किसानहरूको सबभन्दा ठूलो समस्या रासायनिक मलको अभाव हो। चाहिएका बेला मल नपाउँदा उत्पादन राम्रो नभएको गुनासो गर्छन्।
अर्कोतिर मल र विषादीमा हुने ठूलो खर्चले लागत बढाउँछ। लागत बढ्दा आम्दानी घट्छ।
किसान छवि न्यौपाने पनि यी दुवै समस्याबाट पीडित थिए। केही वर्षयता भने ढुक्क छन्। उनलाई न रासायनिक मल पाइएन भन्ने चिन्ता छ न विषादी किन्नुपरेको छ।
पश्चिम चितवनका न्यौपाने बोटबिरूवालाई चाहिने मल, पोषक पदार्थ आफैं बनाउँछन्। ढुसी, कीराको प्रकोप, अरू रोग निको पार्ने विषादी पनि आफैं तयार गर्छन्।
उनको फार्म भरतपुर महानगरपालिका–२५ मा छ। 'प्रभात प्रांगारिक कृषि उत्पादन केन्द्र' नामको फार्ममा चार वटा लाम्चो आकारका कोठा छन्। भित्र ठूला आकारका केही भाँडाहरू राखिएको छ जसको बिर्को खोल्दा कडा गन्ध आउँछ।
'यी भाँडामा गुणस्तरीय बाली उत्पादनका लागि माटोलाई योग्य बनाउन आवश्यक पर्ने तत्वहरू छन्,' बिर्को खोल्दै न्यौपानेले भने, 'मैले यहाँ माटोका लागि फाइदाजनक जीवाणु, जरा र डाँठका लागि पोषक तत्व र रोगबाट जोगाउने वस्तु उत्पादन गरेको छु।'
उनले हरियो भाँडोमा रहेको तरल पदार्थ देखाए, नाम हो 'जीवामृत'।
जीवामृत बनाउन दूध, दही, घिउ, मोही, गोबर, गोमूत्र, नरिवलको पानी, भेली, वर र पिपलको बोटमुनिको माटो प्रयोग गरेका छन्। यो भाँडोमा गर्मी याममा १२ देखि १५ दिनमा र जाडोमा २० देखि २२ दिनमा जीवामृत बन्छ। उनका अनुसार यति अवधिमा उक्त मिश्रणमा पर्याप्त नाइट्रोजन, पोटास, फोसफरस इत्यादि तत्व हुन्छ।
उक्त मिश्रण खेत जोत्दा, बाली लगाउँदा, बिरूवा हुर्किँदै गर्दा अनि फूल र फल लाग्दासम्म प्रयोग गर्छन्।
'१० कट्ठा जमिनमा एक पटकमा २५० लिटर छर्छु,' उनले भने, 'यसले माटोमा लाभदायक जीवाणु तयार गरेर मलको काम गर्छ। माटाको गुणस्तर सुधारेर योग्य बनाउँछ।'
अर्को भाँडोमा थोरै फरक मिश्रण तयार गरेका छन्। यसमा दूध, दही, घिउ, नरिवलको पानी, भेली प्रयोग गरेका छन्। त्यसको नाम राखेका छन् 'पञ्चामृत'।
पञ्चामृतले बिरूवामा फूल र फल लाग्न पोषणको काम काम गर्ने उनले बताए।
तेस्रो भाँडोमा 'वेस्ट डिकम्पोजर' छ। छविका अनुसार यसले बिरूवाको जरा र डाँठ बलियो बनाउँछ।
'वेस्ट डिकम्पोजर' बनाउन सुरूमा गोमूत्रबाट बन्ने 'मदर सिड' किनेर ल्याउनुपर्छ। मदर सिडमा अत्यधिक मात्रामा लाभदायक जीवाणु हुन्छन्। यसलाई भेलीमा घोलेर 'वेस्ट डिकम्पोजर' तयार गर्नुपर्छ।
'बिरूवा राम्ररी हुर्किन जरा र डाँठ बलियो हुनुपर्छ। डिकम्पोजरले त्यो काम गर्छ,' न्यौपानेले भने, 'यसले बिरूवालाई रोगबाट मुक्त पार्छ। रोगसँग लड्ने क्षमता विकास गर्छ।'
उनले बालीमा लाग्ने विभिन्न किसिमका ढुसी नियन्त्रण गर्न अमिलो मोही, मेवाको पात, आँकको पात, गोमूत्र शुद्ध बेसार र बढी पिरो हुने खुर्सानी मिलाएर 'निमास्त्र' नामको औषधि तयार पारेका छन्।
बिरूवालाई असर गर्ने छेडुवा कीरा नियन्त्रण गर्न निमको पात र दाना, आलो गोबर, गोमूत्र र पानीबाट पनि औषधि तयार गरेका छन्।
उनले 'घनजीवामृत' नामको मल पनि उत्पादन गरेका छन्।
न्यौपानेले टहरोभित्रका लाम्चा कोठामा सुकेको पात र गोबर हालेर गँड्यौला पालेका छन्। गँड्यौलाले मल गुणस्तरीय बनाउँछ। उनी त्यही मल खेतबारीमा प्रयोग गर्छन्। भरतपुर महानगरपालिकामा उनको खेती छ। धान, मकै, गहुँ र तरकारी उत्पादन गर्छन्।
उनको मुख्य पेसा कृषि नै भए पनि व्यावसायिक रूपमा खेती सुरू गरेको सात वर्ष भयो। करिब तीन बिघा आफ्नै जमिनमा तरकारी खेती गरेर उनले व्यावसायिक कृषि सुरू गरेका थिए। त्यसपछि जमिन भाडामा लिएर १६ विघा पुर्याए।
'सुरूमा त अरूले जे गरेका थिए, मैले पनि त्यही गरेँ। घन्टौं लाइनमा बसेर रासायनिक मल जुटाएँ। बालीका लागि रासायनिक पौष्टिक तत्व, ढुसी र कीरा मार्न विषादी किनेँ,' न्यौपानेले भने, 'त्यसको प्रयोगले तत्कालका लागि उत्पादन पनि राम्रै भएको थियो।'
उनलाई खेतीको आफ्नै तरिका मन परेको थिएन। रासायनिक मल, विषादी र औषधि किन्न धेरै पैसा खर्च भइरहेको थियो।
'यताबाट एक लाख रूपैयाँ कमायो, उता पसलमा त्योभन्दा बढीको बिल बनिरहेको हुुन्थ्यो। नाफा लिनै गाह्रो। चार वर्षअघि मल, विषादी र औषधिमा मात्रै डेढ लाख रूपैयाँभन्दा बढी खर्च हुन्थ्यो,' उनले सुनाए, 'अघिल्लो वर्ष राम्रो उत्पादन हुने तर विस्तारै घट्दै जाने भयो।'
उनले २०५६ सालमा 'नेपाल पर्माकल्चर समूह' मा आबद्ध भएर जैविक खेतीसम्बन्धी ज्ञान हासिल गरेका थिए। विषादीले माटो बिगारेको निष्कर्ष भएपछि न्यौपानेले जैविक खेती गर्ने निर्णय लिए। जैविक खेती गर्ने किसानकहाँ पुगेर अवलोकन गरे। आफ्नो सिकाइ र अनुभवीका सुझावअनुसार आफैंले मल र औषधि बनाउन सुरू गरे।
यसरी बालीमा 'पञ्चामृत', 'जीवामृत', 'घनजीवामृत' लगायत नाम दिएर आफैंले बनाएको मल र औषधि हालिरहेका छन् उनी। रासायनिक मल र रासायनिक विषादी प्रयोग नगरेको चार चार वर्ष भयो।
'जैविक मल, पौष्टिक तत्व र जैविक विषादी बनाउन मेरो श्रम र समयबाहेक थप खर्च छैन। यसलाई करिब शून्य लागत भन्दा पनि हुन्छ,' न्यौपानेले भने, 'अरूले भन्ने गरेको जस्तो रासायनिक मल प्रयोग गर्दाको भन्दा कम उत्पादन भएको छैन। बरू बढेको छ।'
उनी ज्योतिनगरका गाईपालका किसानको गोठबाट गोमूत्र र गोबर ल्याउँछन्। यसबापत उनले सुधारिएको गोठ बनाइदिएका छन्।
उनले ती किसानको गोठमा ड्रम राखेका छन्। किसानहरूले त्यसमै गोमूत्र जम्मा गरिदिन्छन्। ड्रम भरिएपछि ल्याउँछन्। गोबरका लागि उनी आफैंले पनि गाईभैंसी पालेका छन्।
'विषादीको अत्यधिक प्रयोगले खेतमा लाभदायक जीवाणु नष्ट भए, माटो मृत भयो। यस्तो अवस्थाको माटोमा फाइदाजनक जीवाणुहरू तयार गरेर बिरूवालाई चाहिने तत्व प्रवाह गर्ने प्राकृतिक कृषि पद्धति अनुसरण गर्नुपर्छ,' न्यौपानेले भने, 'बिउ लगाएपछि बालीले करिब ३.५ प्रतिशत तत्व माटोबाटै लिन्छ। थप तत्व हावा, घाम र बायुबाट लिन्छ। स्तरीय खेतीका लागि हामीले यी सबै पक्षमा ध्यानमा दिनुपर्छ।'
उनका अनुसार जैविक खेतीबाट माटो जोगिने र मानव स्वास्थ्यमा फाइदा पुग्छ। तरिका पुर्याएर काम गर्न सके राम्रो फाइदा लिन सकिन्छ। प्रकृतिसँग मिलेर काम गर्न सक्दा केही समस्या हुँदैन।
'तीस वर्षअघि खेती गर्दा रासायनिक मल र विषादी चाहिँदैन थियो,' उनले भने, 'फेरि पनि त्यसै गर्न सकिन्छ। अहिले उपभोक्ताको माग पनि अर्गानिक (जैविक) उत्पादन छ। यो बढाउनै पर्छ।'
गत वर्ष उनले सन्तोषजनक आम्दानी गरे। यसपालि धेरै जमिनमा मकै लगाएका छन्। यसको च्याँख्ला तयार पारेर 'प्रभात प्रांगारिक कृषि उत्पादन केन्द्र' को ब्राण्डमा बजार पठाउने उनको लक्ष्य छ। गत वर्ष उनले ७० क्विन्टल च्याँख्ला बेचेका थिए।
न्यौपाने आफ्नो उत्पादन काठमाडौं, पोखरा, बुटवल लगायतका सहरमा पनि पठाउँछन्। केही ग्राहक उनको खेतबारीमै आएर किन्छन्।
'चितवनको बजारमा धेरै बिक्री हुन सकेको छैन। बाहिरबाट धेरै माग छ,' उनले भने, 'बिस्तारै सबैले अर्गानिक उत्पादनको महत्व बुझ्छन्। म उत्पादन बढाउनेदेखि यससम्बन्धी चेतना फैलाउने अभियानमा सक्रिय भएर लाग्छु।'
किसानले कृषिको लगानी उठाउन गाह्रो भयो भनिरहेको यो समयमा न्यौपानेको लक्ष्य लागत मूल्य घटाउने र लगानी नडुब्ने कृषि पद्धति विकास गर्नु हो।