धनुषाको बटेश्वर गाउँपालिका १ का अरुण महतो रातिको खाना खाएर ओछ्यानमा ढल्किने बेलामा हतारिँदै खेततिर लम्किए। दिनभरको श्रमले थाकेर घर फर्केका उनी सुत्न पाएनन्। 
उनले एउटा झोला र टर्च लाइट बोकेका थिए। झोलामा खाना थियो। यसरी उनी साँझ छिप्पिएपछि घरबाट करिब एक किलोमिटर परको खेतमा जानुको कारण के थियो भने खेतमा उनका बुबा महावीर थिए। 
महावीर खेतमा बस्नुको कारण हो बालीमा नीलगाईको आतंक। राति भएपछि बाबुछोरा पालैपालो जाग्राम बसेर बालीमा आएको नीलगाई धपाउँछन्। 
‘हाम्रो दिनरात खेतमै बित्छ। जाडो मौसममा चिसो हावाले सर्दीखोकी लागेर बेमार परिन्छ,’ अरुणले भन्छन्, ‘नीलगाई पसेर बाली खाइदिन्छ, रातभरि बसेर धपाउनुपर्छ।’ 
अरुणका अनुसार रात परेपछि नीलगाईको बथान नै बालीमा पस्छ। दिउँसो पनि आउँछ। बाली जोगाउन किसानहरू दिनरात खेतमै रुँगालो बस्छन्। 
‘पसिना बगाएर लगाएको बाली निलगाई बथानले एकै छिनमा खाइदिन्छ,’ अरुण भन्छन्, ‘आँखा झिमिक्क भयो सखाप पारिहाल्छ। जाडोमा रातभर खेतमा बस्ने मान्छेहरू बिरामी पर्छन्।’ 
रोजगारीको क्रममा दुई पटक मलेसिया गएर फर्केका अरुणले खेतीबाटै परिवारको गुजारा चलाउने भनेर लागेका थिए। 
अहिले नीलगाईको आतंककै कारण खेती नै छोड्ने निष्कर्षमा पुगेका छन्। 
‘पेट पाल्नै पर्यो। छोराछोरी पढाउनु छ, बिहेबारी गर्नु छ। सधैँ विदेश बसेर पनि हुँदैन भनेर खेती गर्न थालेँ,’ उनले भने, ‘खेतमा गरेको लगानी उठाउनै मुश्किल पर्छ। नीलगाईले बर्बाद पारिदिन्छ।’ 
अरुणको परिवारको एक बिघा छ। रोप्ने, फलाउने त्यतिमै हो। उनका अनुसार जनावरबाट जोगाउन सक्दा र राम्रो उत्पादन हुँदा त्यति खेतीले परिवार चल्छ तर जंगली जनावरको आतंकले उनीजस्ता धेरै किसानहरू हैरान छन्। 
अरुणको परिवारले दुई कट्ठा जमिनमा काउली र खुर्सानी, बोडी रोपेका थिए। उनका अनुसार खनजोत, बिउ, मलखाद र बाँसको घेराबेरामा ३५ हजार रुपैँया खर्च भयो। 
भदौदेखि परिवारजनले तरकारी फलाउन मिहिनेत गरे। बिरुवा राम्रो सप्रेर फल दिन थालेको थियो। अचानक निलगाईको बथान पसेर सबै नष्ट गरिदियो। 
नजिकै खेतको अर्को टुक्रामा पनि बाली लगाएका छन्। त्यहाँ पनि नीलगाईले आतंक मच्चाउन थालेपछि बुबा दिनभर खेतमै बिताउँछन्।
खेतीबाट मात्र परिवार नचल्ने भएपछि अरुण दिउँसो मजदुरी गर्न जान्छन्। राति रुँगालो बस्न खेतमा जान्छन्। 
‘एक पटकमा १०–१२ वटा नीलगाईको बथान आउँछ। मौका पायो भयो एकछिनमा खेतै सखाप पारिदिन्छ,’ अरुण भन्छन्, ‘गाउँका नेताहरूलाई जति भने पनि समस्यामा चासो लिँदैनन्।’ 
मंगल महतो यस्तै अर्का पीडित किसान हुन्। उनले खेतमा काउली रोपेका छन्। उनको आम्दानीको स्रोत तरकारी खेती नै हो। 
उनले नीलगाईको संख्या धेरै बढेको र बाली जोगाउन मुश्किल परेको बताए। उनले भने, ‘नीलगाई नियन्त्रण नगर्ने हो भने किसान त मरिहाल्छ, किनेर खानेहरू पनि मर्छन्।’
मंगल र उनका बाबु पनि दिनरात खेतमै हुन्छन्। 
‘कोटामा आउने खाद समयमा आउँदैन। पाएकोले पुग्दैन, ब्ल्याक (कालोबजारीयासँग) मा किन्नुपर्छ,’ मंगल भन्छन्, ‘यति गर्दा पनि कहिलेकाहीँ बाली सप्रिँदैन, रोग लाग्छ। यसपालि लगानी डुब्यो। अलिअलि फलेको पनि एक दिन नीलगाईले खाइदिएछ।’
उनले सरकारले जंगली जनावरको आतंकबाट किसानको बाली जोगाउन वास्ता नगरेको आरोप लगाए।
‘सरकार सुन्दै किन सुन्दैन? किसानले अब कति सहनु?’ मंगलले भने, ‘आर्थिक रूपमा किसान मरेको सरकार किन देख्दैन? कि हामी मरेपछि  मात्र देख्ने हो?’ 
नीलगाईको आतंक एक ठाउँमा मात्र सीमित छैन। मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, बटेश्वर गाउँपालिका, महोत्तरीको भंगाहा र बर्दिबास नगरपालिकमामा पनि व्याप्त छ।
बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो भन्छन्, ‘हामीलाई मात्रै होइन, हाम्रा छिमेकी सबैतिर जनावरको आतंक छ तर उनीहरूलाई धपाउने, नियन्त्रण गर्ने उपाय हामीसँग छैन।’ 
आतंक नीलगाईको मात्रै छैन, बाँदरको पनि उत्तिकै छ। बँदेलको पनि छ। बारीमा लगाएको सबै बाली बाँदरले सखाप पारदिएको मंगलले बताए। 
चित्रपुरका कतिपय किसानले खेती छाडेका छन्। 
‘नीलगाई, बाँदर र बँदेलको आतंक छ। कतिले त खेती नै छोडिसके। कोही विदेश पनि गए।
‘खेतीपातीमा फाइदा छैन। खेत हुनेले खेती नगरेर पनि भएन,’ चित्रपुरका बासिन्दा राजदेव महतो भन्छन्, ‘सरकारले नीलगाई र बाँदर भगाउने व्यवस्था गर्नु पर्यो।’
पहिलेपहिले बाँदरले मिथिला नगरपालिकाको कुसुमबिसौनातिर मात्र क्षति पुर्याउँथ्यो। हरेक वर्ष बाँदरको संख्या बढ्दै गयो। बाँदर गाउँ बस्तीमै पस्न थाल्यो।


अरुण भन्छन्, ‘एकै चोटी धेरै बाँदर घरभित्रै पस्छन्। अन्नपात पनि खाइदिन्छ। धपाउन जाँदा बथानले आक्रमण गर्छ। घरमा बालबच्चा पनि सुरक्षित छैनन्।’ 
किसानहरूका अनुसार नीलगाई नजिकको कुनै जंगलबाट आएको होइन। झन्डै १० वर्षअघि राजमार्गतिरबाट आएका नीलगाईका केही बथानको संख्या बढ्दै खेतबारीमा फैलिएका हुन्। 
'अहिले हाम्रा खेतबारीमा तिनै नीलगाईको रजाईं छ,' अरूण भन्छन्।
बँदेल पनि यसरी नै फैलिएको हो। केही वर्षअघि कसैले एक ट्रक बाँदर ल्याएर बटेश्वरमा छाडेको र तिनकै संख्या बढेर आतंक मच्चाएको केही किसानको भनाइ छ। 
बटेश्वर गाउँपालिका अध्यक्ष महतोले वन्यजन्तु नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय गर्ने तयारी गरेको बताए। 
गाउँपालिका कार्यालयका प्रशासकीय प्रमुख वेचन चौधरीले धेरै छलफल गरिरहेको बताए। उनले भने, ‘वासस्थान र खानाको खोजीमा ती जनावर घुमिरहेका छन्। हामीकहाँ पनि धेरै गुनासो आयो। छलफल गर्दै छौँ, रणनीतिक रूपमा त्यसको समाधानका लागि तयारी गर्छौं।’ 
किसानहरू भने स्थानीय सरकारले केही पनि सहयोग नगरेको गुनासो गर्छन्।