महामारी फैलिएसँगै दूग्ध व्यवसाय धरासयी बन्दै गएको छ। जारी निषेधाज्ञामा किसानले उत्पादनको २५ प्रतिशत पनि दूध बिक्री गर्न नसकेको बताएका छन्। करिब तीन महिनादेखि उनीहरूले बिक्री गरिएको दूधको समेत पैसा पाउन सकेका छैनन्। डेरी उद्योग संघ र दूग्ध विकास संस्थान दुवैसँग गरी झन्डै ६ अर्ब बराबरको दूधजन्य पदार्थ मौज्दात भएको छ।
होटल, पार्टी प्यालेस, रेस्टुरेन्ट तथा चिया पसल बन्द हुँदा दूध बिक्री हुन सकेको छैन। उद्योगीको पनि अवस्था उस्तै छ। दूध खपत नहुँदा किसानलाई पैसा दिन नसकेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए।
'अहिलेको मुख्य चुनौती बिक्रीको हो, बिक्री गर्न नपाएपछि हामीलाई मात्रै खोल्न दिएर के हुन्छ र?,' उनले भने।
जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र पसल खोल्न दिइएको छ। गर्मीमा दूध जम्ने भएकाले ग्राहकले आवश्यकता अनुसार पटक–पटक किन्न नपाउँदा दूधको बिक्री घटेको उनी बताउँछन्।
पहिलो लहरको लकडाउनमा बनाएको सामान नै बेच्न नपाउँदा मौज्दात थुप्रिँदै गएको उनले बताए।
'गत वर्ष चार महिना बनाएको सामानै बेच्न पाएनौं। अहिले पनि बन्द भइहाल्यो,' दाहालले भने।
उनका अनुसार संघसँग २५ सय मेट्रिक टन पाउडर दूध उद्योगमा मौज्दात छ। यो दूधले एक वर्षसम्म पुग्ने उनी बताउँछन्। त्यस्तै बटर १५ सय टन मौज्दात छ। मौज्दात सामानको उपभोग मिति सकिन लागेको उनले बताए।
'हाम्रो उत्पादन लागत हिसाब गर्ने हो भने तीन अर्ब ७५ करोडको पाउडर दूध र एक अर्ब २० करोडको बटर मौज्दात छ,' उनले भने।
दूग्ध विकास संस्थान (डिडिसी), चितवन मिल्क र सुजल डेरीले दूध कन्भर्सन (पाउडर बनाउने) गर्दै आएको छ। सामान राख्ने ठाउँ नभएका कारण अहिले चितवन मिल्क बन्द छ। हाल उद्योगमा पाँच सय टन धूलो दूध र एक सय टन बटर मौज्दात रहेको चिवतन मिल्कका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठले जानकारी दिए।
दूध कन्भर्सन गरिदिए बापत उद्योगीले पैसा दिन्छन्। दूध बिक्री नभएका कारण आफूहरूले समेत पैसा पाउन नसकेको श्रेष्ठले बताए।
'दूध धेरै समय राख्दा बिग्रिने भएकाले उधारोमै भए पनि पठाइरहेका छौं,' उनले भने।
भदौ–असोजसम्म मौज्दात रहेका दूध बिक्री नभए अर्को वर्ष किसानको दूध खरिद गर्न नसकिने उनी बताउँछन्। उनका अनुसार फागुन–चैतपछि धूलो दूधको माग बढ्ने हो तर महामारीले गर्दा बिक्री हुन सकेको छैन।
९५ करोड रूपैयाँ बराबरको पाउडर दूध र बटर मौज्दात रहेको डिडिसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले बताए। उनका अनुसार पाउडर दूध नौ सय मेट्रिक टन र बटर तीन सय ९० मेट्रिक टन मौज्दात छ। डिडिसीले दूध संकलन समेत आधाभन्दा बढीले घटाएको छ।
सामान्य अवस्थामा दैनिक एक लाख ८० लिटर दूध संकलन हुने गरेकामा अहिले ७५ देखि ८० हजार लिटर मात्रै संकलन गरेको झाले बताए। त्यसमध्ये डिडिसीले दैनिक बीस हजार लिटर दूध कन्भर्सन गर्छ।
'अहिले बजार सबै बन्द छ। हामीले चाहेर पनि सबै किसानको दूध संकलन गर्न सकेका छैनौं,' उनले भने।
दूध खपत नहुँदा तीन महिनादेखि किसानलाई पैसा दिन नसकिएको उनले बताए। हाल डिडिसीले ९० हजार लिटर दूध बिक्री गर्दै आएको छ।
'अहिले संकलन नगरेर मौज्दात रहेको दूध समेत घटाउँदै आएका छौं,' उनले भने, 'पहिले बनाएका दूध अहिले बेच्दै आएकाले उपभोग मिति सकिने डर छैन।'
दूध बोक्ने गाडीलाई बाटोमा ट्राफिकले समातेर राखिदिने गरेको डेरी संघका अध्यक्ष दाहालले बताए।
'दूध लिएर आउने ट्यांकरलाई समस्या छैन,' उनले भने, 'प्रशोधित दूध बजारमा पुर्याएर फर्कने गाडीलाई समातेर राखिदिन्छन्। ९ बजे नै सबैतिर दूध पुर्याएर त फर्किन भ्याइँदैन नि।'
दूध बोक्ने गाडीलाई ११ बजेसम्म निर्वाध चल्न दिन कृषि तथा पशुपंक्षी मन्त्रालयलाई अनुरोध गरिएको उनले जानकारी दिए। दूध कन्भर्सन गर्दा लागत बढी पर्ने भएकाले त्यसमा अनुदान दिनुपर्ने पनि डेरी उद्योग संघका अध्यक्ष दाहालको भनाइ छ।
साथै उद्योगीलाई सहुलियत कर्जा समेत व्यवस्था गरिदिनु पर्ने उनको माग छ।
'हामीलाई दसदेखि १५ करोड रूपैयाँ पाँच प्रतिशत ब्याजमा दिए सहज हुन्थ्यो,' उनले भने।
सहुलियत कर्जा व्यवस्था गरिदिए मात्रै किसानलाई दूधको पैसा दिन सकिने उनी बताउँछन्।