमा आयात हुने धान तथा चामलको परिमाण भने बढ्दो छ।
चालू आर्थिक वर्ष २०७६/७७ को १० महिनामा २८ अर्ब रूपैयाँ बराबरको ६७ कराेड २१ लाख किलो धान तथा चामल आयात भएको छ। त्यसमध्ये ४२ करोड २६ लाख किलो मसिनो तथा मिठो वास्नादार चामल आयात भएको छ।
सोमबार ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न ठाउँमा १७ औं धान दिवस मनाइरहेको छ। तर यो नारामा मात्रै सीमित भएको पाइन्छ।
एकातिर चामल आयात बढिरहेको छ भने अर्कोतिर धान उत्पादन। कृषि मन्त्रालयको तथ्यांकअनुसार गएको पाँच वर्षमा धान उत्पादन १० प्रतिशतले बढेको छ।
गएको वर्ष नेपालमा ५५ लाख टन धान उत्पादन भएको सरकारी तथ्यांक छ। यति धानबाट ३३ लाख टन चामल आउँछ। यो उत्पादन भनेको नेपालको कूल मागभन्दा २ लाख टन न्यून मात्र हो।
उपभोक्ताको रूची अनुरूपको चामल उत्पादन गर्न नसक्दा चामल आयात उल्लेख्य रूपमा आयात भएको सरकारी अधिकारीहरू नै बताउँछन्।
सोमबार धान दिवसमा आयोजित एक कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक दीपक भण्डारीले मसिनो धानका जातको बिउ नार्कका वैज्ञानिकले उन्मोचन गरेपनि कृषकसम्म नपुग्दा त्यसको उपयोग हुन नसकेको गुनासो गरे।
नार्कले उत्पादन गरेको मध्यम मसिना जातको धानको बिउ कृषकसम्म पुर्याइदिन उनले आग्रह गरे।
अनुसन्धान र प्रसारको बिचमा समन्वय हुन नसक्दा तराईका अधिकांशले पुरानै बिउ तथा आयातित बिउले रोपाइँ गर्नुपरेको किसान आयोगका अध्यक्ष चित्र बहादुर केसीले बताए।
‘८० प्रतिशत व्यवसायिक रूपमा धान रोपिने तराई क्षेत्रमा नार्कले उन्मोचन गरेको धानको जातको बिउ पुग्न सकेको छैन। अनुसन्धान र प्रसारबीच समन्वय हुन आवश्यक छ’, उनले भने।
कृषि सचिव राजेन्द्र प्रसाद भारीले कुल गार्हस्थ उत्पादनमा धानको ४० प्रतिशत योगदान भएकोले यसलाई कायमै राख्न हाइब्रिड धानको जातको बिउ कृषकसम्म पुर्याउ प्रसार विभागलाई आग्रह गरे।
आयातित धानलाई विस्थापित गर्न आगामी आर्थिक वर्षमा धान विशेष कार्यक्रम राखिएको सचिब भारीले बताए। धानको बैज्ञानिक बाली ब्यस्थापनको प्रयोग गरी उपयुक्त जात र बिउको प्रयोगमार्फत धानको उत्पादनमा बृद्धि गर्न सकिने उनको भनाइ छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लल्का वास्मति, शुद्धोदन कालानमक, सुधारिएको जेठा बुढो र खुमल–४, खुमल–८ र खुमल–१० कानानुनिया, हर्दिनाथ १ र हर्दिनाथ ३ हाइब्रिड मिठो मसिनो तथा बास्नादार धानको जात विकास गरेको छ।
सिँचाईको राम्रो व्यवस्था हुने हो भने नेपालमा ६ देखि ७ लाख टन धान उत्पादन गर्न सकिने धान विज्ञहरू बताउँछन्। नेपालको कुल खेतीयोग्य भूभागको करिब ६५ प्रतिशत मात्र सिँचाइ क्षेत्र रहेको छ। त्यस मध्ये पनि वर्षभरि सिँचाइ सुविधा २८ प्रतिशतमा मात्रै छ। धानको कुल क्षेत्र मध्ये ३० प्रतिशत उच्च खडेरीको जोखिममा छ भने १५ प्रतिशत बाढीको जोखिममा।
धानको ‘मिलिङ रिकभरी’लाई उचित प्रविधि प्रयोग गरी ६४ प्रतिशतबाट ७२ प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना रहेको छ। यो प्रविधिको विकासबाट १० प्रतिशतसम्म उत्पादन बढाउन सकिने नार्कको अनुसन्धानले देखाएको छ।
हाल ८२ स्थानमा बिशेष रोग कीरा तथा प्राकृतिक बिषमता प्रतिरोधी उन्नत जातका धानहरु उन्मोचन र ४८ हाइब्रिड सूचीकृत भइसकेकाे नार्कले जानकारी दिएको छ।