बजारमा काँक्रोको भाउ घट्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा काँक्रो लोकल र हाइब्रिड गरी दुई प्रकारका आउँछन्।
समितिको तथ्यांक हेर्दा मंगलबारको तुलनामा बुधबार काँक्रो थोक मूल्य प्रतिकिलो १० देखि २० रूपैयाँले घटेको छ।
मंगलबार लोकल काँक्रो ८० देखि एक सय रूपैयाँ र हाइब्रिड काँक्रो ४० देखि ५० रूपैयाँ कारोबार भएकोमा बुधबार लोकल काँक्रो थोक मूल्य प्रतिकेजी ६० देखि ८० रूपैयाँ र हाइब्रिड काँक्रो ३० देखि ४० रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा काँक्रोको माग घटेकाले मूल्य घटेको कालीमाटी बजारका थोक व्यवसायी काजी बहादुर कुँवरले जानकारी दिए।
'अहिले भोजहरू केही नभएकाले माग घटेको छ। त्यसैले मूल्य पनि घटेको हो,' उनले भने।
उनका अनुसार हाल कालीमाटी बजारमा काँक्रो फर्पिङ, टिस्टुङ–पालुङ, धादिङ, नुवाकोट लगायतका ठाउँबाट आउने गरेको छ।