काठमाडौंकी सविना कोइराला कुखुराको मासु प्रतिकिलो चार सय ६० रूपैयाँसम्म तिरेर किनिरहेकी छिन्। पहिले किलोको दुई सयदेखि तीन सयसम्म तिरिरहेको मासु अहिले यति महँगो हुँदा उनलाई अचम्म लागेको छ।
'पहिले कुखुराको मासु महँगो भएछ भन्दा पनि तीन सय पचास रूपैयाँ हाराहारीमै आउँथ्यो,' उनी सुनाउँछिन्, 'अहिले कति धेरै महँगो भएको हो।'
उनी मात्र होइनन् दैनिक कुखुराको मासु उपभोग गर्ने उपभोक्तालाई महँगो तिर्नुपर्ने बाध्यता छ।
काठमाडौं उपत्यका मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसीका अनुसार संघले सोमबार (आज) कुखुराको मासु प्रतिकिलो चार सय तीस रूपैयाँ तोकेको छ। तर व्यापारीले भने केही महिनाअघिदेखि नै प्रतिकिलो चार सय ६० रूपैयाँसम्म लिएका छन्।
यसअघि संघले प्रतिकिलो चार सय बीस रूपैयाँसम्म तोकेको थियो।
'हामीले ढुवानी खर्च, नाफा सबै राखेर मूल्य तोकेका हुन्छौं, तर व्यापारीले महँगो लिइरहेका छन्,' विसीले भने।
मासु अभावका कारण आफूले नै बढी मूल्य तिर्नु परेको र सोहीअनुसार उपभोक्तालाई मूल्य लिँदा महँगो परेको मासु व्यापारीहरू बताउँछन्।
'अहिले कुखुराको एकदमै अभाव छ। बढी मूल्य तिरेन भने मासु नै पाइँदैन,' सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की भन्छन्, 'आफूले बढी तिर्नु परेपछि सोही अनुसार मूल्य लिनै पर्यो।'
धेरै तिरेर मासु नल्याउने हो भने पसल बन्द गरेर बस्नुपर्ने उनको भनाइ छ।
विके फ्रेस मिट, लाजिम्पाटका सञ्चालक बिजाई खड्की पनि यसै भन्छन्। उनले एक महिनादेखि प्रतिकिलो चार सय पचास रूपैयाँमा कुखुरा मासु बेच्दै आएका छन्।
'हामीले किनेर ल्याएको मूल्यमा किलोमा २०-३० रूपैयाँ नाफा राखेर बेचेका छौं,' उनले भने, 'यति पनि राखेन भने पसल चलाएर कामै छैन।'
कुखुराको मूल्यमा उच्च वृद्धि भएको गुनासो बढेपछि आइतबार चार ठूला मासु होलसेलमा अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।
विभागले भ्याली कोल्ड स्टोर, बुढाथोकी कोल्ड स्टोर, न्यु महालक्ष्मी सप्लायर्स र काठमाडौं चिकेन हाउसमा अनुगमन गरेको हो।
'हामीले केको आधारमा मासुको मूल्य यति भएको आधार मागेका छौं,' सेढाईंले भने, 'त्यसपछि मूल्य स्वभाविक रूपमा बढेको हो की बढाइएको थाहा हुन्छ।'
बजारमा कुखुरा अभावका कारण मूल्य बढेको व्यवसायीहरू बताउँछन्। देशमा बर्डफ्लु देखिएको र कुखुरा नष्ट गरिएकाले अभाव भएको उनीहरूको दावी छ।
एकातिर कुखुरा अभाव, अर्कातिर मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक रावलले जानकारी दिए। कोरोना महामारी पछि मासुको मूल्य बढ्दै गएको उनको भनाइ छ।
'कोरोना बेला किसानले कुखुराबाट धेरै घाटा खाए। व्यवसायबाट फाइदा नभएपछि किसानको पुँजी घट्यो। चल्ला हाल्न सकेनन्,' उनले भने, 'पछिल्लो समय अवस्था सामान्य भइसकेको थियो। बर्डफ्लुको त्रासले किसानहरूले चल्ला हाल्न डराए।'
उनले अगाडि थपे, 'पछिल्लो समय चल्लाको बिक्री बढेकाले मासुको मूल्य घट्न सक्छ। कुनै महामारी आएन अब मासुको मूल्य यहाँभन्दा बढ्दैन होला।'
पशुसेवा विभागको तथ्यांकअनुसार हालसम्म काठमाडौंको तारकेश्वर, ललितपुर, जाजरकोट र सुर्खेतमा बर्डफ्लु देखिएको छ। ती जिल्लाबाट देशैभरि बर्डफ्लुका कारण १७ हजार ३५ वटा कुखुरा नष्ट भएको छ। त्यसमा पनि धेरै संख्यामा स्थानीयले पालेका कुखरा नष्ट भएका छन्। बोइलर कुखुरा संख्या कम देखिन्छ।