बारा, पर्सा हुँदै शनिबार नेपाल छिरेको सलह त्यसै दिन मकवानपुर, गढी गाउँपालिकाको एउटा वडामा देखिएको थियो।
चर्को आवाज निकाले सलह भाग्छ भनेर वडा नम्बर ७ का बासिन्दाले ढ्याङ्ग्रो ठटाएका थिए। दोस्रो दिन उनीहरूले मकै बालीमा विषादी छरे भने सोमबार राँको बालेर हिँडे।
‘विषादी हाल्ने, ढ्याङ्ग्रो ठटाउने र राँको बाल्ने गरेपछि बल्ल वडा नम्बर ७ मा सलहको प्रकोप कम देखिएको छ,' गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले भने, 'त्यहीँबाट उडेर अन्य वडामा गएजस्तो लाग्छ।’
पहिलो दिन वडा नम्बर ७ मा देखिएको झुण्ड करिब १० लाखको संख्यामा रहेको उनले जानकारी दिए।
उनका अनुसार सलहले उक्त वडाको झन्डै १० प्रतिशत मकैबालीमा क्षति पुर्याएको छ। यसले मकैको पात र घोगाको टुप्पो खाइदिएको उनले बताए। ‘हामीले देख्नेबित्तिकै धपाने उपाय नगरेको भए मकै बाली सखाप पार्थ्यो,’ उनले भने।
गाउँपालिका अध्यक्ष विदुर हुमागाईंका अनुसार ७ नम्बर वडाबाट सुरू भएको सलह प्रकोप सोमबारसम्म १, ५, २ र ८ नम्बर वडामा फैलिएको छ। गाउँपालिकाले सलह संकलन गर्नेलाई प्रतिकिलो सय रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। यसबारे सबै वडालाई जानकारी गराइसकेको छ।
गढी गाउँपालिकामा सलह पसेपछि पालिकाका कृषि प्राविधिकलाई प्रदेशको कृषि मन्त्रालय बोलाएर छलफल गरेको चितवन, कृषि ज्ञान केन्द्र प्रमुख राजन ढकालले बताए।
‘हामीले प्राविधिकलाई आइतबार प्रदेश मन्त्रालय हेटौंडा बोलाएका थियौं, कसरी व्यवस्थापन गर्ने भनेर सिकाएर पठाएका छौं,’ उनले भने।
उनका अनुसार सुरूमै रासायनिक विषादी प्रयोग नगरी ढ्याङ्ग्रो बजाउने र राँको बाल्ने उपाय अपनाउनुपर्छ। त्यसरी व्यवस्थापन हुन सकेन भने विषादी प्रयोग गर्ने भनिएको छ। विषादी आवश्यक परे ज्ञान केन्द्रले सहयोग गर्ने उनले बताए।