सस्तो र ताजा तरकारी खोज्दै हुनुहुन्छ भने अब तपाईं कालिमाटी-बल्खु धाउनुपर्छ भन्ने छैन। अनामनगरमा पनि ठूलो तरकारी बजार खुलेको छ।
यहाँ कालिमाटी-बल्खुमा जस्तै होलसेल मूल्यमा तरकारी पाइने बजारका सञ्चालक नव श्रेष्ठ बताउँछन्।
'व्यापारी वा खुद्रा किन्ने सबैलाई होलसेल मूल्यमा तरकारी पाइन्छ,' उनले भने, 'यो साता टमाटर भने किलोको एक रूपैयाँमै।'
टमाटर सबै तरकारीको राजा भएकाले एक रूपैयाँ किलो दिएको उनी बताउँछन्।
'जे तरकारी पकाउँदा पनि टमाटर हाल्नैपर्छ। त्यही भएर हामीले एक रूपैयाँमै दिएका हौं,' उनले भने। यो कम्पनीले दिएको 'स्किम' हो जुन यो साताभरि मात्र लागू हुने उनले जानकारी दिए।
यसका केही शर्तहरू भने छन्। कोही पनि ग्राहकले एक रूपैयाँ लिएर टमाटर मात्र किन्न पाउँदैनन्। अन्य तरकारी किनिसकेपछि टमाटर एक रूपैयाँमा पाइने हो।
'यति नै मूल्य बराबर किन्नुपर्छ भनेर तोकेका त छैनौं,' उनी भन्छन्, 'अन्य तरकारी दुई/तीन किलो किनेपछि टमाटर एक रूपैयाँमा पाइन्छ।'
यो बजारमा ३० वटा सटर छन्। सटरको भाडा न्यूनतम ५ हजार रूपैयाँ तोकिएको उनले जानकारी दिए। बजारमा तरकारी मात्र नभई दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य वस्तु, फलफूल, माछा तथा डेरी पनि छ। तरकारी किन्दाकिन्दै वा बजार घुम्दा भोक लागेमा खाजा खान बाहिर जानु पनि पर्दैन। बजारभित्रै रेस्टुरेन्ट छ।
बजारभित्र अधिकांश किसानले नै तरकारी बेच्ने भएकाले सस्तोमा दिइएको श्रेष्ठ बताउँछन्। यहाँ धादिङ, काभ्रे तथा भक्तपुरका किसानले तरकारी बेच्छन्। टमाटर भने सबै पसलमा छ।
नयाँ बानेश्वर, अनामनगर, मैतिदेवी आसपास क्षेत्र लक्षित गरेर बजार खोलिएको उनले जानकारी दिए।
बजार उनी एक्लैले खोलेका भने होइनन्। नवलाई थप पाँच जना साथीले साथ दिएका छन्। उनीहरू सबै व्यापारी हुन्। कोही बाहिरबाट सामान ल्याएर बेच्छन्, कसैको अरू व्यवसाय छ। कृषिमा भने उनीहरूको पहिलो लगानी हो।
'कृषिमा केही गरौं भन्ने हाम्रो पहिलेदेखि योजना थियो। सफल भएको थिएन,' उनी व्यापारिक योजनाबारे सुनाउँछन्, 'कृषिमा सबभन्दा धेरै समस्या बजारको हो। पहिला यसैको व्यवस्थापन गर्नुपर्छ भनेर बजार खोलेका हौं।'
बजारमा ६ जना मिलेर एक करोड २५ लाख रूपैयाँ हाराहारी लगानी गरेका छन्। सबै साथी पहिलेदेखि व्यापारमा लागेकाले लगानी समस्या नभएको उनी बताउँछन्।
'पहिलेदेखि व्यापारै गरिरहेको भएर हामीलाई लगानी समस्या परेन। टिमकै साथीको जग्गा भएकाले अझ सहज भयो,' श्रेष्ठले भने।
बजार खोल्न उनीहरू दुई वर्षअघिदेखि तयारीमा जुटेका थिए। गत वर्ष नै तयार भए पनि कोरोनाका कारण खुल्न पाएन।
'हामीले चैतमा बजार खोल्ने सोचेका थियौं। लकडाउन भइदियो,' उनले भने।
यो बजार गत शनिबारबाट सञ्चालनमा आएको हो।
'धेरैलाई यहाँ बजार खुलेको छ भन्ने थाहै छैन। हामी अहिले प्रचारमै लागेका छौं,’ श्रेष्ठले भने, ‘उपभोक्तालाई आकर्षित गर्न पनि एक रूपैयाँको योजना ल्याएका हौं।'
उनका अनुसार यो साता टमाटर एक रूपैयाँ किलो छ भने अर्को साता अर्कै तरकारी यो भाउमा पाइनेछ। यसरी मिलाएर दिँदा व्यापारीलाई घाटा नहुने श्रेष्ठको दावी छ।
'यसको भार हामीले व्यापारीलाई लगाएका छैनौं। उनीहरू आफ्नो तरकारी-सामान थोरै नाफा राखेर बेच्छन्,’ उनले भने, ‘टमाटर भने हामी आफैंले किनेर सबै पसलमा छाडिदिने हो। यो हामीले ग्राहक आकर्षित गर्न लगानी गरेको हो। घाटा खाएको होइन।’
उपभोक्तालाई उपहार दिन उनीहरू दैनिक दुईदेखि तीन सय किलो टमाटर ल्याउँछन्। यसरी ल्याउँदा आफूलाई प्रतिकिलो ३० रूपैयाँ जति पर्ने उनीहरूको अनुमान छ।
अहिले सस्तोमा स्किमसहित सामान दिएर ग्राहक आकर्षित गर्ने र पछि चर्को मूल्य लिन्छन् कि? धेरै ग्राहकको जिज्ञासा छ।
श्रेष्ठ यसमा ढुक्क हुन आग्रह गर्छन्। भन्छन्, 'स्किम सधैं नहुन सक्छ तर सस्तोमा ताजा तरकारी सधैं पाइन्छ।'
यहाँ राम्रोसँग चले अन्य ठाउँमा पनि बजार खोल्ने र पछि कृषि फार्म सञ्चालन गर्ने उनीहरूको योजना छ।