असारे धान खेतीका लागि वर्षैपिच्छे रासायनिक मलको समस्या भोग्दै आएका किसानलाई यसपालि भने समस्या नहुने आशा देखाइएको छ। पर्याप्त मात्रामा मौज्दात र आयातमा कुनै समस्या नभएको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई मल अभाव नहुने आशा देखाएको हो।
हालसम्म सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मल आयात गर्दै आएका छन्। यी दुई कम्पनीसँग गरी ८४ हजार ३ सय ७ मेट्रिक टन मल मौज्दात रहेको कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले बताए।
साल्ट ट्रेडिङसँग डिएपी १३ हजार, पोटास ४ हजार र युरिया १३ हजार मेट्रिक टन छ। कृषि सामग्री कम्पनीसँग युरिया १७ हजार ९ सय ८३, डिएपी ३२ हजार ७ सय ३५ र पोटास ३ हजार ५ सय ८९ मेट्रिक टन छ।
कार्कीका अनुसार साल्ट ट्रेडिङले ७५ हजार मेट्रिक टन मल आयातका लागि एलसी (परिपत्र) खोलिसकेको छ। त्यस्तै, कृषि सामग्री कम्पनीको ५० हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ।
‘दुई कम्पनीको गरेर एक लाख २५ हजार मेट्रिक टन मल आउने क्रममा छ। एक/डेढ महिनाभित्र आइपुग्छ,’ उनले भने, ‘धानखेतीका लागि यसपालि मल अभाव हुँदैन।’
कृषि सचिव कार्कीले भनेजस्तै के धान रोप्न किसानलाई पर्याप्त मल छ त?
खेतिपातीका लागि सरकारी तथ्यांकले वार्षिक ७ लाख मेट्रिक टन मल आवश्यक रहेको देखाउँछ। तर आवश्यकता अनुसार मल आयात हुँदैन। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा मल किन्न ११ अर्ब रूपैयाँ बजेट बिनियोजन गरेको थियो। उक्त पैसाले ५ लाख १४ हजार मेट्रिक टन मल किन्न सकिने अनुमान छ
त्यसमध्ये ८० प्रतिशत बढी मल धान उत्पादनमा खपत हुन्छ। बर्खे धान उत्पादनका लागि ४ लाख १२ हजार ५ सय मेट्रिक टन मल आवश्यक रहेको धान विज्ञ भोलामान सिंह बस्नेत बताउँछन्।
‘विगतका वर्षमा लगाएको धान खेतीको क्षेत्रफल हेर्ने हो भने सो बराबर मल आवश्यक हुन्छ,’ उनले भने।
उनका अनुसार बर्सेनि १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। कृषि मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्ष १४ लाख ५८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान उत्पान भएको थियो।
बस्नेतका अनुसार उन्नत जातको धान उत्पादनका लागि एक हेक्टर जमिनमा सय किलो नाइट्रोजन, ६० किलो फस्फोरस र ४०किलो पोटास सिफारिस गरिएको छ। जसमध्ये, फस्फोरसमा १६ प्रतिशत नाइट्रोजन र पाइन्छ। गत वर्ष धान लगाइएको क्षेत्रफललाई आधार मान्ने हो भने वैशाखदेखि असारसम्म धान खेतीका लागि डिएपी १ लाख ९५ हजार, युरिया १ लाख १७ हजार र पोटास १ लाख ५ सय मेट्रिक टन आवश्यक हुन्छ।
त्यसमध्ये धान लगाउनु पूर्व माटो हिल्याउने बेलैमा डिएपी र पोटास शतप्रतिशत र युरिया आधा हाल्नुपर्ने उनी बताउँछन्।
त्यसो त धान रोप्ने बेलैमा डिएपी र पोटास गरेर झन्डै ३ लाख र ६० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ। बाँकी ६० हजार (आधा) युरिया मल धान लगाएको ३० देखि ३५ दिनमा टप ड्रेसिङका लागि आवश्यक पर्छ।
यो तथ्यांक हेर्ने हो भने कृषि तथा पशुपंक्षी मन्त्रालयसँग यस वर्ष पनि पर्याप्त मल रहेको देखिँदैन। उच्च पहाडमा वैशाख, मध्य पहाडमा जेठ र तराईमा असारसम्म धान लगाइन्छ। तराईको भूभागमा व्यवसायिक खेती हुन्छ भने पहाडी भेगमा निर्वाहमुखी खेती हुँदै आएको छ।
यस वर्ष मनसुन छिट्टै सुरू भएकाले धानको क्षेत्रफल अझै बढ्ने विज्ञहरूको अनुमान छ। सरकारले जिटुजी मार्फत भारतबाट पनि मल ल्याउने कोसिस गरिरहेको छ। उक्त मल आयातको प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि सचिव कार्कीले बताए।
‘प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब १५ दिनभित्र सम्झौता हुन्छ होला,’ सचिव कार्कीले भने।
एकातिर पर्याप्त मल छैन, अर्कोतिर भएको मल पनि निषेधाज्ञाका कारण किसानले पाउन सकेका छैनन्। मल कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को अत्यावश्यक सूचीमा नपरेकाले ठाउँ-ठाउँमा मल ढुवानी गर्ने गाडीलाई समातेको छ।
गत वर्षको तुलनामा यस वर्ष मल मौज्दात रहे पनि अझै किसानलाई मल अभाव भइरहेको राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए।
‘पहिले नआएको मल यस वर्ष आएकाले मल मौज्दात छ। यसमा कुनै दुबिधा छैन। मन्त्रालयले मल अभाव हुन नदिन धेरै प्रयास पनि गरेको छ,’ उनले भने, ‘तर वितरण प्रणालीका कारण अझै किसानले सहजै मल पाउन सकेका छैनन्।’
सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे लगायत किसानबाट मल नपाएको गुनासो महासंघमा आएको उनले बताए।
कोभिडका कारण मल वितरणमा केही समस्या आए पनि यसलाई सहजीकरण गर्न पहल भइरहेको कृषि सचिव कार्कीले बताए।