शुक्रबार र शनिबार साँझको हावाहुरीले चितवनमा सयौं बिघा जमिनमा लगाइएको केरा नष्ट भएको छ।
केरा महासंघ नेपाल अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीका कारण १० देखि १५ करोड रूपैयाँ बराबरको केरामा क्षति पुगेको बताए।
पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ।
पन्तले पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ गरिएको खेतीमा हावाहुरीको असर अझै बढी परेको बताए।
चितवन केरा उत्पादक संघका अनुसार करिब २५ सय बिघामा लगाइएको केरामा क्षति पुगेको छ।
चितवनमा ३५ सय बिघामा केरा खेती भइरहेको छ।
संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केरा व्यवसायमा अहिलेसम्मकै सबभन्दा ठूलो क्षति पुगेको बताए।
'मैले ५ बिघा ३ कट्ठामा लगाएको ८ हजार बोट केरा बजार पठाउन तयार हुँदै थियो। १५-२० दिनमा बजार पठाउन मिल्ने हुन्थ्यो। तर सोच्दै नसोचेको क्षति पुग्यो,' उनले भने, 'अहिले खेतमा एउटा बोट पनि बचेको छैन। सबै सोतर भयो।'
हावाहुरीका कारण पूर्वी चितवनमा सबै किसानले केही न केही क्षति बेहोरेको उनले बताए।
गत वर्ष वैशाखमा पनि हावाहुरीका कारण चितवनका किसानले करिब ५ करोड रूपैयाँ बराबरको केरामा क्षति बेहोरेका थिए। त्यसबापत् बीमा कम्पनीबाट पाउनुपर्ने करिब ५० प्रतिशत क्षतिपूर्ति रकम अझै प्राप्त हुन नसकेको केरा महासंघ नेपालका अध्यक्ष पन्त बताउँछन्।
उनका अनुसार चितवनका किसानले केरा खेतीमा करिब ६० करोड रूपैयाँ बराबरको बीमा गरेका छन्। शिखर इन्स्योरेन्सबाट मात्रै ५१ करोड ५० लाख रूपैयाँको बीमा गरिएको छ।
प्रतिबोट २७५ रूपैयाँ लागत मूल्य तोकेर बीमा गर्ने गरिएको छ। बीमा गरेको पहिलो ३ महिनामा क्षति पुगे ५५ प्रतिशत, ४ देखि ६ महिनामा ६५ प्रतिशत, ७ र ८ महिनामा क्षति हुँदा ७५ प्रतिशत र ९ देखि १२ महिनामा क्षति हुँदा सत प्रतिशत क्षतिपूर्ति दिनेगरी बीमाको व्यवस्था गरिएको छ। केराको बिरूवा रोपेको २ महिनाभित्रमा बीमा गरिसक्नुपर्ने र क्षति पुगेको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था छ।
'कति अवधिमा क्षति पुगेको हो त्यो हेरेर १० प्रतिशत कटाएर क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। तर बीमा कम्पनीले अघिल्लो वर्षकै ५० प्रतिशत क्षतिपूर्ति दिएको छैन,' अध्यक्ष पन्तले भने, 'कम्पनीले सरकारले प्रिमियम बापतको पैसा दिन नसकेकाले क्षतिपूर्ति रकम उपलब्ध गराउन नसकेको बताएको छ।'
नेपाल सरकारले बीमा अनुदान कार्यक्रममार्फत केरा खेतीको बीमाका लागि प्रमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो। किसानले २० प्रतिशत प्रिमियम शुल्क बुझाएर बीमा गरेका थिए।
'सरकारले बीमामा अनुदानको असाध्यै राम्रो कार्यक्रम ल्याएको थियो। हामी निकै उत्साहित थियौं। तर गत वर्षको अनुदानसमेत अझै पाउन नसक्दा सबै निराश छन्,' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन अन्तर्गतको केरा जोन कार्यक्रमका संयोजक पनि रहेका पन्तले भने, 'गत वर्षकै क्षतिपूर्ति नपाएको अवस्थामा यस वर्षको कहिले पाउने हो भन्ने कुराले झन् अन्योल बनाएको छ।'
उनले तत्काल नियमानुसार क्षतिपूर्ति नपाए केरा व्यवसायीहरू विस्थापित हुने खतरा रहेको बताए।
'आत्मनिर्भर बनिरहेको व्यवसायमा निराशा छाइरहेको छ,' पन्तले भने, 'निराशा हटाउन कम्तीमा बीमा रकम तुरून्तै उपलब्ध गराउनुपर्छ।'
पन्तले लगाएको ६ हजार बोट केरामा हावाहुरीले क्षति पुर्याएको छ।
खैरहनी-६ मा ११ बिघा जमिनमा केरा लगाएका पुष्क सिंहले ७० लाख रूपैयाँ बराबरको केरामा क्षति पुगेको बताए।
'फलेको केराजति सबै ढल्यो। अब बाँकी केही छैन,' उनले भने, 'बजार जान ठिक्क परेको बालीमा क्षति पुग्यो।'
चितवनका किसानहरूले मालभोग र जिनाइन जातका केराको खेती बढी गरिरहेका छन्।
उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र वलीले बीमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउन पहल गर्ने बताए।
'चितवनमा केरा खेती प्रोत्साहन गर्न उद्योग वाणिज्य संघले कार्यक्रम नै सञ्चालन गरेको थियो। अहिले प्राकृतिक विपत्तिका कारण क्षति पुग्दा हामीलाई दुःखी बनाएको छ,' उनले भने, 'क्षतिपूर्ति रकम उपलब्ध गराउन सरकार र बीमा कम्पनीको ध्यानाकर्षण गराउँछौं।'