हामीमध्ये धेरैले आइसक्रिम, जुस, चकलेट, ब्राउनी जस्ता विभिन्न खानेकुरा स्ट्रबेरी स्वादमा रूचाउँछौं। यो स्वादको माग हामीकहाँ मात्र होइन, विश्वभरि नै धेरै छ। अझ फलफूलकै रूपमा सिधै खाइने स्ट्रबेरीको त कुरै नगरौं!
यति धेरै माग भएको स्ट्रबेरी नेपालमा फलाउन यहाँको माटो उपयुक्त रहेको विज्ञहरू बताउँछन्। हामीले स्ट्रबेरी धेरै परिमाणमा उत्पादन गर्न सक्यौं भने अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने राम्रो सम्भावना भएको उनीहरूको भनाइ छ।
तर नेपालमा स्ट्रबेरीबारे धेरै अध्ययन भएको छैन। सुरूआतमा जैती नेपाल भन्ने एउटा परियोजनाले जापानको आर्थिक सहयोगमा स्ट्रबेरीका छवटा बिरूवा ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि विस्तारै यो व्यवसायिक बन्दै गयो। तर नयाँ जात विकास हुन सकेको छैन।
सरकारले अनुसन्धानमा चासो नदेखाउनु र दक्ष जनशक्ति विदेश पलायन हुनु यसको प्रमुख कारण भएको विज्ञहरू बताउँछन्।
कृषि विज्ञ डा. राजेन्द्र गौतम भने विगत तीन वर्षदेखि यसकै खोजिनितीमा लागेका छन्। अमेरिकाको विश्वविद्यालयबाट कृषिमा विद्यावारिधि (पिएचडी) गरेका राजेन्द्र नेपालमा स्ट्रबेरीको राम्रो सम्भावना देख्छन्। उनले भक्तपुर, ललितपुर, विराटनगर र चितवनमा स्ट्रबेरी खेतीसँगै अनुसन्धान पनि गरिरहेका छन्।
'उत्पादन गरेर व्यापारमा मात्रै होइन, हामीले अनुसन्धानमा पनि जोड दिनुपर्छ,' उनी भन्छन्।
राजेन्द्रले विशेषगरी उत्पादनको परिमाण कसरी बढाउन सकिन्छ अध्ययन गरिरहेका छन्। स्ट्रबेरी अनुसन्धानमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल्स साइन्स (आइएएस) र एग्रिकल्चर एन्ड फरेस्ट्री युनिभर्सिटी (एफओ) रामपुर, चितवनले सघाएको छ।
'सात वटा ड्याङमा फरक-फरक जातका स्ट्रबेरी लगाइएको छ। त्यसपछि फेरि त्यही क्रम दोहोरिँदै जान्छ,' उनले खेतीको तरिकाबारे जानकारी दिए।
यसरी अनुसन्धान गर्दा कुन ठाउँमा कुन जात उपयुक्त र कस्तो हावापानीमा कुन जातको स्वाद मिठो आउँछ भन्ने पत्ता लगाउन सकिन्छ। त्यस्तै स्ट्रबेरीमा कस्ता रोग-कीरा लाग्छन् र यसका समाधानबारे अनुसन्धान केन्द्रित छ। बेसार, अदुवा तथा विभिन्न प्रकारका झारको रस प्रयोग गरेर रोग-कीरा नियन्त्रण गर्न सकिने उनीहरूले निष्कर्ष निकालेका छन्।
'कुनै ठूलो रोग देखियो भने त्यसलाई कसरी वातावरण मैत्री तरिकाले नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ,' उनले भने।
कृषि अनुसन्धानमा लाग्ने मोह राजेन्द्रलाई अमेरिका बस्दादेखि नै पलाएको हो। पढाइ र कामको सिलसिलामा उनी सात वर्ष अमेरिका बसे। त्यहाँ उनी विश्वविद्यालयमा कृषि अनुसन्धानको काम गर्थे।
उनी फर्किनुको एउटै उद्देश्य थियो, अनुसन्धानमा लाग्ने र त्यसको फाइदा किसानलाई दिने।
नेपाल हुँदा सरकारी, गैरसरकारी तथा विश्वविद्यालय क्षेत्रमा काम गरिसकेका राजेन्द्रले फर्केर कहाँ बसेर कसरी काम गर्ने भन्ने निधो गरिसकेका थिए। कसैको हस्तक्षेप बिना काम गर्न निजी कम्पनी नै चाहिन्छ भन्ने सोचे।
सोचअनुसार चार वर्षअघि उनी सपरिवार नेपाल आए। तुरून्तै, उच्च मूल्य पर्ने बालीको अध्ययन-अनुसन्धान गर्ने उद्देश्यले 'समृद्धि कृषि अनुसन्धान तथा विकास प्रालि' नामक कम्पनी दर्ता गरे।
'हामीकहाँ अनुसन्धान छैन। अमेरिकाका प्रविधि यहाँ प्रयोग गरेर रोजगारी सिर्जना गर्न कम्पनी खोलेका हौं,' उनले कम्पनीको उद्देश्य बताए। उच्च मूल्य पर्ने बाली अनुसन्धान गरी बिरूवा निकालेर अन्य किसानलाई बिक्री–वितरण गर्नु कम्पनीको मुख्य उद्देश्य हो।
अनुसन्धान खर्चिलो भएकाले उनले थप नौ जना लगानीकर्ता खोजेका छन्। समूहका दस जनामध्ये तीन जना कृषिकै विद्यार्थी भएकाले उनीहरूमा अनुसन्धान गर्न सक्छौं भन्ने आँट थियो। राजेन्द्र भने कम्पनीका निर्देशक हुन्।
उनीहरूले सुरूमा स्ट्रबेरीमा काम गरे। राजेन्द्रले अमेरिकाबाट आउँदै केही जातका स्ट्रबेरी बिरूवा ल्याएका थिए। गोदावरी र हात्तीवनमा करिब तीन रोपनी जग्गा भाडा लिएर लगाए। नेपालमा खासगरी जापानी जातको स्ट्रबेरी उत्पादन हुन्छ। जापानीको तुलनामा अमेरिकी जात राम्रो छ कि छैन भनेर उनीहरूले अनुसन्धान थाले।
'अमेरिकी स्ट्रेबरीको दाना ठूलो र स्वादिलो हुने रहेछ। यहाँको हावापानीमा मजाले उत्पादन पनि हुने,' उनले अनुसन्धानको नतिजा सुनाए।
गर्मी ठाउँमा स्ट्रबेरी उत्पादन हुँदैन भन्ने सुनेका राजेन्द्रले परीक्षणका लागि चितवनमा केही जग्गा भाडा लिएर खेती गरे। अहिले त्यहाँ स्ट्रबेरी मजाले फलेको देख्दा वरिपरिका किसान समेत उत्साहित भएको उनी बताउँछन्।
'त्यहाँका मान्छेलाई स्ट्रबेरीबारे थाहै थिएन। स्ट्रबेरी फल्दा निकै भिडभाड नै लाग्यो,' उनले अनुभव सुनाए, 'चितवनको हाम्रो फार्म एकैदिन दुई हजार पाँच सयले अवलोकन गरे।
यो सानो अनुभवले नै उनलाई लागेको छ- ठूलो परिमाणमा स्ट्रबेरी खेती गर्ने हो पर्यटक पनि भित्र्याउन सकिन्छ।
उनीहरूले उत्पादन भएका स्ट्रबेरी शैपालबेरिज भन्ने ब्रान्डबाट बिक्री वितरण गर्दै आएका छन्। भाटभटेनी, सेल्सबेरी लगायत सुपरमार्केट र स्टोरहरूमा शैपालबेरिज स्ट्रबेरी किन्न पाइन्छ। कम्पनीले घरमै डेलिभरी गर्ने सुविधा पनि ल्याएको छ। अनलाइन व्यापार फस्टाएकाले चाँडै वेबसाइट पनि बनाउँदैछन्। अहिले भने फेसबुकबाट अर्डर लिइरहेको उनले जानकारी दिए।
उत्पादन बढी भएका बेला स्ट्रबेरीबाट उनीहरू वाइन बनाउँछन्। पछिल्लो निषेधाज्ञाका कारण बजारमा बेच्न नपाएको स्ट्रबेरी उनीहरूले वाइन बनाउन प्रयोग गरे।
राजेन्द्रका अनुसार गुणस्तर हेरेर स्ट्रबेरी एक बिरूवाको मूल्य चालीसदेखि एक सय रूपैयाँसम्म पर्छ। ड्याङ बनाउन जनशक्ति, बिरूवालाई चाहिने पोषण र खाद्य पदार्थ, जग्गा भाडा सबै खर्च जोड्दा एक रोपनीमा अनुसन्धान गर्न छदेखि सात लाख खर्च हुने उनले जानकारी दिए।
स्ट्रबेरीबाट भएको आम्दानीले उनीहरूलाई फार्म सञ्चालन गर्न सघाएको छ। उनी भन्छन्, 'हामीलाई धेरै नाफा चाहिएको छैन, फार्मको खर्च उठाउन पाए पुग्छ।'
अहिले उनीहरूले अमेरिका, स्पेन र भारतबाट स्ट्रबेरी बिरूवा आयात गरिरहेका छन्। त्यसमध्ये भारतबाट ल्याएकामा विभिन्न रोग-कीरा पनि भित्रिएकाले बिरूवा सबै मरे। यहाँ बिरूवा आयात अनुमति लिन निकै गाह्रो भएको पनि राजेन्द्रको भनाइ छ।
'कहिले यहीँ स्ट्रबेरी उत्पादन भएको छ, किन ल्याउनुपर्यो भन्छन्। कहिले किन धेरै ल्याउनुपर्यो, थोरै दुई-तीनटा ल्याए भइहाल्यो नि भन्छन्,' उनले सुनाए, 'अनुमति लिन निकै गाह्रो पर्यो।'
उत्पादनका लागि चाहिने महत्वपूर्ण वस्तु बिउ वा बिरूवा भएकाले त्यसको आयात सहज हुनुपर्ने उनको भनाइ छ।
'राम्रो कुरा बाहिरबाट आयात गरेर घाटा लाग्दैन। कि हामी आफैंले राम्रो जात उत्पादन गर्न सक्नुपर्यो कि आयात गर्नपर्यो,' उनी भन्छन्, 'हामीकहाँ स्ट्रबेरीको राम्रो जात भएको भए बाहिरबाट ल्याउनै पर्थेन।'
बाहिरबाट नयाँ जात ल्याएर परीक्षण गर्ने वातावरण दिइयो भने निजी क्षेत्रले अनुसन्धान गर्न सक्ने उनी बताउँछन्। उनका अनुसार स्ट्रबेरी बिरूवाको एउटा जात उत्पादन गर्न सातदेखि बीस वर्षसम्म लाग्छ। अनुसन्धानको खर्च धेरै हुन्छ। बिरूवाको बिक्रीबाट प्राप्त रोयल्टी सम्बन्धित प्राध्यापकलाई जाने भएकाले अनुमति बिना आफू खुसी बिरूवा उत्पादन गरेर बेच्ने देशमा विदेशीहरूले बिरूवा पठाउँदैनन्।
'मैले यति बिरूवा ल्याउन पनि धेरै पहल गरेँ। चिनजानका प्राध्यापक भएकाले मात्र ल्याउन सकेको हुँ,' राजेन्द्रले भने, 'हामीले जुन जातको बिरूवा ल्याएका छौं, त्यसबाट अन्य बेर्ना निकाल्न सक्छौं। त्यसका लागि लाइसेन्स ल्याएका छौं।'
बेर्ना निकाल्न कुनै कम्पनी वा एजेन्सीले लाइसेन्स लिएको यो पहिलो भएको उनी दावी गर्छन्। भन्छन्, 'म त लाइसेन्स लिएर जाँदैछु भनेर खुसी लागेको थियो।'
अहिले उनीहरूले विराटनगरमा चार रोपनी, चितवनमा छ र काठमाडौं, ललितपुर र भक्तपुरमा गरी दस रोपनीमा स्ट्रबेरी लगाएका छन्। प्रत्येक फार्ममा छ जना कर्मचारी छन्।
आगामी दिनमा बिरूवा उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना बनाएका छन् उनले। काभ्रेमा ठूलो फार्म पनि सुरू गर्दै छन्। त्यसमा ब्लुबेरी, रास्पबेरी र ब्ल्याकबेरीको अनुसन्धान गरिने उनले बताए, 'अब हामी चाँडै ती बाली लगाएर अनुसन्धान थाल्छौं। बिरूवा आयात प्रक्रिया अघि बढिसक्यो।'
अहिले विभिन्न देशबाट स्ट्रबेरीसँगै यसबाट बनेका उत्पादन आयात भइरहेकाले यसको उद्योग पनि विस्तार गर्ने उनीहरूको योजना छ। उनीहरूले स्ट्रबेरी फलाएको देख्दा अन्य किसानले पनि बिरूवा माग्न थालेका छन्। दर्ता गरेपछि किसानलाई बिक्री-वितरण गरिने उनले जानकारी दिए।
'हामी आफैं सिक्दैछौं। अनि दर्ता नगरी यो बिक्री गर्न पाइँदैन,' उनले भने, 'नार्क (नेपाल कृषि अनुसन्धान परिषद) सँगको सहकार्यमा काम गरिरहेका छौं। यीमध्ये राम्रा जात दर्ता गर्छौं र किसानलाई बेच्छौं।'