विदेशी लगानी बहसः
सम्पादकीय नोटः सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधन गर्दै कृषिमा विदेशी लगानी खोल्ने निर्णय गरेको छ। सरकारको यो निर्णयमा केहीले विरोध जनाएका छन् भने कतिपयले समर्थन गरेका छन्। यसबारे हामीले सरोकारवाला पक्षहरू र स्वतन्त्र विज्ञहरूको विचार शृंखला सुरू गरेका छौं।
यो भागमा हामीले पछिल्लो समय कृषि परियोजनामा लगानी गरिरहेका उद्योगी पवन गोल्यानसँग कुराकानी गरेका छौं।
प्रस्तुत छ, सेतोपाटीका सुनिता सिटौलाले गोल्यानसँग गरेको कुराकानीको सम्पादित अंशः
व्यवसायीको निरन्तर पैरवीपछि ऐनबाट रोकिएको कृषिमा विदेशी लगानी खोल्ने विषयमा तपाईंको विचार के छ?
सरकारले ल्याएको यो नीति एकदमै राम्रो छ। म भित्रैदेखि स्वागत गर्छु। मलाई लाग्छ तत्काल कृषिमा विदेशी लगानी आउँदा धेरै फाइदा हुन्छ। नेपाली कुनै उद्योग विस्थापित नहुने गरी वैदेशिक लगानी आउँछ भने हामीले त्यसलाई स्वागत गर्नुपर्छ।
के फाइदा?
यसको सबभन्दा बढी फाइदा किसानलाई नै हुन्छ। आज किसानको उत्पादन प्रशोधन हुन पाएको छैन, यसमा हामी विदेशकै भर परिरहेका छौं। त्यसले गर्दा किसानले आफ्नो सामानको मूल्य पाउन सकेका छैनन्।
जस्तो, हामी धूलो दूध मात्र बर्सेनि अर्बौंको आयात गर्छौं। एउटै कम्पनीको डेरी उत्पादन नै ३ अर्बभन्दा बढीको आइरहेको छ। चिज, स्लाइस चिज, बटर, चकलेट लगायत सामान सबै विदेशबाटै आउँछ। हामीसँग ती डेरी उत्पादन गर्न प्रविधि छैन, पुँजी पनि छैन। यदि प्रविधि भित्रिन्छ भने वैदेशिक लगानी आउनु नराम्रो हो जस्तो मलाई लाग्दैन।
कुखुरा, अण्डाको कुरा गर्छौं भने त्यसमा हामी आत्मनिर्भर भइसकेका छौं। त्यसमा वैदेशिक लगानी आवश्यक छैन, ल्याउन पनि पर्दैन। तर कसैले शतप्रतिशत निर्यात गर्छु भन्छ भने आउँदा पनि राम्रो हुन्छ।
अहिले भएका उद्योगी तथा किसानले विदेशी लगानी आएपछि हामी विस्थापित हुन्छौं भनिरहेका छन्। विदेशी लगानीसँगै स्वदेशी उद्योगी र किसान सँगै अघि बढ्ने सम्भावना कसरी देख्नुहुन्छ?
विदेशी लगानी केमा ल्याउने, केमा नल्याउने भनेर हामीले हेर्नुपर्छ। हामी आत्मनिर्भर भएका क्षेत्रमा आउन हुँदैन। तर यतिका वर्ष काम गरेर पनि आत्मनिर्भर हुन नसकेका क्षेत्रमा ल्याउन आवश्यक छ। कतिपयले डेरीमा वैदेशिक लगानी ल्याउन हुन्न भनेका छन्। किन नल्याउने? हामी त्यसमा आत्मनिर्भर भइसक्यौं र? आयातको तथ्यांकले आत्मनिर्भर भएको त देखाउँदैन।
अहिले मिल्क होलिडेका नाममा उद्योगीले दुई-तीन दिन किसानको दूध किनिदिँदैनन्। यसले किसानलाई कसरी फाइदा भयो? किसानलाई सातै दिन दूध बिक्छ भन्ने ग्यारेन्टी दिने कुनै ठूला उद्योग आउँछन् भने हामीले त्यसलाई स्वागत गर्नुपर्छ। हाम्रो लगानी डुब्छ भन्ने सोच्नु गलत हो। डेरी आयो भने किसानले मूल्य पनि बढी पाउँछन्, अनि लगानी बढाउँछन्।
अर्कोतिर हामी अचार, मसलाजस्ता धेरै सामान अर्बौंको आयात गर्छौं। त्यसले पछि यहीँ आएर उद्योग खोल्यो भने हामीलाई नै फाइदा हो।
सानो उदाहरण दिऊँ, पहिला वाणिज्य र नेपाल बैंक मात्र थियो। पछि विस्तारै विदेशी लगानीका बैंक खुल्दै आए। त्यतिखेर पनि कतिले विरोध जनाएका थिए बैंकमा विदेशी लगानी आउन हुँदैन भनेर। त्यसले के असर पारेको छ र?
टेलिकमको कुरा गरौं। पहिला एनटिसी एउटा मात्र हुँदा कस्तो सेवा थियो? पछि एनसेल आयो। एनसेलले एनटिसीलाई केही असर गरेको छैन त, बरू अघि बढ्दै गएको छ।
कृषिमा पनि हामीलाई नोक्सान हुने गरी विदेशी लगानी ल्याउन हुँदैन। साना किसान मासिन भएन, ५० करोडभन्दा कमको लगानी आउन हुँदैन। सानो क्षेत्रमा उनीहरूले पनि लगानी गर्दैनन्। ठूला उद्योगमा लगानी गरे भने साना किसानलाई नै फाइदा हुने हो।
जस्तै किवी, एभोकाडोको खेती धेरै भयो तर नबिकेर किसानले रूख काटेको भन्ने समाचार आइरहेका छन्। त्यसको प्रशोधन उद्योग भएको भए मास्न पर्थ्यो र? ठूलो उद्योग आए भने त्यसले साना उद्योगलाई विस्थापित गर्दैन, झन् अघि बढाउँछ। जुन कुराको आयात अर्बभन्दा बढीको छ, त्यसमा विदेशी लगानी आएको हामीलाई फाइदा हुन्छ। उनीहरूले ल्याएका नयाँ सीप, पुँजी तथा प्रविधि हामीले नि सिक्न पाइन्छ।
विदेशी लगानी पहिले खुला थियो। त्यो बेला लगानी आएको थिएन। अब अहिले आउँछ भन्ने के छ?
त्यस्तो ग्यारेन्टी त केही छैन। २०५० सालअघिको कुरा गर्ने हो भने हाम्रो बजार एकदमै सानो थियो।कृषिजन्य वस्तुको आयात थोरै थियो, अहिले अर्बौंको छ। अब यसलाई हामीले रोक्नु पर्छ कि पर्दैन?
मानौं, कृषिजन्य वस्तु 'फ्रोजन' गर्ने उद्योग आयो भने हामीले फ्रोजन तरकारी निर्यात गर्न सक्छौं। किसानले तरकारी नबिकेर फ्याँक्नु पर्दैन।
कतिले 'कृषिमा विदेशी लगानी भित्र्याउन ठूला घराना समूहको हात छ, उनीहरूले गाँजा र अमुल डेरी भित्र्याउन यो नीति ल्याए' भनिरहेका छन् नि?
गोल्यान समूहले नै अमुल भित्र्याउन लाग्यो भन्ने हल्ला रहेछ। कतिपय मलाई सोधेका पनि थिए। यो कुरामा कुनै सत्यता छैन। अमुल आउन लागेको हो, होइन पनि थाहा छैन। यसमा मेरो कुनै सहभागिता नै छैन। मैले त किसानको मर्म बुझेर विदेशी लगानी आवश्यक छ भनेको हुँ। तर अमुल या अमुलजस्ता कुनै ठूलो उद्योग आउने हो भने किसानले दूध फ्याँक्नु पर्दैन।
गाँजामा वैदेशिक लगानी ल्याउने भन्ने कुरा पनि मलाई थाहा छैन। हो भने, यसमा मेरो के भनाइ छ भने गाँजा लगाउन यसको खेती साना किसानलाई नै दिनुपर्छ। जग्गाको स्वामित्व नजाने गरी प्रशोधन उद्योग लगाउन विदेशीलाई जग्गा भाडामा दिने हो।
कृषिमा विदेशी लगानी आउन हुन्न भन्नेलाई म डाबर नेपालको उदाहरण दिन्छु। डाबर पनि कृषिमै आधारित उद्योग हो। यसले के असर गरेको छ र? डाबरले सुर्खेतमा ठूलो परिमाणमा टिमुर खेती गरिरहेको छ। बनेपामा पनि बिरूवा उत्पादन गरेर किसानलाई सस्तोमा दिएको छ।
यो पनि पढ्नुस्ः यसरी खोलौं कृषिमा विदेशी लगानी
'सरकारले साथ दिए कृषिमा स्वदेशी लगानी नै खर्ब थपिन्छ'