सरकारले यस वर्ष चितवनको बछौलीमा धान दिवस मनाउने भएको छ।
'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन लागिएको हो।
विगतका वर्षहरूमा भने खुमलटारमा मनाइँदै आएको थियो।
धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वि.स २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आइएको छ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार-प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरूलाई सचेत र जागरूक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश नाराले दिने विश्वास गरिएको छ।