के तपाईं खेती गर्ने सोच्दै हुनुहुन्छ? थोरै जमिनमा धेरै उत्पादन कसरी गर्न सकिएला भन्ने जिज्ञासा होला। वा अहिले खेतीमा कस्ता नयाँ र आधुनिक प्रविधि भित्रिएका छन् भनेर जान्न चाहनुहुन्छ?
तपाईंहरूलाई यसबारे जानकारी दिन हामीले कृषि उद्यमी तथा प्राविधिकहरूसँग कुराकानी गरेका छौं।
उनीहरूका अनुसार कृषिमा आधुनिकीकरण भएसँगै विभिन्न खेती प्रविधि नेपाल भित्रिएका छन्। अचेल पहिलेजस्तो परम्परागत र एउटै प्रविधिको भर पर्नु पर्दैन। ग्रीन-हाउस, नेट-हाउस, पोलि-हाउस, एक्वापोनिक्स, एरोपोनिक्स, हाइड्रोपोनिक्स र थोपा सिँचाइ नयाँ र उपयोगी खेती प्रविधि हुन्।
यीमध्ये केही प्रविधिबारे हामीले यहाँ चर्चा गरेका छौं।
थोपा सिँचाइः
कृषि उद्यमी तथा प्राविधिक खोजराज कटुवालका अनुसार थोपा सिँचाइ प्रविधि जुनै खेतीमा उपयुक्त हुन्छ। यो 'एड्भान्स' सिँचाइ प्रविधि हो। परम्परागत खेती गर्दा पूरै बारीमा सिँचाइ गरिन्छ भने यसमा बिरूवा बिरूवामा मात्र सिँचाइ गरिन्छ।
यसनिम्ति बिरूवाको केही इञ्चमाथि बारीअनुसार लामो पाइप राखिएको हुन्छ। जहाँ जहाँ बिरूवा छन्, पाइपको त्यही त्यही भागमा प्वाल पारिन्छ। त्यही प्वालबाट बिरूवामा थोपा-थोपा पानी बगेर जाने भएकाले यसलाई थोपा सिँचाइ प्रविधि भनिएको हो।
यो प्रविधिबाट खेतीमा पानी हाल्न धेरै नै सहज हुने किसानहरू बताउँछन्। पाइप वा भाँडामा बोकेर पानी हाल्ने दुःख हुँदैन। त्यस्तै सिँचाइका निम्ति पानी पनि परम्परागत तरिकामा भन्दा एकदमै कम लाग्छ। ठूलो बारीमा गरिने खेतीका लागि यो प्रविधि निकै उपयुक्त हुने किसानहरूको अनुभव छ।
बेमौसमी खेतीका लागि ग्रीन-हाउस, नेट-हाउस र पोलि-हाउस उपयुक्त मानिन्छ। यस्ता 'हाउस'का माध्यमबाट बिरूवालाई आवश्यक मौसम तयार गरेर जुनसुकै याममा खेती गर्न सकिन्छ।
ग्रीन, नेट र पोलि-हाउस प्रविधिः
यी तीनै प्रकारका प्रविधि हेर्दा उस्तैउस्तै हुन्छन्। यसको डिजाइन मात्र फरक हुने प्राविधिक कटुवाल बताउँछन्। ग्रीन र पोलि-हाउसको छेउछेउमा जाली हुन्छ। माथिपट्टि युभी प्रोटेक्ट प्लास्टिकले ढाकिएको हुन्छ। यो प्लास्टिकले घामको अधिक ताप कम गर्न सघाउँछ।
ग्रीन-हाउसमा तापक्रम आफैं नियन्त्रण हुने प्रणाली हुन्छ। तर पोलि-हाउसमा हुँदैन र यो हिमाली तथा पहाडी भेगमा उपयोगी मानिन्छ। नेट-हाउसमा भने सबैतिर नेट (जाली) ले ढाकिएको हुन्छ। यो प्रविधि ठूलो क्षेत्रफलमा प्रयोग गर्न सकिन्छ र विशेषगरी तराईमा प्रयोग हुन्छ।
कटुवालका अनुसार बिरूवालाई जुन खालको तापक्रम चाहिन्छ, त्यो बाहिरी हावामा नहुन सक्छ। यी तीन प्रविधिमा सामान्य फरक भए पनि बिरूवा अनुकूल तापक्रम बनाउन यिनको प्रयोग हुन्छ। व्यावसायिकदेखि सामान्य किसानसम्मले प्रयोग गरेका यी प्रविधि संसारभरि व्यापक छन्।
यी प्रविधिको मोडल डिजाइन मौसम र खेती गरिने ठाउँ समुद्री सतहबाट कति उचाइमा छ, त्योअनुसार तय गरिन्छ। तराई, हिमाली र पहाडी भेगमा छुट्टाछुट्टै मोडलका ग्रीन, नेट र पोलि-हाउस प्रयोग हुन्छ। पहाड, हिमालको धेरै चिसो मौसममा तरकारी फल्दैन भने तराईको धेरै तातोमा पनि फल्दैन। बाहिरी वातावरणको यही समस्या यी प्रविधिले सल्टाउँदै दुवै समयमा खेती गर्न सकिने सुविधा दिन्छन्।
विशेषगरी हिमाली भेगमा तापक्रम बढाउने ग्रीन, पोलि-हाउस डिजाइन गरिएको हुन्छ। पहाडी भेगमा भेन्टिलेसन प्रकारको ग्रीन-हाउस हुन्छ जहाँबाट तातो हावा बाहिर जान सक्छ। तराईका लागि तापक्रम घटाएर नेट-हाउस डिजाइन गरिएको हुन्छ।
यी प्रविधिबाट बिरूवालाई अधिक घाम, पानी, शीत, असिनाबाट जोगाउन सकिन्छ।
माटोबिनै गर्न सकिने खेती प्रविधिः
हामीकहाँ माटोबिनै खेती गर्न सकिने प्रविधि पनि आइसकेको छ। त्यसैले खेतीका निम्ति जमिनै चाहिन्छ भन्ने हुँदैन, बिरूवा राख्ने ठाउँ भए हुन्छ। तरकारी बाली विकास केन्द्र, खुमलटारका प्रमुख दिनेश सापकोटाका अनुसार कुनै बिरूवाले आफूलाई चाहिने विभिन्न तत्वहरू माटोबाट पाउँछ। यो प्रविधिमा माटो नहुँदा यी सबै तत्व पानीमा मिसाइएको हुन्छ। सबै तत्व र पोषण पदार्थ भएको पानीमा बिरूवा हुर्काएर खेती गरिन्छ।
यी प्रविधिबाट खेती गर्न आवश्यक सरसामग्रीको तयारी अवस्थाका 'किट' बजारमा पाइन्छन्। खेती प्रविधिदेखि बिउसम्म उपलब्ध गराउने कम्पनीहरू पनि थुप्रै छन्।
विश्वमा माटोबिनाको खेती प्रविधिमा प्रमुख रूपमा पानीमा आधारित पद्धति (हाइड्रोपोनिक्स), हावा र पानीको सम्मिश्रणमा आधारित (एरोपोनिक्स), माछामा आधारित पद्धति (अक्वापोनिक्स) प्रचलित रहेको सापकोटाले जानकारी दिए।
हाइड्रोपोनिक्सः
सापकोटाका अनुसार यो प्रविधिमा एउटा ट्यांकीमा बिरूवालाई चाहिने खाद्यतत्व मिसाइएको पानी राखिन्छ। त्यसबाट बिउ राखिएका सानो कप, कोकोपिट (नरिवलको जटा) वा फम (पानी सोस्ने स्पन्ज) सम्म पाइप जोडेर पानी दिइन्छ। यसरी बिरूवा उमार्नुलाई हाइड्रोपोनिक्स प्रविधि भनिन्छ।
अक्वापोनिक्सः
यो माछामा आधारित प्रविधि हो। यसमा पानीभित्र माछा राखिएको हुन्छ। माछालाई चाहिने सबै खाद्यतत्व पानीमा मिसाइन्छ। माछाले खाएपछि निकालेको मल पानीमा घुल्छ र त्यही पानी बिरूवामा हालिन्छ।
एरोपोनिक्सः
यो भने हावा र पानीको सम्मिश्रणमा आधारित हुन्छ। बिरूवालाई आवश्यक सबै पोषण तत्व घोलिएको पानी बिरूवामा हालिन्छ।
यी तीन प्रविधिमध्ये हाइड्रोपोनिक्स प्रविधि बढी उपयोगमा रहेको तरकारी बाली विकास केन्द्र, खुमलटारका प्रमुख सापकोटा बताउँछन्।
'अक्वापोनिक्स र एरापोनिक्स प्रविधि नेपालमा धेरै चलेको छैन। नार्क र तरकारी बाली विकास केन्द्रले नमुनाका रूपमा गरेको थियो,’ सापकोटाले भने, 'यो बढी महँगो पर्ने देखियो। र यसमा अझै राम्ररी अध्ययन गर्नुपर्ने भएकाले यसको विस्तार हुन सकेको छैन।'
हाइड्रोपोनिक्स प्रविधि भने यहाँका ठूला व्यवसायीले नै गरिरहेको उनले जानकारी दिए। उनका अनुसार यसमा सलादका लागि प्रयोग हुने साग राम्ररी फल्छ।