नवराज पाण्डे व्यवसायी हुन्। क्षेत्रपाटी चोक र ज्याठामा उनको चियापत्ति पसल छ। चियापत्तिसँगै उनी हर्बल साबुन, बिरेनुन, कफी, मसला, केशर, परफ्युम, मह र नेपाल, बुद्ध तथा हिमाल चित्र अंकित कप, अगरबत्ति लगायत नेपाली उत्पादन बेच्छन्।
लकडाउनमा भने उनको व्यावसायिक बाटो ठ्याक्कै मोडियो। उनी चियापत्ति कम, कुखुरा बढी बेच्न थाले।
'चियापत्तिका मुख्य ग्राहक चिनियाँहरू हुन्। कोरोनाले गर्दा विदेशीको आवतजावत बन्द भयो जसको प्रभाव मेरो व्यापारमा पनि देखियो,' नवराजले भने, 'अनि कुखुरा व्यवसायमा लागेँ।'
कोरोना भाइरस केही समयमा हराएर जाला भन्ने लागेर सुरूतिर त उनी त्यति विचलित भएनन्। पसलको व्यस्तताबाट केही समय फुर्सदै मिल्यो। उनी आफ्नो परिवारसँग गाउँ गए।
जब लकडाउन तीन महिना बढी लम्बिँदै जान थाल्यो, उनी आत्तिए। काम त गर्नै पर्छ भनेर काठमाडौं फर्किए। तर गर्ने के? पसल खुल्ने अवस्थामा थिएन। खुले पनि पर्यटक थिएनन्।
तर नवराज हार मान्नेवाला थिएनन्। ठाने- एउटा व्यापार बन्द भएर के भयो, अर्को सुरू गर्छु।
विकल्पमा के गर्ने भनेर उनी सोच्न थाले। पछिल्लो समय कृषिमा बढ्दै गएको व्यवसायलाई मध्यनजर गर्दै उनले यसमै लगानी गर्ने योजना बनाए। सोचअनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा कुखरा फार्म खोले।
करिब चार महिनाअघि नवराजसहित सुमन पाण्डे, सुधीर कोइराला र सुशील कोइराला गरी चार जनाको लगानीमा काभ्रेस्थलीमा एसएस पोल्ट्री फार्म खुलेको छ। तीन रोपनी जग्गामा फैलिएको फार्ममा दुई खोर छन्।
'लकडाउन भए पनि सहरबाट अलि भित्र भएकाले हामीलाई काम गर्न त्यति गाह्रो भएन,' नवराजले भने, 'चियापत्ति पसलका भाडा पनि कुखुराबाटै उठायौं।'
व्यवसाय सबैतिर ठप्प हुँदा पनि नवराज नयाँ बाटो पहिल्याउन सफल भएका छन्। यो व्यावसायिक खुड्किलो उक्लन लामो यात्रा तय गरेका छन् उनले।
२०६५ सालतिर नुवाकोट, ति–गाउँबाट एसएलसी दिएपछि उनी स्नातक पढ्न काठमाडौं आएका थिए। यहाँ दिदीदाइसँग बस्न थाले। दिदी घरै बस्थिन् भने दाइको सिसाको सानो कारखाना थियो। मनमोहन कलेजबाट २०६७ सालमा स्नातक सकेपछि नवराज काम गर्न भारतको गोवा पुगे।
'त्यहाँ सामान बेच्ने मान्छेका रूपमा काम गर्न थालेँ,' उनले भने, 'त्यो काम ६ महिनाको मात्र थियो।'
त्यसपछि उनी फेरि काठमाडौं फर्किए। आफन्तको सहयोगमा ठमेलमा गार्मेन्ट पसलमा काम गर्न थाले। त्यहाँ दुई वर्ष काम गरेपछि त्यहीँका साहुका साथीको सहयोगमा दिल्ली गए। त्यहाँ पनि सेल्सम्यानकै काम गरे।
'त्यहाँ गार्मेन्ट, ऊनी तथा ट्रेकिङका सामान बेच्न पर्थ्यो,' कामको अनुभव सुनाउँछन्, 'त्यहाँ पनि ६ महिना काम गरेँ। यता आएर ठमेलकै साहुकहाँ काम थालेँ, कलेज पनि भर्ना भएँ।'
केही समय काम गरेपछि नवराजलाई लाग्न थाल्यो– कति अरूको काम गर्नु? बरू सानै भए पनि आफैं केही गर्छु।
एक्लै लगानी गर्न पैसा थिएन। आफ्ना काकाका छोरा सुमन पाण्डेसँग साझेदारीमा चाक्सेबारी मार्ग, ठमेलमा अरूको पसलअगाडि सानो भित्तामा उनले सानै गार्मेन्ट पसल थापे।
सुमन पनि ठमेलकै एक पश्मिना पसलमा काम गर्थे। आम्दानी धेरै नहुने र घर खर्चमै सकिने भएपछि उनीहरूले फाइनान्सबाट एक लाख ऋण लिएर काम सुरू गरेका थिए।
'हामीले पहिला काम गरेको गार्मेन्टबाटै ऊनीका लुगा ल्याएर बेच्थ्यौं। राम्रै आम्दानी हुन्थ्यो,' नवराजले भने।
तीन वर्षमा राम्रै पैसा कमाएपछि उनीहरूले ठमेलको कुवाबालमा दुई लाखमा एउटा पसल लिए। त्यहाँ उनीहरूले विभिन्नथरि चियापत्ति बेच्न थाले। गार्मेन्टको पसलबाट भने बिस्तारै आय कम हुँदै गएपछि साढे चार लाखमा बेचे र पैसा चियापत्तिमै लगानी गरे।
दुई वर्षपछि ठमेलको ज्याठामा ८ लाख रूपैयाँमा पुरानो झोला पसल किने। ज्याठा चिनियाँहरूको मुख्य क्षेत्र मानिन्छ। झोला हटाएर उनीहरूले चियापत्ति नै बेचे। दुइटा पसलमा उनीहरू एक–एक जना बस्थे।
कुवाबालमा चियापत्तिमा प्रतिष्पर्धा बढ्न थाल्यो। अनि त्यहाँ काम थालेको चार वर्षपछि सटर त्यसै छाडेर उनीहरू अहिले क्षेत्रपाटी आएका छन्। काम गर्दागर्दै नवराजले चिनियाँ भाषा बोल्न सिकेका छन्। यसले व्यापारमा फाइदा पुगेको उनको अनुभव छ।
पसल किनबेच गर्दै त्यसैको लगानी अघि बढाउने नवराजलाई कुखुरा व्यवसाय बिल्कुलै नौलो हो। कुखुरा फार्ममा दुई जनाले मात्र लगानी गर्न नसक्ने। त्यहीँमाथि ठमेलका दुई पसल पनि चलाउनुपर्ने भएकाले थप दुई साथीसँग मिलेर १५ लाखमा उनीहरूले फार्म किनेका हुन्।
चियापत्तिमा काम गरेका उनीहरूलाई कुखुरा पाल्ने के ज्ञान थियो र?
'कुखुरा पालनसम्बन्धी तालिम दिने केन्द्रमा गएर तालिम लियौं,' नवराजले भने, 'युट्युबमा भिडिओ पनि हेर्यौं। अलिअलि जानकारी भएपछि काम गरेरै सिक्ने हो भनेर साउनबाट हामीले काम थालेका हौं।'
आफूलाई धेरै ज्ञान नभएकाले उनीहरूले सुरूमा फार्मको क्षमताभन्दा कम कुखुरा पाले, ५ हजार क्षमता भए पनि १५ सय मात्र चल्ला।
लकडाउनको सुरूआतमा धेरै व्यवसायी घाटामा गइरहेका थिए। यस्तोमा उनीहरूलाई कुखुरा पाल्ने आँट कसरी आयो?
यसबारे नवराज भन्छन्, 'आफूले राम्रोसँग जानेर गर्ने हो भने फाइदा हुन्छ भन्ने सोचेका थियौं। स्वदेशी बजार भएकाले मान्छेले कुखुरा खाएनन् भने मात्र घाटामा जाने हो। आफूसँग अरू सीप पनि थिएन। केही समयको तालिमपछि कुखुरा फार्म खोल्न सक्ने देखेर नै खोलेका हौं।'
उनीहरूले फार्म किन्न मात्र लगानी हाले, चल्ला र दाना डिलरले उधारोमा दिएको उनी बताउँछन्। ठमेलको व्यवसायमा आम्दानी नभएको बेला ऋण गरेर लगानी गर्नुभन्दा आफूसँग भएको पैसाले जुन व्यवसाय खोल्न सकिन्छ त्यही गर्दा राम्रो हुने लागेको उनले बताए।
१५ सय चल्लाबाट सुरू भएको फार्ममा अहिले ६ हजार चल्ला पुगिसके। जाडोमा करिब १० देखि २० प्रतिशत चल्ला मर्ने भएकाले नवराजलाई चिन्ताले सताउँछ। त्यसमाथि, गुणस्तरीय दाना र उचित बजार मूल्य नहुनु पनि समस्या भएको उनले बुझेका छन्।
'सुरूमा ज्युँदो कुखुरा प्रतिकिलो १ सय ९० रूपैयाँ थियो। अहिले २ सय ६० रूपैयाँ छ,' उनले भने, 'कुखुरा व्यवसायी र किसान मिलेर जिउँदो कुखुराको मूल्य प्रतिकिलो १९० नघटाउने भनेपछि आगामी दिनमा फाइदा हुन्छ कि भन्ने आशमा छौं।'