राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र (नार्क)ले जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन विभिन्न प्रविधिको प्रयोग गर्नुपर्ने बताएको छ।
मंगलबार विश्व वातावरण दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा केन्द्रका वैज्ञानिकहरूले यस्तो बताएका हुन्।
सरकारले जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन स्मार्ट कृषि प्रविधिहरू सिफारिस गरिएको केन्द्रका प्रमुख डा.ध्रुवराज भट्टराईले जानकारी दिए।
'प्रविधिहरू छन् तर प्रचारप्रसार नहुँदा किसानसम्म पुग्न सकेको छैन,' उनले भने।
उनका अनुसार मौसम स्मार्ट, सिँचाइ स्मार्ट, खाद्य तत्व स्मार्ट, ऊर्जा स्मार्ट र एकीकृत शत्रुजीव व्यवस्थापन लगायतका स्मार्ट कृषि प्रविधिहरू सिफारिस गरिएको छ।
मौसम स्मार्टभित्र मौसम अनुकूल बालीका जातहरू, प्लाष्टिक घर वा संरक्षित खेती प्रविधि र मौसम बुलेटिन पर्दछ। सिँचाइ स्मार्ट अन्तर्गत वर्षाको पानी संकलन तथा प्रयोग र थोपा सिँचाइ पर्दछ।
त्यस्तै, खाद्यतत्व स्मार्ट अन्तर्गत हरियो मल, गोठ सुधार र भर्मीकम्पोस्ट मल लगायत पर्दछ। ऊर्जा स्मार्टमा शून्य खनजोत तथा सौर्य पम्प पर्दछ। बालीनालीमा लाग्ने किरा धपाउन घरेलु विषादी प्रयोग गर्नुपर्ने बताइएको छ।
जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन नसकेको सन् २०५० सम्म २.२५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जिडिपी) घट्न सक्ने बताइएको छ।
जलवायु परिवर्तनले ऋतु चक्रमा पनि परिवर्तन आइरहेकोले केही बालीहरू समय अगावै फुल फुल्ने, फल लाग्ने, रोग तथा किराको प्रकोप बढ्ने जस्ता समस्या देखिएको उनले बताए।