पछिल्लो समय मुलाको मुल्य घट्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको देखाएको हो।
समितिको तथ्यांक अनुसार बजारमा सेतो मुला दुई प्रकारका आउँछन्। ती सेतो लोकल मुला र सेतो हाइब्रिड मुला हुन्।
तथ्यांकले हाइब्रिड मुलाको मूल्य आइतबारको तुलनामा मंगलबार प्रतिकिलो २० रूपैयाँले घटेको देखाएको छ।
आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा हाइब्रिड मुला प्रतिकिलो थोक मूल्य ७० देखि ८० रूपैयाँ थियो। आज मंगलबार ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै, सेतो लोकल मुलाको मूल्य पनि आइतबारको तुलनामा प्रतिकिलो १० रूपैयाँले घटेको छ।
आइतबार प्रतिकिलो ५० रूपैयाँदेखि ६० रूपैयाँ थोक मूल्यमा बिक्री भएको मुला मंगलबार ४० देखि ५० रूपैयाँ तोकिएको समितिको तथ्यांकले देखाएको छ।
बजारमा मुलाको आपूर्ति बढ्न थालेसँगै मूल्य घट्न थालेको कालीमाटी तरकारी बजारका व्यवसायी भीम श्रेष्ठले बताए।