कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले अहिले आफू चुनौतीको आगोमा रहेको बताएकी छिन्।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बिहीबार आयोजित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धमा छलफलमा मन्त्री ज्वालाले यस्तो बताएकी हुन्।
'मन्त्रालयमा धेरै समस्या छ, बजेट छैन,' उनले भनिन्, 'अहिले म चुनौतीको आगोमा छु, यसबाट सकुशल निस्कन सक्नु नै सफलता हो।'
पछिल्लो समय मन्त्रालयमा दुग्ध क्षेत्रमा ठूलो समस्या देखिएको उनले बताइन्। किसानको दूधको पैसा तिर्न मन्त्रालयले ३० करोड रूपैयाँ विनियोजन गरेको उनको भनाइ छ।
'डिडिसीले किसानलाई एक अर्ब बढी पैसा भुक्तानी गर्न बाँकी छ। दुग्ध पदार्थ मौज्दात रहेकोले किसानलाई भुक्तानी गर्न सकेको छैन,' उनले भनिन्।
छलफल कार्यक्रममा किसानको समस्या हल गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो। त्यसको लागि कृषि समितिको पनि आफूलाई साथ चाहिने उनले बताइन्।
समाधान सहितको अनुगमन गर्न उनले समितिलाई आग्रह पनि गरिन्।