नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा सुरू भएको महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ।
चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो।
दुई दिनको सम्मेलनमा भएका बृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताइन्।
कृषि तथा पशुपंछी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेश गरी नीतिगत सुधारको लागि पहल गर्ने उनको भनाइ छ।
कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकरण, कृषिमा काम गर्ने सरकारी निकायहरूको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणा पत्रमा उल्लेख छ।
त्यस्तै, कृषिमा बीमा र सहुलियत ऋणको प्रभावकारीता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्ने लगायतका विषयलाई पनि घोषणापत्रले समेटेको छ।