बजारमा हरियो धनियाँको मूल्य घट्न सकेको छैन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार दुई दिनदेखि हरियो धनियाँको होलसेल मूल्य किलोमा पाँच सय रूपैयाँ छ।
गत बिहीबार सोही मूल्य कायम भएको हरियो धनियाँ शुक्रबार ५० प्रतिशतले घटेर दुई सयदेखि दुई सय ५० रूपैयाँ किलोमा झरेको थियो।
आइतबार प्रतिकिलो ५० रूपयाँ वृद्धि भएर दुई सय ५० देखि तीन सय रूपैयाँमा कारोबार भएको समितिको तथ्यांकले देखाएको छ। उक्त मूल्य मंगलबारसम्म कायम भए पनि बुधबार दोब्बरले वृद्धि भएर ४ सय ५० देखि पाँच सय रूपैयाँ किलो नै पुगेको छ। बिहीबार पनि सोही मूल्य कायम भएको छ।
निरन्तर बर्खाका कारण माग अनुसारको आपूर्ति नहुँदा हरियो धनियाँको भाउ बढेको फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
'बजारमा हरियो धनियाँ नै छैन। पानीले सबै कुहिएर धेरै आएको छैन,' उनले भने।
हरियो धनियाँ दैनिक रूपमा घरायसीदेखि व्यवसायिक रूपमा खपत हुन्छ। होटल तथा रेष्टुरेन्टको लागि धनियाँ अति आवश्यक पर्ने भएकाले यसको मूल्य घट्न नसकेको उनी बताउँछन्।
'सानादेखि ठूला होटलसम्म हरियो धनियाँ चाहिन्छ। माग बढी भएकाले मूल्य घट्न नसकेको हो,' उनले भने।
उनका अनुसार बजारमा अहिले मागको २५ प्रतिशत धनियाँ पनि बजारमा आएको छैन।
समितिको तथ्यांक हेर्दा गत वर्षको तुलनामा अहिले झण्डै दोब्बरले धनियाँको मूल्य बढेको देखिन्छ।
गत वर्ष यो सिजनमा हरियो धनियाँको होलसेल भाउ प्रतिकिलो एक सय रूपैयाँदेखि दुई सय ५० रूपैयाँ थियो।
हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको व्यवसायीहरूले बताएका छन्।