गत वर्षको यही सिजनमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतीपुरका किसान राजेश डाँगीको तरकारी बारीमा व्यापारीहरू आफैं आएर तरकारी किनेर लैजाने गर्थे। आम्दानी राम्रो हुन्थ्यो। त्यही आशले यो वर्ष उनले बढी क्षेत्रफलमा बन्दागोभी लगाए। उनले १५ कठ्ठा क्षेत्रफलमा बन्दागोभी र अन्य जमिनमा बेमौसमी मकै रोपेका थिए।
तर यतिखेर उत्पादन भएको तरकारी नै बिक्री नभएपछि बारीमा गाईवस्तुलाई चराउन बाध्य भएका छन्।
विगत दश वर्षयता सिजन अनुसार व्यावसायिक तरकारी खेती गर्दै आएका राजेशले खेतबारीमा अहिले कम्तीमा पनि साढे दुई लाखदेखि चार लाखसम्मको बन्दागोभी त्यसै खेर गइरहेको बताए।
‘पाँच रुपैयाँ केजी बिक्री भएको भए पाँच लाख बढी हुन्छ,’ उनले भने, ‘त्योभन्दा कम मूल्य दुई तीन रुपैयाँमा बिक्री भएको भए पनि तीन लाख बढी हुन्थ्यो।’
तर लगाएको बन्दागोभी बिक्री नभएपछि चर्को गर्मीका कारण सुक्दै जान थालेको हुँदा पशु चौपायालाई चराउन उपयुक्त हुन ठानेर चराउन थालेको उनले बताए।
‘केजीको एक रुपैयाँमा पनि कोही खोज्न आएनन् र त्योभन्दा कममा बेच्नु र नबेच्नुको कुनै अर्थ हुन्न,’ उनले भने, ‘बरू लालाबाला चराए उनीहरू त मोटाउलान् भन्ने लागेर चराउन थालेका हौं।’
‘इण्डियाको तरकारीका कारण हाम्रो स्थानीय उत्पादनले बजार पाउँदैन,’ उनले थपे, ‘हाम्रो क्षति हुँदा राज्य तहबाट कुनै राहत वा अनुदानको व्यवस्था नहुँदा मन खिन्न हुन्छ।’
स्थानीय उत्पादनको बजार तुलसीपुर नै हो।
अघिल्ला वर्षमा व्यापारी आफैं किसानका खेतबारीमै गाडी लिएर तरकारी किन्न आए पनि यो वर्ष भने व्यापारीहरूले व्यापार नै छैन भन्दै नआउने गरेको स्थानीय डम्मरकुमारी खत्रीले बताइन्।
उनको पनि १८ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दागोभी त्यसै खेतबारीमा सुक्दै गएको छ।
खेत बारीमै लाखौंको उत्पादित तरकारी कुहिन थालेको देखेर मन रूने गरेको उनले बताइन्। उनले पनि इण्डिया लगायत बाहिरी जिल्लाबाट आउने तरकारीका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको तर्क गरिन्।
बन्दागोभी खेतीमा मात्रै ७० हजार बढीको उनको लगानी छ। अहिलेसम्म उनले एक रुपैयाँको पनि बेच्न पाएकी छैनन्।
‘अब गोभी बिक्री हुने कुनै आधार देखिँदैन,’ उनले भनिन्, ‘हामीले पनि वस्तुभाउ चराउनुभन्दा अर्को कुनै विकल्प छैन।’
यो वर्ष सबै उत्पादन खेर गए पनि उनले हरेश भने खाएकी छैनन्।
‘यो पटक भएन भने अर्को पटक कसो नहोला,’ उनले भनिन्, ‘कोही नहुनेको दैव हुन्छ भन्छन् नि हैन!’
अब बर्खे धान तथा मकै खेतीका लागि जग्गा तयार पार्नुपर्ने समय आएको हुँदा पनि आफूहरू बिक्री नभएको बन्दागोभी खेतबारीमै मास्न बाध्य भएको स्थानीय किसान ललौ चौधरीले बताए।
उनको दश कठ्ठा क्षेत्रफलमा लगाएको बन्दागोभी पनि बिक्री भएको छैन।
सबै तस्बिर: नारायण खड्का