माघे संक्रान्ति विशेषगरी तरूल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलको लड्डु (तिलौरी), खिचडी, तरूल आदि खाने चलन छ।
यीमध्ये तरूललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाइन्छ। नेपाली उखानै छ, ‘पुसमा पाके, माघमा खाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।
लेखक तथा इतिहास अध्येता हरिप्रसाद सोडारीका अनुसार खेतीपाती नहुने समयमा ऋषिहरू तरूल, गिठ्ठा, भ्याकुर लगायत कन्दमुल खान्थे।
'जंगलमा पकाउने भाँडाकुँडा पाइँदैन थियो। त्यसैले त्यो बेला पोलेर खान्थे। मानवबस्ती बढ्न थालेपछि उसिनेर खाने चलन आएको हो,' इतिहास अध्येता सोडारीले भने, 'पहाडी भेगमा अझै पनि पोलेर खाने चलन छ। पोलेर खाँदा शरीरमा भएको गर्मी हट्ने मान्यता छ।'
मंसिरदेखि माघसम्म कन्दमुल खन्ने उपयुक्त समय मानिन्छ। माघपछि विस्तारै अन्य खेतीपातीको समय सुरू हुन्छ। सामान्यतया पानी पर्ने समयमा कन्दमुल खनिँदैन।
नयाँ बाली भित्र्याउने समयमा केही न केही विशेष खाने भएकाले माघे संक्रान्तिमा तरूल खाने चलन आएको सोडारी बताउँछन्।
तरूल खाने तरिका ठाउँअनुसार फरक–फरक हुन्छ।
कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेषमा मात्रै खान्छन्। जसरी खाए पनि तरूल स्वास्थ्यका लागि फाइदाजनक हुने टेकु अस्पतालका डा. शेरबहादुर पुन बताउँछन्।
जाडोमा शरीरलाई चाहिने अत्यावश्यक तत्व तरूलमा पाइने भएकाले पनि यो समयमा खानुपर्ने पुनको सुझाव छ।
‘जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरूलमा पाइने हुनाले खानु आवश्यक छ,’ उनले सुझाए।
स्वासप्रश्वास तथा छालासम्बन्धी समस्याका लागि पनि तरूल उपयुक्त मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रिया सम्बन्धी समस्याका लागि राम्रो हुन्छ।
तरूलमा भिटामिन बी सिक्स प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ। यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर रोगसँग लड्न समेत सहयोग गर्ने उनको भनाइ छ।
तरूलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ। यस कारण यसलाई शक्तिको प्रमुख स्रोतका रूपमा समेत लिइन्छ। जाडोमा संक्रमण पनि बढी हुने बताउँदै डा. पुनले भिटामिन, खनिज तथा लवण बढी पाइने तरूलसँगै कन्दमुल तथा सखरखण्ड खानु स्वास्थ्यका लागि राम्रो हुने जानकारी दिए।
बजारमा पाइने तरूल, र मूल्य
घर तरूल – प्रतिकेजी १२० देखि २५० रूपैयाँ
पतले तरूल – प्रतिकेजी १५० देखि २५० रूपैयाँ
स्कुसको जरा – प्रतिकेजी २ सय रूपैयाँ
हात्तिपाइले तरूल – प्रतिकेजी १५० रूपैयाँ
वन तरूल – प्रतिकेजी ४ सय रूपैयाँ
सखरखण्ड – प्रतिकेजी १ सय रूपैयाँ
पिँडालु – प्रतिकेजी १ सय रूपैयाँ
सिमल तरूल – १२० रूपैयाँ
माथि उल्लेख गरिएको मूल्य पसलअनुसार फरक–फरक पर्न सक्छ। बजारमा देखिएको अधिकांश तरूल नेपाली नै भएको व्यवसायीहरू बताउँछन्।
‘तरूल धादिङ, काभ्रे, नुवाकोट, गोर्खा तथा तराई भेगबाट आउँछ। भारतीय तरूल खासै आउँदैन,’ चाबहिलकी एक व्यापारीले बताइन्।
तुलनात्मक रूपमा तराईबाट आएको तरूलभन्दा पहाडी भेगका तरुल अलिकति महंगो देखिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार संक्रान्तिलाई लक्षित गरेर पुस महिनामा मात्र १ हजार ५५ टन तरूल बजारमा आएको छ।
त्यसमध्ये सर्लाहीबाट सबभन्दा बढी ४७ प्रतिशत, सुनसरी र धादिङबाट १३/१३ प्रतिशत, नवलपरासीबाट ३.५ प्रतिशत, काभ्रेबाट २ प्रतिशत, चितवनबाट ४ प्रतिशत, गोर्खाबाट १.५ प्रतिशत र भारतबाट ४ प्रतिशत भित्रिएको छ। सखरखण्डको भने उत्पादन कम हुने भएकाले भारतबाट आएको उनको भनाइ छ।