कृषि उत्पादन किनबेच गर्ने प्लेटफर्म 'हाट बजार एप' को दोस्रो संस्करण सार्वजनिक भएको छ।
करिब एक महिनाअघि मात्रै दोस्रो संस्करण सार्वजनिक गरिएको एपका सञ्चालक द्रोण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दोस्रो संस्करण सार्वजनिक भएसँगै अब एपमा कृषि विज्ञले पनि आफ्नो प्रोफाइल राख्न सक्ने भएका छन्।
यसले उनीहरूलाई कृषिसँग सम्बन्धित मान्छेसँग जोडिन सघाउँछ। त्यसका साथै आफ्नो व्यवसाय बढाउन सक्छन्।
'हामीले किसानबाटै गुनासो आएकाले नै यो फिचर्स राखेका हौं। जस्तै कोही किरा विज्ञ छन् भने उनीहरूले बालीमा लाग्ने किराको बारेमा त्यहाँ राखिदिन सक्छन्,' उनले भने, 'त्यसले किसान र विज्ञ दुवैलाई फाइदा पुर्याउँछ।'
यो एपको सुरूआत करिब तीन वर्ष अघि भएको हो। यसमा दुई युवाले लगानी गरेका छन्। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण लकडाउनमा बजार बन्द हुँदा किसान र उपभोक्तालाई परेको समस्याले यो एपको आइडिया फुरेको हो।
कृषि उत्पादन खरिद–बिक्री हुने यो एपले किसान र उपभोक्ताबीच पुलको काम गर्दै आएको छ। हाट–बजार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ र निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ।
डाउनलोड गरिसकेपछि प्रयोगकर्ताले एपमार्फत् सामान किन्न वा बेच्न परे 'युजर लगइन' गर्नुपर्छ। प्रयोगकर्तालाई सहज होस् भनेर मोबाइल नम्बरबाटै लगइन गर्न मिल्ने समेत बनाइएको छ।
यो एपमा किसान र उपभोक्ता मात्रै होइन, व्यापारी पनि जोडिन सक्छन्।
'कुनै किसानको उत्पादन धेरै हुन्छ। उपभोक्ताले किसानका सबै उत्पादन किन्न सक्दैनन्। त्यही भएर व्यापारीलाई पनि हामीले यसमा जोडेका छौं,' श्रेष्ठले भने, 'धेरै परिमाणमा सामान चाहिने व्यापारीले पनि एप्लिकेसनबाट किन्न सक्छन्।'
एउटा जिल्लाको सामान अर्को जिल्लामा किनबेच गर्न सहज होस् भनेर एपमा प्रदेशअनुसार सामान किन्न तथा बेच्न सकिने सुविधा राखिएको छ।
यो एपमा सामान बेच्न राख्दा पैसा तिर्नु पर्दैन। किसानले निःशुल्क आफ्नो सामानको प्रचार गर्न पाउँछन् भने उपभोक्ताले किन्न सक्छन्। किसानले आफ्ना उत्पादन बजारका हाटमा जसरी बेच्न राख्छन्, त्यसैगरी यो एपमा बिक्रीका लागि राख्न सकिन्छ।
किसानले मात्र होइन, उपभोक्ताले पनि आफूलाई आवश्यक सामान सिधै किसान वा बिक्रेतासँग मोल–मोलाइ गरी किन्न सकिने सुविधा एपमा छ।
एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफैं तोक्न मिल्ने सुविधा छ। कृषिजन्य उत्पादनको फोटो, मूल्य, पाइने स्थान, सामानका गुण, डेलिभरी सुविधा आदि प्रष्ट खुलाइ प्रचार गर्न सकिने उनले बताए।
कुन किसानले के सामान बेच्न राख्यो भन्नेबारे पनि सबै एप प्रयोगकर्तालाई नोटिफिकेसन जान्छ।
एपमा भएको सामान आफ्नो आवश्यकता अनुसार फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, बिक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषिसम्बन्धी समाचार पढ्न, भिडिओ हेर्न, एफएम सुन्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने सुविधा पनि छ।
हाल एपमा २६ हजार प्रयोगकर्ता पुगेका छन्।