अहिले बजारमा तरकारीको भाउ थोरै घट्न थालेको छ।
आपूर्ति बढेकाले भाउ घटेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
'थोरै आपूर्ति बढेकाले त्यही अनुपातमा मूल्य पनि घटेको छ,' उनले भने, 'अझै घट्न सक्छ।'
उनका अनुसार पछिल्लो एक सातदेखि तरकारीको भाउ घट्न थालेको हो।
अहिले गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि तरकारीको मूल्य घटेको देखाउँछ।
समितिको तथ्यांक हेर्दा एक सातामा घिउ सिमीको मूल्य प्रतिकिलो एक सय रूपैयाँले घटेको छ।
गत शुक्रबार सिमी प्रतिकिलो थोक मूल्य एक सय ५० देखि दुई सय रूपैयाँमा कारोबार भएको थियो।
एक सातापछि प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, राजमा सिमीको मूल्य पनि थोरै घटेको छ।
गत साता शुक्रबार राजमा सिमी एक सय ४० देखि एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
आज प्रतिथोक एक सय ३० देखि एक सय ४० रूपैयाँमा कारोबार भएको छ।
रायोको सागको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतिथोक मूल्य एक सय ५० देखि दुई सय रूपैयाँमा कारोबार भएको साग आज ६० देखि ७० रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, गत शुक्रबार बोडी, भान्टा, तितेकरेला, लौका, परवल, घिरौला, चिचिन्डो, भिण्डी लगायतका तरकारीको थोक मूल्य प्रतिकिलो एक सय रूपैयाँ माथि थियो।
आज ती तरकारीको होलसेल मूल्य ४० देखि ७० रूपैयाँसम्म छ।
होलसेलमा तरकारीको मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ।
पहिले होलसेल एक सय रूपैयाँभन्दा बढीमा बिक्री भइरहेका तरकारी अहिले उपभोक्ताले ६० देखि ७० रूपैयाँमा पाइरहेको कालीमाटी बजारका खुद्रा व्यवसायी कृष्ण प्रसाद पौडेलले जानकारी दिए।