काठमाडौं, तारकेश्वर नगरपालिका फटुङ–७ मा शनिबार बर्डफ्लु देखियो। स्थानीय किसानले पालेका टर्की, बट्टाई, हाँस र लोकल कुखुरामा बर्डफ्लु भेटिएको थियो।
छिमेकी राष्ट्र भारतका हरियाणा, केरला, हिमाञ्चल, मध्यप्रदेश, राजस्थान लगायत राज्य र नेपाल–भारत सीमाबाट केही टाढा बर्डफ्लु देखिएको थियो। सूचना बाहिरिएसँगै हाम्रो तराई भेगमा उच्च जोखिम हुने अनुमान गर्दै पशु सेवा विभागले जीवित पन्छी, मासु, अन्डा तथा पशुजन्य अप्रशोधित पदार्थ भित्र्याउन रोक लगायो। विभागले पशु स्वास्थ्य तथा पशु सेवा ऐन- २०५५ को दफा ११ बमोजिम यो निर्णय गरेको हो।
विभागले त्यस्ता पशुजन्य पदार्थ आयात हुन नदिन आफूमातहत कार्यालयलाई शतर्कता अपनाउन पत्राचार पनि गरेको थियो। कानुनीरूपमा भित्र्याउन बन्देज र लुकीछिपी ल्याउनेलाई सीमामा कडाइ गरे पनि बर्डफ्लु कसरी एकैपटक काठमाडौंमा देखियो?
यो पनि पढ्नुस्ः बर्डफ्लु देखियो, कुखुराको मासु-अण्डा कसरी खाने?
यसबारे हामीले पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकाललाई सोध्यौं।
'केरलाबाट काठमाडौं कम्तीमा पनि २६ सय किलोमिटर टाढा छ। कसैले त्यति टाढाबाट लुकिछिपी ल्याएर कतिमा बेच्नु छ र? त्यसरी लुकिछिपी ल्याएर सरेको हो जस्तो लाग्दैन,' ढकालले भने।
पन्छीजन्य वस्तु आयातभन्दा पनि प्राकृतिक कारणले बर्डफ्लु देखिएको अनुमान उनको छ।
उनका अनुसार यो समयमा चिसो छल्न जंगली पन्छीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्छन्। जसले गर्दा लाखौं चराहरू आकाशमा उडिरहेका हुन्छन्। ती चराहरू खानेकुराका लागि आकाशबाट जमिनमा आउँछन्। तिनीहरूको प्वाँख, र्याल, दिसा जमिनमा पर्छ। ती चराहरूमा बर्डफ्लु भए यहाँ पनि फैलिन्छ।
उनले अगाडि भने, 'जंगली चरा हिँड्ने याम हो अहिले। तिनीहरूकै दिसा–पिसाबबाट सरेको हो भन्ने हाम्रो अनुमान छ।'
जंगली पन्छी जमिनमा आएर विश्राम गर्दा त्यस वरपरका कुखुरा-बट्टाई-हाँस फार्महरू जोखिममा रहने उनले बताए। ढकालका अनुसार बर्डफ्लु भएको चराको एक ग्राम दिसामा ३० लाखभन्दा बढी पन्छी मार्न सक्ने भाइरस रहन्छ।
उसो भए जंगली पन्छीबाट कसरी सुरक्षित हुने त?
जंगली पन्छी रूखमा आएर बस्ने भएकाले घर वरिपरि ठूला रूख भए ध्यान दिनुपर्ने उनी बताउँछन्। फार्म वरिपरि बेला–बेलामा औषधि पनि हाल्नुपर्छ। घरको छतमा परेवालाई दाना दिँदा पनि रोगको खतरा नै हुने उनको भनाइ छ।
'खानेकुरा देखेपछि जगली पन्छी पनि आउन सक्छन्। तिनीहरूले झारेका रौं, प्वाख, र्याल, दिसा–पिसाबबाट वरिपरिका चरामा सर्ने सम्भावना बढी हुन्छ,' उनले भने।
अहिले काठमाडौंमा देखिएको बर्डफ्लु भारतमा देखिएको भाइरससँग मिल्दोजुल्दो रहेको विभागका प्रवक्ता ढकाल बताउँछन्। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपिरेश्वरमा भाइरस जाँच हुँदै आएको छ। बर्डफ्लु फैलिएसँगै नमूना परीक्षण पनि बढेको उनले बताए।
'पहिले किसानले कुखुरा-हाँस बिरामी भए मात्र जँचाउन ल्याउँथे। बर्डफ्लु देखिएसँगै नमूना परीक्षण बढेको छ,' उनले भने, 'एक महिनामा शंका लागेका २-३ सय ठाउँबाट नमूना ल्याएर परीक्षण गरिसक्यौं।'
कुखुरा मरेका तथा बिरामी परेका फार्मबाट नमूना ल्याएर परीक्षण गरिएको हो। परीक्षण गर्दा कुखुरामा रानीखेत भन्ने रोग देखिएको उनले जानकारी दिए। यो पन्छीमा महामारीकै रूपमा देखिने एउटा रोग हो। रानीखेत रोग निराकरणका लागि खोप लगाइन्छ।
'अहिले नेपालमा बर्डफ्लुको एच ५ एन ८ भाइरस देखिएको हो। यो हाइ प्याथोलोजिक एन्फ्लुएन्जा हो र अहिलेसम्म मान्छेमा देखिएको छैन,' ढकालले भने।
रोग फैलन नदिन निगरानी भइरहेको पनि उनले जानकारी दिए। सुरूमा जिल्लाबाट ल्याएर प्रदेशका प्रयोगशालामा किट जाँच गर्छन्। त्यसमा केही शंका देखियो वा पिसिआर जाँच गर्न पर्यो भने केन्द्रमा ल्याइन्छ।
नेपालमा प्रदेश नम्बर पाँचमा बाहेक सबैमा एक-एक वटा भेटेरिनरी प्रयोगशाला छन्। तर प्रदेशका प्रयोगशालामा अहिले कोरोना पिसिआर जाँच हुने गरेकाले पन्छीको पिसिआर जाँच गराउन केन्द्रमै ल्याइन्छ। बर्डफ्लु भाइरस फैलिहाले यससम्बन्धी काम गर्न तालिमप्राप्त दुई सय प्राविधिक रहेको ढकालले जानकारी दिए।
'रोग देखिएको क्षेत्रको एक-डेढ किमी परसम्मको नष्ट नै गरेका छौं,' उनले भने, 'फैलिहाले पनि हामी तयारी अवस्थामा छौं।'
ठूलो परिमाणमा कुखुरा मरे वा बिरामी परेमा विभागमा सूचना दिन उनको आग्रह छ। सरकारले नष्ट गरेका कुखुराको क्षतिपूर्ति दिइने पनि उनले जानकारी दिए।
'नष्ट गर्दा घाटा हुन्छ भनेर किसानले बेलै नभई बेच्ने वा भगाइदिन थाले,' उनले भने, 'त्यसले रोग फैलिन झन् सहज हुन्छ। त्यसैले किसानलाई केही राहत होस् र रोग नियन्त्रणमा सहयोग पुगोस् भनेर क्षतिपूर्ति दिन थालिएको हो।'
उनका अनुसार नष्ट गरेपछि किसानलाई विभागले एउटा प्रमाणपत्र दिएको हुन्छ। त्यसका आधारमा स्थानीय तहको सिफारिसमा क्षतिपूर्ति पाइने छ।
'जिल्ला प्रशासन कार्यालय प्रमुखको अध्यक्षतामा जिल्ला दररेट समिति गठन गरिएको हुन्छ,' उनले भने, 'त्यसले जिल्लाका वस्तुहरूको मूल्य तोक्छ काम। त्यही आधारमा क्षतिपूर्ति दिइने छ। उक्त मूल्य जिल्ला अनुसार फरक–फरक हुन्छ।'