पछिल्लो समय घराना व्यापारिक घराना गोल्यान समूह कृषिमा लगानी बढाइरहेको छ। भदौ पहिलो साता सामाखुसीमा माटोको फ्रेन्चाइज स्टोर खोलेको समूहले यो आर्थिक वर्षमा १० वटा फ्रेन्चाइज स्टोर खोल्ने योजना बनाएको छ।
आफैं स्टोर खोल्दा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले फ्रेन्चाइज स्टोरमा केन्द्रित भएको समूहका निर्देशक अक्षय गोल्यानले बताए।
'हाम्रो अरू पनि व्यवसाय छन्। आफैं धेरै स्टोर खोलेर व्यवस्थापन गर्न सक्दैनौं,' अक्षयले भने, 'त्यसैले फ्रेन्चाइज स्टोर बढाउन खोजेका हौं।'
उनका अनुसार सानेपा, झम्सिखेल, कुपन्डोल, नक्साल, नारायणथान, मण्डिखाटार गरी छ ठाउँमा समूहको आफ्नो स्टोर छ। यी स्टोर समूहले आफैं कर्मचारी राखेर चलाइरहेको छ। बानेश्वर र सामाखुसीमा भने माटोका फ्रेन्चाइज स्टोर खुलेका छन्।
फलफूल र तरकारीबाट सुरू भएको माटो ब्रान्डमा अहिले ग्राहकले पचासभन्दा बढी सामान किन्न पाइने अक्षय बताउँछन्।
उनका अनुसार माटो ब्रान्डका सामान भाटभटेनी, सेल्सवेरी जस्ता मार्टहरूमा पनि पाइन्छ। ग्राहकले आफूलाई पायक पर्ने स्थानबाट किन्न सक्नेछन्। जहाँबाट सामान किने पनि ग्राहकलाई मूल्यमा फरक नपर्ने अक्षयले बताए।
ग्राहकले माटो ब्रान्डबाटै लिप बामहरू, स्यानिटाइजर, पानी, मह, चामल, दाल, तरकारी, फलफूल, अन्डा, बेकरी, घ्यु, ड्राइफ्रुट्स लगायत किन्न पाउँछन्। माटो ब्रान्डका सामान अरूभन्दा सस्तो पर्ने अक्षय दावी गर्छन्।
'हामीले सिधै किसान र आयातकर्तासँग सामान लिन्छौं,' उनले भने, 'त्यही भएर ताजा हुनुका साथै सस्तो पनि हुन्छ।'
माटोका स्टोर अहिले काठमाडौं उपत्यकामा मात्रै छन्। समूहले छिट्टै गोदाम व्यवस्था गरेर काठामाडौं बाहिर पनि फ्रेन्चाइज स्टोर खोल्न लागेको छ।
'दुइटा खोलिसक्यौं, अब तीनवटा पाइपलाइनमा छ। यो वर्ष पोखरा, बिर्तामोड, भैरहवातिर पनि खोल्छौं,' अक्षले भने।
स्वदेशी उत्पादकका खानेकुरा माटो ब्रान्डमा जोडेर विश्वभर पुर्याउनु कम्पनीको उद्देश्य हो।
'अहिले भारतका सामान सबै देशमा पुगेको छ। त्यसैगरी हामी माटो ब्राण्डमार्फत् नेपाली उत्पादन बाहिर पुर्याउन चाहन्छौं,' अक्षयले भने।
ब्रान्ड बिनाको सामान उपभोक्ताले विश्वास नगर्ने भएकाले आफ्नो नाम दिएर नेपाली उत्पादनको प्रवर्द्धन गर्न खोजेको उनको भनाइ छ।
'नेपालको घ्य गुणस्तरीय छ। तर हामी त्यसलाई उपभोग नगरेर बाहिरको खान्छौं। विदेशी नाम भए विश्वास गरेर किनिहाल्छौं,' उनले भने, 'अब नेपाली ब्रान्ड माटोलाई पनि त्यसैगरी चिनाउने उद्देश्य हो।'
माटो ब्रान्डमा मुख्य गरी खानेकुरालाई प्राथमिकता दिए पनि अल्लोको मास्क, अर्ग्यानिक टिस्यु पेपर पनि बिक्री गर्न राख्न लागिएको उनले जानकारी दिए।
'हामीले खाद्यान्नबाहेक अरू सामान पनि राखेर बेच्ने योजना बनाएका छौं। छलफल चलिरहेको छ,' उनले भने, 'जे राखे पनि अर्ग्यानिक तरिकाले उत्पादन भएका सामान मात्रै राख्छौं। विशेषगरी स्वदेशी कच्चा पदार्थबाट उत्पादित सामान हाम्रो प्राथमिकतामा छ।'
उनका अनुसार कृषिमा अहिले दसदेखि १२ करोड लगानी छ। यसलाई विस्तार गर्दै एक अर्ब पुर्याउने कम्पनीको योजना छ।
दुई वर्षअघिदेखि कृषिमा लगानी सुरू गरेको समूहले केही आफैं त केही किसानसँग मिलेर फलफूल तथा तरकारी उत्पादन गरेको छ। व्यवसायिक खेतीका लागि समूहले झापाको चकचके, घेराबारी, गैरीगाउँ लगायत विभिन्न ठाउँमा तीन सय बिघा जग्गा किनेको छ।
त्यहाँका पाँच सय किसानसँग सहकार्य गरी अर्ग्यानिक फलफूल तथा तरकारी उत्पादन सुरू गरेको हो। उत्पादित वस्तुलाई माटो ब्रान्ड अन्तर्गत बजारमा बेच्दै आएको छ।
समूहले आफूसँग सहकार्य गरेका किसानको मात्र नभई अन्य किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी पनि लिने गरेको अक्षयले बताए।
'हामी तरकारीको विषादी परीक्षण गर्छौं। कुनै विषादी नहाली तरकारी उत्पादन गरेको छ भने जसको पनि लिन्छौं,' उनले भने।
विषादी प्रयोगले रोग बढ्दै गएकाले आफूहरूले अर्ग्यानिक खेती गरी तिनै उत्पादन बजारमा ल्याउने उनको दावी छ।
समूहले गाउँगाउँ गएर किसानसँग समन्वय गर्न 'जयन्त गोल्यान फाउन्डेसन' स्थापना गरेको छ। यो फाउन्डेसनमा विभिन्न गाउँहरू जोडेर त्यहाँका किसानलाई अर्ग्यानिक खेती सिकाइने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने काम गरिन्छ। विदेसिएका युवालाई देशभित्रै रोजगारीमा आकर्षित गर्न पनि कृषिमा काम थालेको अक्षयले बताए।
'एकातिर युवाहरू विदेसिइरहने, अर्कोतिर उपभोक्ताले अर्ग्यानिक उत्पादन नपाउने अवस्था छ। त्यो घटाउन हामीले कृषि काम थालेका हौं,' अक्षयले भने।
फलफूल तथा तरकारी भण्डारका लागि झापामा कोल्ड स्टोर बनाउने समूहको तयारी छ। यसका लागि समूहले दुई सय विघा जग्गा समेत किनिसकेको छ। कम्पनीले अहिले फलफूल/तरकारीको बीउ बाहिरबाट ल्याएर उत्पादन गरिरहेको छ। केही वर्षपछि भने आफैं बीउ तयार गर्ने योजना बनाएको छ।