सरकारले बिउ–बिजनको आत्मनिर्भरताको लागि विशेष कार्यक्रम योजना गरिने बताएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहका बालीहरूलाई दर्ता गरी उच्च उत्पादक जातिका बालीलाई प्रवर्द्धन गरिने उनले बताए।
उनले कृषि तथा अन्य उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गरिने बताए। कृषि र कृषिमा आधारित उद्योगीलाई सहज रूपमा कृषि कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने समेत सरकारले आगामी वर्षको नीति लिएको छ।
कृषि पशुपंक्षी तथा मत्स्य बिमालाई सूचना प्रविधिमा आधारित बनाई बिमाको पहुँच दायरा विस्तार गरी उत्पादन उत्पादकत्व र संभाव्यताका आधारमा कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरिने सरकारको नीति छ।
कृषक समूह र शहकारीसँग समन्वय गरी एकिकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यन्वयन गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने बताएको छ।
संभाव्य स्थानमा चैते धान उत्पादन गर्न स्थानीय तह मार्फत कृषकलाई उत्प्रेरित गरिनेछ। कृषियोग्य बाझो जमिनमा पशुपालन, उच्च मूल्यांकनका फलफूल वन-पैदावार तथा नगदेबाली खेती गर्न सहयोग गरिने नीति सरकारले लिएको छ।