घर छिरेपछि भर्याङका दुई छेउमा ढकमक्क फूलको बासनाले स्वागत गर्छ। बरन्डादेखि कहीँ खाली ठाउँ छैन, बोटबिरूवाको रजाइँ। झ्यालको डिल र ग्रिलमा समेत स-साना गमलामा फूल-बिरूवा हुर्केका छन्।
साढे तीन तला उक्लेर छतसम्म पुग्दा कुनै ठूलो नर्सरीभन्दा कम देखिँदैन राधा ढकालको घर।
ललितपुर महानगरपालिका वडा–१३ थसिखेल, सवितानगर चोकमै छ राधाको घर। बाहिर एउटा साइन बोर्डमा लेखिएको छ- कृषि सपिङ सेन्टर।
यहाँ घरभरि देखिएझैं विभिन्न जातका फूल मात्र होइन, फलफूल र मौसमी तरकारी र तिनका बिरूवा पनि पाइन्छ। कौसीखेतीका लागि चाहिने कोकोपिट, गमला, पोलिब्याग र अर्ग्यानिक किटनाशक औषधि पनि बिक्री हुन्छ। राधा इच्छुकलाई कौसीखेतीको तालिम समेत दिन्छिन्।
यो राधाको पुरानो पेसा होइन। उनी सरकारी जागिरे हुन्, गोदावरी नगरपालिकामा अधिकृत छिन्।
उनलाई यो व्यवसाय निषेधाज्ञाले जुराइदिएको हो। निषेधाज्ञामा घरको सटर खाली भयो। त्यसपछि भाडा दिने सोचिनन्, रहरले रोपेका बिरूवालाई व्यवसायमा परिणत गरिन्।
'घरमा बिरूवा देखेर धेरैले माग्न आउँथे। आफूसँग भएको त दिएँ,' उनी सुनाउँछिन्, 'नभएका बिरूवा पनि माग्न थालेपछि व्यवसाय नै गर्ने सोच आयो।'
उनीसँग धेरैखाले बिरूवा छन्। नभएका नर्सरीबाट ल्याएर भए पनि उपलब्ध गराउँछिन्। व्यवसाय सुरू गरेको दुई महिना मात्र भए पनि उनले मासिक डेढ लाख रूपैयाँको कारोबार गरिन्। त्यसको पचास प्रतिशत नाफा बस्ने उनी बताउँछिन्।
ग्रामीण विकास (आरडी) मा स्नातकोत्तर गरेकी राधालाई बोटबिरूवामा सानैदेखि चाख थियो। उनको घर हेटौंडा हो। कक्षा १२ पढ्दापढ्दै उनले नजिकैको सरकारी स्कुलमा करार जागिर पाइन्। केही समयपछि घरनजिकै बिहे पनि भयो।
माइती हुँदा राधा खेतीपातीमा त्यति ध्यान दिन्थिनन्। खाना बनाउन, घाँस काट्न, गोबर फ्याँक्नमै दिन बित्थ्यो। तर आफ्नै बारीमा रोपेको ताजा तरकारीको स्वाद बिर्सिन सकिनन्। त्यही स्वाद सम्झेर उनलाई आफैं तरकारी फलाउन मन लाग्यो।
केही बिरूवा माइतीबाट ल्याइन्, केही नर्सरीबाट।
'जानेको केही थिइनँ। एक कठ्ठा जग्गामा फलफूल, तरकारी सबै लगाएँ,' उनले सुनाइन्, 'छरछिमेकले जागिर खाएर पनि कसरी खेतीपाती गर्न भ्याएको होला भन्थे।'
उनी बिहान-बेलुका बारीमा खट्थिन्, दिउँसो पढाउन स्कुल पुग्थिन्। आफूले खाएर बढी भएको तरकारी वरपर छरछिमेकलाई बाँड्थिन्। दूध खान पाइने, प्रांगारिक मल पनि हुने भनेर उनले एउटा गाई पनि पालेकी थिइन्।
छरछिमेकको तारिफ र श्रीमानको साथले उनलाई काम गर्न अझै हौस्याउँथ्यो। जागिरपछि कृषिमै लाग्ने हो भन्ने सोचेर त्यतिखेरै उनले कम्पनी पनि दर्ता गरेकी थिइन्।
२०५६ सालमा राधाले निजामती सेवामा नाम निकालिन्। जिल्ला विकास समिति कार्यालय, पञ्जिकरण शाखामा दस वर्ष काम गरिन्। जागिरको सिलसिलामा परिवारसहित २०६५ सालमा काठमाडौं आइन्। यहाँ थसिखेलमै कोठा भाडा लिएर बसिन्।
घरमा आफैं फलाएको ताजा तरकारी खाएकी राधाले त्यहाँ पनि तरकारी नलगाइ बस्न सकिन्। बजारबाट गमला ल्याएर केही बिरूवा रोपिन्।
'धेरै त हुन्थेन, लहरे तरकारी, धनियाँ, लसुन, प्याज चाहिँ किन्न पर्दैन थियो,' उनले भनिन्, 'फूल चाहिँ टन्नै रोपेकी थिएँ।'
अरूको घरमा ठाउँ अभाव थियो। उनले चाहेजति गमला राख्न सकिनन्। २०७० मा उनीहरूले घर किने। उनलाई बल्ल आफ्नो सपना पूरा हुन्छ झैं लाग्यो।
उनले भाडामा बस्दा आफूले रोपेका सबै गमला आफ्नो घर ल्याइन्। आफ्नै घरमा जति राखे पनि भयो! गमला थपेर छतमा तरकारी फलाइन्। भर्याङ, झ्याल, बरन्डामा फूलहरू रोपिन्।
पछिल्ला आठ वर्षयता राधालाई बजारबाट तरकारी किन्न परेको छैन।
'घर सरेदेखि नै तरकारी किनेको छैन। नयाँ तरकारी भए मात्र किन्छु। पछि त्यसको पनि आफैं बिरूवा राख्छु। मासिक दस हजार त बचत हुन्छ,' उनले भनिन्।
बोटबिरूवा स्याहारका लागि कोही मान्छे राखेकी छैनन् उनले। घरमा सरकारी जागिरे श्रीमान र पढ्दै गरेका तीन छोरा छन्। परिवारका सदस्य जसले भ्यायो, उनैले बारी-बगैंचा रेखदेख गर्छन्। व्यवसाय नै थालेपछि भने सहयोगी राख्ने सोचमा छिन्।
राधा आफू मात्रै कौसीखेतीमा लागेकी छैनन्, वरपरका छिमेकलाई पनि सुझाएकी छन्। अहिले उनको घर वरपरका ५३ जना समूह बनाएर कौसीखेतीमा लागेको उनले जानकारी दिइन्।
'हाम्रो पुस्ताले मात्रै गर्ने हो भने कृषि समाप्त हुन्छ। पुस्ता हस्तान्तरण गर्न पनि हामीले कौसीखेती गर्नुपर्छ,' उनले कौसीखेतीको महत्वमा जोड दिइन्।
कौसीखेती गर्दा पैसा बचत हुनुका साथै केटाकेटीलाई बोटबिरूवाबारे जानकारी हुने र हरियाली देख्दा सकारात्मक सोच आउने उनको भनाइ छ।
राधाको जागिर पनि कृषिसँग जोडिएको छ। गोदावरी नगरपालिकाको कृषि शाखामा आफूले प्रशासनसँगै कृषि प्राविधिकको पनि काम गरिरहेको उनले जानकारी दिइन्।
'पहिले मलाई कृषि पढ्नु पर्छ भन्ने थाहा थिएन। थाहा पाएको भए त पढ्थेँ। कृषि सम्बन्धी अझ धेरै ज्ञान हुन्थ्यो होला,' उनले भनिन्।
अब त उनले जागिर छाडेरै कृषिमै लाग्ने योजना बनाएकी छन्।
भन्छिन्, 'पछि आउटलेट खोल्ने योजना छ। यहाँ साना केटाकेटी लक्षित गरेर नमूना कृषि फार्म हाउस बनाउने सपना छ।'