बजारमा आँपको मूल्य बढेको छ। मागअनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
‘बजारमा आँप एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने।
उनका अनुसार आँपको मूल्य बढ्न थालेको तीन दिन भयो। बजारमा दसहरी र मालदह जातका आँप आइरहेको छ। यी आँपको मूल्य अहिले होलसेलमै एक सय ८० रूपैयाँदेखि एक सय ९० रूपैयाँ पुगेको छ।
यसअघि यी आँप प्रतिकिलो थोक मूल्य एक सय २५ रूपैयाँदेखि एक सय ३० रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले बजारमा नेपाली आँपको सिजन सकिएकाले मूल्य बढेको हो।
भारतीय आँप पनि साउनभरि मात्रै आउने छ। त्यसपछि आँपको सिजन सकिएर अनार तथा स्याउको सिजन सुरू हुने उनले जानकारी दिए।
आँपको होलसेल मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ।