आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा आउन थालेको छ।
कम्पनीले मुख्यगरी तीन किसिमका जैविक मल बजारमा ल्याएको छ।
ती झोल मल, दाना तथा पाउडर मल र किटनाशक औषधि हुन्। ग्राहकले झोल मल ६ प्रकारमा पाउँछन्। त्यस्तै, दाना तथा पाउडर मल चार प्रकारका पाउँछन् भने किटनाशक औषधि दुई प्रकारमा पाउन सक्छन्।
कम्पनीका अनुसार झोल मल एक लिटर र आधा लिटरको प्याकमा पाइन्छ। दाना तथा पाउडर मल दुई किलो र २५ किलोको बोरामा पाइन्छ भने किटनाशक औषधि आधा लिटर र दुई सय ५० मिलिटिरमा पाइन्छ।
ग्राहकले दाना तथा पाउडर मल प्रतिकिलो ६० रूपैयाँमा पाउँछन्। झोल मल र किटनाशक औषधिको मूल्य भने तोकिसकेको छैन।
२०७६ सालमा कम्पनी दर्ता भए पनि दुई वर्षपछि मात्रै कृषि मन्त्रालयको सचिवस्तरीय निर्णयले जैविक मल उत्पादन गर्ने कारखाना खोल्न अनुमति दिएको कम्पनीका सञ्चालक शैलेन्द्र शमशेर जंगबहादुर राणाले जनकारी दिए।
अनुमति पाएको दुई वर्ष अध्ययन गरेर उक्त मल बजारमा ल्याएको हो।
'दुई वर्षसम्म मलको विषयमा अनुसन्धान गरेर बजार ल्याएका छौं,' उनले भने, 'खेतीपातीको मौसममा सधैं मलको हाहाकार हुने समस्याको अब अन्त्य हुन्छ।'