बजारमा गोलभेँडाको मूल्य बढ्न थालेको छ।
असारको पहिलो साता उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा पाइरहेको गोलभेँडा अहिले एक सय रूपैयाँ माथि पुगेको सामाखुसीस्थित रानीबारी तरकारी बजारका व्यापारी सुनमाया श्रेष्ठले जानकारी दिइन्।
'खै उत्पादन नै छैन भन्छन्। हामीलाई ल्याउनै महँगो भएपछि महँगै बेच्न परिगो नि,' उनले भनिन्।
हाल बजारमा गोलभेँडाको थोक मूल्य प्रतिक्रेट १३ सय देखि १६ सय रूपैयाँसम्म पुगेको कालीमाटी तरकारी बजारस्थित बागमती कृषि सप्लायर्सका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
उनी गोलभेँडाको होलसेल व्यवसायी हुन्।
अहिले बजारमा गोलभेँडाको आपूर्ति घटेका कारण मूल्य बढेको उनको भनाइ छ।
'यसरी ह्वात्तै बढेको धेरै भएको छैन। एक साता भयो,' उनले भने।
पछिल्लो समय बजारमा गोलभेँडा पठाउन नसकेको गोदावरीस्थित एनएस ग्रुप अफ कम्पनीका सञ्चालक रेशमराज आचार्यले बताए।
'गोलभेँडा उत्पादन हुँदा मूल्य पाइएन। मूल्य पाउँदा उत्पादन छैन,' उनले भने।
१० दिन अघिसम्म उनले गोलभेँडा दैनिकजसो बजार पठाइरहेका थिए। अहिले भने सातामा गोलभेँडा पठाउन पनि गाह्रो भएको उनको भनाइ छ।
'१० दिन अघिसम्म हामीले दैनिक ८/१० क्रेट गोलभेँडा पठाइरहेका थियौं, उनले भने, 'अहिले दुई/तीन क्रेट पठाउन पनि सकिरहेको छैन।'
उनका अनुसार अहिले किसानले गोलभेँडा प्रतिक्रेट १४ सय देखि १६ सय रूपैयाँसम्ममा पाइरहेका छन्। यसअघि प्रतिक्रेट दुई सयदेखि पाँच सय रूपैयाँमा पाएका थिए।
काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउँछ।
खडेरीका कारण सबैतिरका गोलभेँडा एकैपटक बजारमा आउँदा मूल्य सस्तिएको थियो।
अहिले चितवनको गोलभेँडा निखारिँदै गएको छ भने बर्खाका कारण खुला क्षेत्रमा लगाइएको गोलभेँडा उत्पादन हुन सकेको छैन। बजारमा टनेलमा लगाइएको गोलभेँडा मात्रै आएकाले उत्पादन कम भई मूल्य बढेको रेशम बताउँछन्।
'अहिले उत्पादन कम छ। भारतबाट पनि आएको छैन,' उनले भने, 'त्यसैले मूल्य बढेको हो।'
यो समयमा गोलभेँडाको मूल्य गत वर्षहरूमा पनि बढ्ने गरेको उनको अनुभव छ।
'बर्खामा लागेपछि उत्पादन हुँदैन, त्यसैले गोलभेँडाको मूल्य बढ्छ नै,' उनले भने।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि गोलभेँडाको मूल्य बढेको देखाएको छ।
तथ्यांक अनुसार मंगलबार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो एक सयदेखि एक सय २० रूपैयाँ छ।
त्यस्तै, सानो लोकल गोलभेँडा ४० रूपैयाँदेखि ५० रूपैयाँ छ भने सानो टनेल गोलभेँडाको मूल्य प्रतिकिलो ५५ रूपैयाँदेखि ७० रूपैयाँ छ।
तथ्यांक हेर्दा असार १ गते नेपाली ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४० रूपैयाँदेखि ५० रूपैयाँ थियो।
भारतीय ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६० रूपैयाँदेखि ७० रूपैयाँ, थियो भने सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो १५ रूपैयाँदेखि २० रूपैयाँ थियो। त्यस्तै, सानो टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिले २२ रूपैयाँदेखि २८ रूपैयाँ थियो।
त्यसबीचका दिनहरूमा गोलभेँडाको मूल्य प्रतिकिलो पाँच/दश रूपैयाँले घटबढ हुँदै विस्तारै महँगिएको देखिएको छ।
समितिको तथ्यांकले पनि असार ५ गतेदेखि २२ गतेसम्म भारतीय गोलभेँडा आयात नभएको देखाउँछ। आइतबार भने भारतीय गोलभेँडा आयात भएको छ। तर सोमबार अर्थात् आज पनि भारतीय गोलभेँडा आयात भएको छैन।
आगामी दिनमा भारतीय गोलभेँडा आयात भएर मूल्य घट्ने सम्भावना कम रहेको रेशम बताउँछन्।
'अहिले एक/दुई दिन मात्रै हो आयात हुने। भारतमा पनि पानीले उत्पादनमा धेरै असर गरेको छ,' उनले भने, 'बरू हाम्रो टनेलको गोलभेँडा निस्कन थालेपछि मूल्य घट्न पनि सक्छ। आवश्यकता परे निर्यातै पनि गर्न सक्छौं।'
गत साउनमा भारतमा खराब मौसम तथा रोगकीराका कारण गोलभेँडाको उत्पादन खस्किँदा मूल्य बढ्न थालेपछि नेपालबाट निर्यात भएको थियो।