हामीकहाँ मसिना चामलको आयात बर्सेनि बढ्दो छ। हाम्रोमा मोटा चामल धेरै उत्पादन हुन्छ तर हामी मसिना चामल उपभोग गर्छौं।
खाने बानी परिवर्तन हुनुका साथै जनसंख्या वृद्धि, बजार विकास र रेमिटेन्सका कारण आर्थिक सबलता हुँदै जाँदा मसिना चामलको उपभोग पनि बढ्दै गएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन्।
भन्सार विभागको पछिल्लो तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको दस महिना (साउनदेखि वैशाखसम्म) मा ४५ करोड ७४ लाख किलो अर्थात् चार लाख ५७ हजार मेट्रिक टन चामल आयात भएको छ।
उक्त परिमाणको चामलका लागि नेपालबाट २५ अर्ब १४ करोड रूपैयाँ बाहिरिएको छ।
नेपालमा उच्च प्रकारको मसिना धानको जात नभएकाले मोटा धान लगाउने गरेको किसानहरूले बताउँदै आएका छन्।
किसानको गुनासोलाई मध्यनजर गरेर राष्ट्रिय बाली प्रजनन् तथा अनुवांशिक अनुसन्धान केन्द्रले थप दुई मसिना धानको जात विकास गरेको छ। 'खुमल १२' र 'खुमल १४' गरी दुई मसिना धानका दुई जात विकास गरेको केन्द्रका धान विज्ञ उज्ज्वल कुशवाहाले जानकारी दिए।
कुशवाहाका अनुसार उक्त धानका जात जेठ ९ गतेको राजपत्रमा प्रकाशित गरिएको छ। यो मध्यपहाडी क्षेत्रका लागि विकास गरिएको जात हो। केन्द्रले मध्यपहाड र उच्च पहाडका लागि धान, गहुँ तथा मकैका जात विकास गर्छ।
समुद्री सतहबाट ८ सय मिटरदेखि १५ सय मिटरसम्मको उचाइलाई मध्यपहाडी क्षेत्र भनेर बुझिन्छ।
‘खुमल–१२ र खुमल–१४ धानका जात खुमल–४ जस्तै छन्। यी धानका जातले खुमल–४ लाई प्रतिस्थापन गर्छ,’ उनले भने।
खुमल–४ मध्यपहाडको लागि सबैभन्दा लोकप्रिय धानको जात हो। यो उन्मोचन भएको ३२/३३ वर्ष भइसकेको छ। यसको जीन खिइँदै गएकाले यसमा रोग तथा कीरा लाग्ने, उत्पादन घट्ने, तथा उचाइ बढेका कारण बोट ढल्ने समस्या आएको छ। यसले गर्दा किसानले यो जातको धान प्रयोग गर्न छाडेका थिए।
कुशवाहा भन्छन्, 'किसानले खुमल–४ को विकल्प खोजिरहेका थिए। हामीले अहिले त्यसको विकल्पमा खुमल–१२ र खुमल–१४ निकाल्न सफल भएका छौं।'
उनका अनुसार यी धानका जातको विशेषता पनि निकै राम्रो छ। यिनीहरूको प्रति हेक्टर औसत उत्पादन ५ मेट्रिक टन छ। यो लगाएको एक सय ४५ दिनदेखि ४७ दिनमा पाक्छ।
यसको उचाइ सानो भएकाले बोट ढल्ने समस्या नहुने उनी बताउँछन्। यी जातका धानमा अहिलेसम्म रोग तथा कीरा नदेखिएको उनको दाबी छ। केन्द्रले अहिले यी धानका जात सबै किसानलाई पुर्याइसकेको उनले बताए।
'हामीले किसानलाई नमूनाका रूपमा पठाएका थियौं, उनीहरूले निकै मन पराएका छन्,' उनले भने।
काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, गोर्खा, दोलदा, दैलेख, डोटी लगायत विभिन्न जिल्लामा यो धानको जात पुगिसकेको छ।
त्यस्तै केन्द्रले 'खुमल बासमती–१६' धानको जात पनि विकास गरेको छ। यो जात भने राजपत्रमा आउन बाँकी रहेको केन्द्रका धान विज्ञ कुशवाहाले जानकारी दिए।
'सिड (बिउ) बोर्डबाट पास भइसकेको छ, अब राजपत्रमा आउन बाँकी छ,' उनले भने।
यो जात मध्यपहाडी लागि प्रथम उपयुक्त बासमती धान भएको उनी बताउँछन्। अहिलेसम्म मध्यपहाडका लागि जति बासनादार धान विकास भएका थिए, ती सबै ढल्ने र उत्पादन कम दिने किसिमका थिए।
'रोग र कीरा अत्यन्तै लाग्ने भएकाले किसानले बासनादार धान लगाउने इच्छा भए पनि लगाउँदैन थिए,' उनी भन्छन्, 'अहिले उपयुक्त हुने खुमल बासमती–१६ ल्याएका छौं। यो जात किसानले निकै मन पराएका छन्। यसको उत्पादन क्षमता पनि धेरै छ।'
उनका अनुसार यसको उत्पादन प्रतिहेक्टर ४ टनभन्दा बढी हुन्छ। यो धानको बोटको उचाइ एक सय सेन्टिमिटर भएकाले ढल्ने समस्या हुँदैन। यो लगभग एक सय ३६ दिनमै पाक्छ।
यसको उत्पादन बढी र महँगो पनि भएकाले व्यावसायिक खेती गर्दा किसानलाई फाइदा हुने उनले बताए।
'बासनादार धानमा प्रति हेक्टर ४ टनभन्दा बढी उत्पादन दिनु धेरै हो। यो महँगो पनि छ,' उनले भने, 'यी जातका धानका चामल गिलो पनि हुँदैन। यसको व्यावसायिक खेती गर्यो भने किसानले राम्रो नाफा लिन सक्छन्।'
पछिल्लो समय मसिना धान प्रति किसानको आकर्षण बढे पनि आफूहरूले चाहेजति बिउ उत्पादन गर्न नसकिएको उनी बताउँछन्। केन्द्रले विकास गरेको जातको बिउ किसान समक्ष पुग्न करिब चार वर्ष लाग्ने उनको भनाइ छ।
उनका अनुसार अनुसन्धान केन्द्रले प्रजनन बिउ मात्रै निकाल्छ। केन्द्रले निकालेको प्रजनन बिउ कृषिका अन्य बिउ निकाल्ने केन्द्रहरूमा जान्छन्। तिनीहरूले मूल बिउ निकालेर कृषि ज्ञान केन्द्रहरूमा पठाउँछन्। त्यसपछि उनीहरूले प्रमाणित बिउ निकालेर किसानहरूलाई वितरण गर्छन्।
'हामीले अनुसन्धान केन्द्रमा दिएर बढी भएको बिउ किसानहरूलाई दिन्छौं। हामीले नमूनाका रूपमा दिने हो,' उनले भने।
तराई क्षेत्रका लागि पनि मसिना धानका जात विकास गरिएको छ। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ–धनुषाले तराई क्षेत्रका लागि धानको जात विकास गर्छ।
पछिल्लो समय 'गंगासागर–१' र 'गंगासागर–२' र 'हर्दिनाथ–५' गरी तीन वटा मसिना धानका जात विकास गरिएको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक डा. सुशीलराज सुवेदीले जानकारी दिए। यी धानका जात राजपत्रमा प्रकाशित हुन बाँकी छ।
उनका अनुसार तराईमा 'बहुगुणी–१', 'स्वर्ण सब–१', 'लल्का बासमती', 'सुद्धोधन कालानमक', 'हर्दिनाथ–१', 'गंगासागर–१', 'गंगासागर' २', 'चैते–५', 'हर्दिनाथ–३' र 'हर्दिनाथ–५ मसिना जातका धान छन्।
सरकारले किसालाई मसिना धानमा आकर्षित गर्ने कार्यक्रम ल्याउने हो भने बाहिरबाट यो चामल आयातमा कमी आउने धान विज्ञ कुशवाहा बताउँछन्।
'अहिले रोग र कीरा नलाग्ने, उत्पादन बढी हुने मसिना धानका जात विकास भएको छ,' उनले भने, 'बाहिरबाट पनि आउने चामल पनि हाम्रो जस्तै हो। त्यताको धानमा एमाइलोज कन्टेन्ट बढी पाइने हुँदा पकाउँदा गिलो हुँदैन, हाम्रो चामल हल्का गिलो हुन्छ।'
हामीकहाँ मोटा धानको तुलनामा मसिना धानको उत्पादन न्यून हुन्छ। तराईमा २३ देखि २९ प्रतिशत मसिनो धान उत्पादन हुन्छ भने बाँकीमा मोटा र मध्यम मसिना धान उत्पादन हुँदै आएको वैज्ञानिक सुवेदी बताउँछन्।
उनका अनुसार उत्पादन कम हुने भएकाले किसान मसिना धानमा त्यति आकर्षित भएको देखिँदैन। सरकारले किसानलाई मसिना धानमा आकर्षित गर्ने कार्यक्रम ल्याउने हो भने उत्पादन बढ्ने उनले बताए।
आयात विस्थापित गर्न राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम 'लङ-ग्रेन' धानका जातको पनि अनुसन्धान गरिरहेको उनले बताए। नेपालीहरूले मसिना चामल धेरै उपभोग गर्न थालेको देखेर आयातित चामल विस्थापन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत वर्षदेखि मसिना धान नै उत्पादन पनि थालेको छ।
मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले राष्ट्रिय खाद्य सुरक्षा विशेष कार्यक्रममार्फत मसिनो धान उत्पादन थालेको हो।
केन्द्रले मसिना धान उत्पादनका लागि विशेषगरी प्रदेश एक र दुईलाई लक्षित गरेको छ। केन्द्रले बिउ, प्रविधि, प्राविधिक र मसिना धान किन्ने मिललाई आर्थिक सहयोग गर्दै आएको छ। किसानलाई मसिना धानमा प्रेरित गर्ने काम पनि भइरहेको छ।