लकडाउनमा राम्ररी तरकारी बेच्न नपाएका किसान बजार खुलेपछि व्यापार सहज हुने आशामा थिए।
तर लामो समय लकडाउन र निषेधाज्ञा सहेका किसानले मौसम परिवर्तनको समेत सामना गर्नुपर्यो। अहिले पछिल्लो केहीदिनदेखि लगातार परेको पानीले तरकारी बालीमा विभिन्न समस्या देखिएको गुनासो किसानहरूले गर्न थालेका छन्
भक्तपुर चाँगुनारायण नगरपालिकाका किसान पूर्णभक्त सुवालले करिब २० रोपनी जग्गामा गोलभेंडा तथा तरकारी लगाएका छन्। तर लगातार परेको पानीले उनले लगाएको गोलभेंडामा डढुवा रोग देखिन थालेको छ। यो रोग विशेषगरी टनेलमा लगाएको गोलभेंडामा देखिने सुवाल बताउँछन्।
‘लकडाउनमा तरकारी बेच्न धेरै दुःख थियो। कालिमाटीमा रातिमात्र सामान बेच्न दिइन्थ्यो,’ उनले भने, ‘दुःख गरेर उत्पादन गर्नु पनि छ, बेच्न पनि समस्या भएपछि ५ रोपनी जग्गामा लगाएको काउली काटेर सुकाए।’
‘अहिले बजार खुलेको बेला त सहजै बेचौंला भन्ने थियो, डढुवाले सबै बोट मर्न थालेका छन्,’ उनले थपे।
रोग नलागेको भए सुवालले ३० क्यारेट गोलभेंडा बेच्दा ६० हजार बढी आम्दानी गर्थे। अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडा क्यारेटको औषत २ हजारदेखि २२ सयसम्म छ।
उत्पादन हुँदा मूल्य नपाइने र मूल्य पाउँदा उत्पादन नहुने किसानको समस्या पुरानै हो।
रामकोटका किसान पुष्कर खड्काले गत वर्ष ३० लाख जतिको गोलभेंडा बेचेका थिए। अहिले २० लाखको पनि नबेचेको उनी बताउँछन्।
‘पोहोर ३० रोपनी जग्गामा गोल्भेंडा लगाउँदा ३० लाख बराबरको बेचेँ। यसपाली पनि त्यतिनै जग्गामा लगाएको २० लाखको पनि बेच्न सकिएन,’ पुष्करले भने।
जरा कुहिने बोट मर्ने समस्याले गोलभेंडा सिजन अगावै सकिँदै गएको उनले सुनाए।
काभ्रेका किसान रवीन श्रेष्ठले पनि १५ रोपनी क्षेत्रफलमा गोलभेंडा खेती गरे। तर वर्षैभरी मौसम परिवर्तन हुँदा लागत अनुसार आम्दानी लिन नसकेको उनी बताउँछन्।
‘पोहोर ९० क्यारेट बराबर उत्पादन भएको थियो, यसपाली मुस्किलले ६० क्यारेट बेच्न पाइयो,’ रवीनले भने।
गत वर्षको तुलनामा यसपाली ३० प्रतिशतले उत्पादन घटेको तरकारी विशेषज्ञ शिव याङ्दोले जानकारी दिए।
उनकाअनुसार कहिले धेरै पानी पर्ने र कहिले धेरै घाम लाग्ने हुँदा त्यसले विशेषगरि गोलभेंडा, काँक्रो, करेला, घिरौंला, लौकालगायतका लहरे बालीमा क्षति पुर्याएको छ।
‘हावामा पानीको मात्रा बढ्ने बित्तिक्कै (ह्युमिडिटी) ढुसीजन्य प्रकोप बढ्छ। पानी जम्ने बित्तिक्कै जरा र डाँठ कुहिने समस्या बढेको छ,’ याङ्दोले भने, ‘अहिले विशेषगरि डढुवा रोग, खरानी रोग, ओइल्याउने रोग देखिएको छ।’
समयमै बालीमा बढी भएको पानी कटाउँदा केही किसानको तरकारी जोगाएका छन् भने बर्खा सकियो भनेर ढुक्क हुनेहरूको उत्पादन मासिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरमामात्रै किसानहरूले गोलभेंडा खेतीमा अर्बौं लगानी गरेका छन्।