पछिल्लो तीन महिना अवधिमा केराको मूल्य ४० प्रतिशतसम्म वृद्धि भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार माघमा केराको थोकमूल्य प्रतिदर्जन ९० देखि १०० रूपैयाँ थियो। फागुनमा बढेर ११० पुग्यो। चैतसम्म आइपुग्दा १२० देखि १४० रूपैयाँसम्म कारोबार भएको तथ्यांक छ। केही दिनयता मूल्य घटे पनि अझै १३५ मा कारोबार भइरहेको समितिले जनाएको छ।
यो त व्यापारीले किन्ने थोकमूल्य भयो, उपभोक्तासम्म आइपुग्दा प्रतिदर्जन दुई सय रूपैयाँसम्म पर्छ।
छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्य समस्या समाधानका लागि उपयोगी मानिने केरामा यसअघि कहिल्यै यति धेरै मूल्य नबढेको व्यवसायी बताउँछन्।
केराको मूल्य यस्तरी अकासिनुको कारण के त?
राष्ट्र बैंकले गत चैत अन्तिममा विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई निर्देशन दिएको थियो। यही क्रममा विदेशी केरा आयात निरूत्साहित गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्न एलसी बन्द गरियो। यसले भारतबाट हुने आपूर्ति रोकिएर मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए।
'सरकारले सुरूमा आन्तरिक उत्पादनलाई संरक्षण गर्न एकपक्षीय निर्णय गर्दा बजार मूल्य बढेको थियो,' उनले भने, 'मूल्य बढेपछि सीमित मात्रामा केरा आयातका लागि एलसी खोल्न दिइएको छ। यसले बिस्तारै मूल्य घट्न थालेको छ।'
उनका अनुसार नेपालमा केरा उत्पादन प्रशस्तै भए पनि आन्तरिक उत्पादनले मात्र माग धान्न सक्दैन। यहाँ साउनदेखि असोजसम्म राम्रो उत्पादन हुन्छ भने त्यसपछि मागअनुरूप आपूर्ति हुँदैन।
'असोजपछि एक गाडी मात्रै केरा ल्याऊँ भने पनि पुग्दैन,’ बानियाँले भने, 'यहाँको भौगोलिक हावापानीका कारण पनि बाह्रै महिना केरा उत्पादन हुन गाह्रो छ।'
केराको मूल्य गुणस्तरमा आधारित हुन्छ। सामान्यतया व्यावसायिक प्रयोजनका केरालाई धुवाँ र एसीमा पकाउने गरिन्छ। एसीमा पकाएको केरा धुवाँबाट पकाएको तुलनामा महँगो हुन्छ। एक दर्जनमै २० रूपैयाँसम्म महँगो पर्ने उनले जानकारी दिए।
राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइराला बजार मागअनुसार उत्पादन कम भएकाले केराको मूल्य बढेको बताउँछन्।
‘गर्मी मौसममा केराको उपभोग बढ्छ,’ उनले भने, ‘मागअनुसार उत्पादन नभएर मूल्य बढेको हो।’
पछिल्लो समय केराको उत्पादन र क्षेत्रफल बढिरहको उनी बताउँछन्। हाल १८ हजार हेक्टरमा वार्षिक दुई लाख ९० हजार टन केरा उत्पादन हुँदै आएको छ। उत्पादन बढी भयो भन्दैमा अरू फलजस्तो केरालाई भण्डार गरेर राख्न मिल्दैन।
‘पहिले घरायसी रूपमा उत्पादन हुन्थ्यो, अहिले व्यापारिक उत्पादन बढेको छ,’ उनले भने।
केराको मुख्य सिजन फागुनदेखि कात्तिक हो। त्यसपछि जाडो सुरू हुने भएकाले उपभोग कम हुन्छ। पछिल्लो समय टिस्यु कल्चरबाट उत्पादन गरिएका बिरूवाबाट १० देखि १४ महिनामै फल लिन सकिन्छ।
स्थानीय चुनावी चहलपहलले पनि केराको उपभोग बढ्न गई मूल्य बढेको हुनसक्ने कोइरालाको अनुमान छ।
‘दिउँसो चुनाव प्रचारमा हिँड्नेले पनि केरा खाजा खाने गरेका हुन सक्छन्,’ उनले भने।
स्थानीय बजारमा भारतीय केराको बाहुल्य छ। उत्पादन बढाउन स्थानीय र प्रदेश सरकारले किसानलाई केराको बीउ अनुदानमा दिइरहेको उनको भनाइ छ।
केरामा लाग्ने विभिन्न जातका रोग र कीराका कारण सोचेजति उत्पादन हुन सकेको छैन। जी–९, विलियम हाइब्रिड, झापाली मालभोग, हरिछाल जातका केरा उत्पादन हुँदै आएको छ।
केन्द्रका अनुसार पूर्व–पश्चिमदेखि मध्यपहाडमा व्यावसायिक रूपमा केरा खेती हुने गरको छ।