पहिलो पटक उत्तरी नाका हुँदै युरिया मल नेपाल भित्रिएको छ। सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत तातोपानी भन्सार हुँदै मल ल्याएको जनाएको छ।
कम्पनीले विभिन्न चरणमा गरी कुल चार हजार मेट्रिक टन मल ल्याउनेछ। साल्ट ट्रेडिङ र सिल्क कम्पनीबीच करिब दुई महिनाअघि मल ल्याउने सम्झौता भएको थियो। सरकारले उक्त मल अनुदानमार्फत् विक्री–वितरण गर्ने साल्ट ट्रेडिङले जानकारी दिएको छ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाका अनुसार फागुन २३ गतेदेखि नै मल आउन सुरू गरेको हो। हालसम्म २ सय ८० मेट्रिक टन मल नेपाल भित्रिसकेको छ।
‘दैनिक दसदेखि बीस कन्टेनर मल नेपाल आएको छ। करिब एक महिनासम्म सबै आइसक्छ,’ उनले भने।
उत्तरी नाकाबाट मल भित्रिएसँगै दक्षिण नाकाबाट मल ल्याउनुपर्ने बाध्यता हटेको उनले बताए।
‘हाम्रो लजिष्टक बेस कम्पनी हो। पहिलो पटक मल ल्याएका हौं,’ उनले भने, ‘हामी एउटै नाकाबाट मल ल्याउन पर्ने बाध्यता तोड्न सफल भएका छौं।’
कम्पनीले परीक्षणका रूपमा चार हजार मेट्रिक टन मल ल्याइरहेको हो। आगामी दिनमा वार्षिक एक लाख मेट्रिक टनसम्म ल्याउने योजना भएको उनले बताए।
‘मल व्यापारमा हामी नयाँ छौं। विक्रेता कम्पनीसँग प्रत्यक्ष डिल गर्न पाएनौं। भर्चुअल कुराकानी गरेर पनि मल भित्रियो। अब ठूलो परिमाणमा ल्याउन हिम्मत बढेको छ,’ शेर्पाले भने।
कम्पनीले प्रति मेट्रिकटन ३८९.९० डलर अर्थात् करिब २० करोड रूपैयाँमा मल ल्याइएको उनले बताए। यसबाट आफूलाई थारै मात्र फाइदा भएको शेर्पाको भनाइ छ।
‘ग्लोबल टेन्डर र जिटुजीमार्फत मल ल्याउने गरेका छौं। चीनबाटै ल्याउन पनि भारतीय पोर्ट प्रयोग गर्नुपर्थ्यो। अब सजिलो भएको छ,’ उनले भने।
यसपटक चीनसँग जोडिएका तातोपानी, रसुवा नाकाबाट पनि प्रयास गरौं भनेर उत्तरी नाकाबाटै मल ल्याइएको कृषि विभागका महानिर्देशक डा. गोविन्द प्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार मल ल्याइएको ठाउँबाट बढीमा दस दिनभित्र काठमाडौं पुर्याउन सकिने छ।
‘उत्तरबाट सिगात्सेसम्म ल्याउन तीन दिन, सिगात्सेबाट तातोपानी नाकासम्म आउन दुई दिन लाग्ने रहेछ,’ उनले भने, ‘भन्सार क्लियरेन्स हुन केही दिन लाग्यो भने पनि पाँच दिनसम्ममा हामीले काठमाडौं पुर्याउन सक्दा रहेछौं।’
मल काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछापलगायत पहाडी जिल्लाका किसानलाई बिक्री–वितरण गरिनेछ। पछिल्लो समय विभिन्न कारणवश तातोपानी नाका बन्द हुँदै आएको थियो। अहिले नाका खुले पनि कोरोनाले आयात–निर्यात सहज हुन सकेको छैन। निकासी खोल्न चिनियाँ पक्षसँग छलफल गरिरहेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।