सल्यानको बागचौर नगरपालिका–११, रातामाटा टोलका ६० वर्षीय बुद्धिराम वलीले यसपटक एक ठाउँमा ४ रोपनी र अर्को एक ठाउँमा १ रोपनी गरी पाँच रोपनी जमिनमा बर्खे आलुको खेती गरेका छन्। बुद्धिराम र उनकी ५५ वर्षीया श्रीमती रिते वली मिलेर खेतीमा खट्छन्।
दुई छोरामध्ये जेठा बैंकमा जागिरे छन्, कान्छा जापानमा छन्। यी दुबैले आफ्ना परिवार साथमै लगेका छन्। दुई छोरीको बिहे भएर आआफ्ना घरमा छन्।
घरमा बुद्धिराम र रिते मात्रै छन्। छोराहरू खेतीमा दुःख नगर्नू भन्छन् तर कुरो बुद्धिरामको चित्तमा लाग्दैन।
‘छोराहरू खेतीको काम गरेर किन दुःख बेसाउनुहुन्छ भन्छन् तर हाम्रो मन मान्दैन,’ उनी भन्छन्, ‘हामी आफूले जानेको खेतीपाती गरिरहन्छौं। त्यसै बसेर समय खेर फाल्नुभन्दा सकुन्जेल आफैले आर्जन गर्नुपर्छ।’
गत चैतमा पाखो बारीमा रोपेको आलु खनेर निकाल्न धमाधम छ। एक हप्ताभित्र सबै निकालिसकिने बुद्धिरामले बताए। गत वर्ष उनले ७५ क्विन्टल (सात हजार पाँच सय किलोग्राम) आलु बेचेका थिए। यस वर्ष अझै बढी फल्ने र बढी फाइदा हुने उनको अपेक्षा छ।
बुद्धिराम पहिले पाखो बारीमा गहुँ र जौ लगाउँथे। केही वर्षयता आलु लगाउँदैछन्।
उनले भने, ‘एक रोपनीमा एक मुरी गहुँ फल्थ्यो। त्यही जग्गामा १६ क्विन्टलसम्म आलु फल्छ।’
यसरी व्यावसायिक रूपमा आलुखेती गरेको २० वर्षभन्दा बढी भयो।
दाङबाट राप्ती राजमार्ग सल्यान हुँदै रूकुम पुगेपछि स्थानीय उत्पादनले बजार पाएको छ।
बुद्धिरामले भने, ‘पहिला परिवारमा खान मात्रै खेती गरिन्थ्यो। व्यावसायिक रूपमा आलुखेती सुरू गरेपछि गहुँ र जौ लगाउन छाड्यौं।’
उनी आलु रोपेकै जग्गामा चैतमा मकै पनि रोप्छन्। एउटा ड्याङमा आलु र अर्कोमा मकै हुर्किन्छ। यति बेला किसानहरू धमाधम आलु निकाल्दै छन्, मकैले चौर (धान चमर लागेको वा फूल लागेको) खेलेको छ।
बुद्धिरामका अनुसार सबै घरखर्च कटाएर बर्खे आलुबाट मात्र उनी कम्तीमा ५० हजार रुपैयाँ बचत गर्छन्। मकै उत्पादन छँदैछ। सिजनअनुसार तरकारी खेती पनि गर्छन्।
‘आजसम्म हामीलाई छोराबुहारीको मुख ताक्नु परेको छैन,’ उनी भन्छन्, ‘हामी बुढाबुढीको आलुखेतीबाट सबै घरखर्च आनन्दले चल्छ, बचत पनि हुन्छ।’
आलुखेतीकै आम्दानीले छोराछोरी पढाउन र विदेश पठाएको पनि उनले बताए।
बागचौरकै वडा नम्बर १२ का ४९ वर्षीय खगेन्द्र खत्री र उनकी पत्नी ४७ या ईश्वरीले २० रोपनी जमिनमा आलुखेती गरेका छन्। उनीहरूको आफ्नो ४० रोपनी जग्गा छ। गहुँ, जौ र अदुवाको खेती पनि गर्छन्। एक सय बोट कागती लगाएका छन्।
परिवारको सबै खर्च यही जमिनको आम्दानीले चलेको छ। तीन छोरामा दुई जना विद्यालयमा पढाउँछन्। एक जना पढ्दै छन्। खगेन्द्र र ईश्वरी खेतीमा व्यस्त रहन्छन्।
खगेन्द्र भन्छन्, ‘हामी धेरै काम आफै गर्छौं। कामको चाप धेरै हुँदा ज्यालादारी मान्छे लगाउँछौं।’
खत्री दम्पतीले पनि आलुखेती गरेको दुई दशक नाघ्यो। खगेन्द्रले २०४८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे तर त्यसपछि बुबाको निधन भएकाले पढ्न पाएनन्। खेतीमा राम्रो उन्नति गरेका छन्।
उनी आफ्नो जमिनमा हरेक वर्ष बाली अदलबदल गर्छन्। एक वर्ष आलु लगाएपछि अर्को वर्ष गहुँ वा जौ लगाउँछन्। अदुवा रोपेको ठाउँमा पनि अदलबदल गर्छन्।
उनी भन्छन्, ‘एकै ठाउँमा लगातार एउटै खेती गर्दा उत्पादन राम्रो हुँदैन। अदलबदल गर्दा जमिन उर्वर रहन्छ।’
खत्री दम्पतीले गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले एक सय क्विन्टल आलु बेचे। बिउ आलु क्विन्टलको पाँच हजारका दरले २५ क्विन्टल बेचे।
सबै खर्च कटाएर चार लाख रुपैयाँ बचाएको खगेन्द्रले बताए। यस वर्ष उत्पादन बढेको छ।
यस वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले ४० क्विन्टल बेचिसके। खगेन्द्र भन्छन्, ‘यो वर्ष खाने आलु मात्रै दुई सय क्विन्टल पुग्छ कि भन्ने आशा छ। बिउ आलु पनि गत वर्षभन्दा धेरै हुन्छ होला।’
यस वर्ष सबै खर्च कटाएर कम्तीमा ६ लाख रुपैयाँ बचत हुने उनको अनुमान छ।
खगेन्द्र खासगरी बर्खे आलु खाने आलुका रूपमा बिक्री गर्छन्। यो आलु चैत अन्तिमतिर मकैसँगै लगाउँछन्।
भदौ अन्तिम वा असोजतिर रोपेर मंसिर वा पुसमा निकाल्ने आलु बिउमा प्रयोग गर्छन्। माघमा रोपिने बसन्ते आलु हो जो चैत अन्तिमसम्ममा निकाल्न तयार हुन्छ।
खगेन्द्रका अनुसार व्यावसायिक रूपमा आलुखेती गर्न थालेपछि स्थानीयबासीहरू गाउँघरमै रमाउन थालेका छन्। आलुबाट राम्रो आर्जन हुने गरेको छ।
‘पहिला गहुँ, जौ वा अदुवा लगाएर कालापहाड (भारत) तिर कमाउन जाने चलन थियो,’ उनले भने, ‘आलुखेती सुरू गरेपछि बागचौरका बासिन्दा कालापहाड जान छाडेका छन्।’
खगेन्द्रले गत वर्ष पानी ट्यांकी बनाउन ५० प्रतिशत अनुदान बापत जिल्ला कृषि विकास कार्यालयबाट एक लाख रुपैयाँ पाए। दुई लाख रुपैयाँमा पानीट्यांकी तयार भयो। अहिले त्यही ट्यांकीमा जम्मा भएको पानीबाट सिँचाइको प्रबन्ध गरेका छन्। यो अनुदान संघीय सरकारको हो।
उनले ६ वर्षअघि ‘आलु फर्म’ दर्ता गराएका थिए।
खगेन्द्रका अनुसार २०५६ सालतिरको कुरा हो, रोजगारीका लागि कालापहाड जानेहरूले त्यतैबाट आलुको बिउ ल्याएर परीक्षणका लागि रोपेका थिए। त्यो आलु निकै राम्रै उत्पादन भयो। त्यसपछि मानिसहरू बिस्तारै आलुखेतीमा लागे।
वडा नम्बर १२ बाफुखोलाका ५० वर्षीय डिल्ली ओली कामका लागि हरेक वर्ष भारतको सिमला जान्थे। आलुखेती सुरू गरेपछि उता जान बन्द भएको छ। उनी हरेक वर्ष कम्तीमा ७० क्विन्टल आलु बेच्छन्।
गत वर्ष उनले सबै खर्च कटाएर पाँच लाख रुपैयाँ बचाए।
बाफुखोलाकै ४६ वर्षीय वीरसिंह ओलीले गत वर्ष वार्षिक ४० क्विन्टल आलु बेचेर तीन लाख रुपैयाँ बचाए।
२०६५ सालमा बागचौरमा मोटर पुग्यो। मोटर पुगेपछि त्यहाँको आलुले दाङ र तराईका अन्य जिल्लामा बजार पायो। किसानले राम्रो मूल्य पाए। त्यसबाट उत्साहित किसानहरू व्यावसायिक रूपमा आलुखेतीमा लागे।
बागचौर नगरपालिका सल्यान जिल्लामै सबैभन्दा बढी आलु उत्पादन हुने ठाउँ हो। वडा नम्बर ११ र १२ मा करिब ६ सय घरपरिवारले एक हजार हेक्टरभन्दा बढी जग्गामा आलुखेती गरेको जनाइएको छ।
वडा नम्बर ११ का वडाध्यक्ष केशबहादुर भण्डारीका अनुसार दुई वडाका किसानले आलु बेचेर एक वर्षमा कम्तीमा १२ करोड रुपैयाँ भित्र्याए।
वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम ओलीका अनुसार किसानहरूले बर्खे आलुबाट बढी लाभ लिने गरेका छन्। उनले व्यावसायिक रूपमा आलुखेतीबाट किसानको आम्दानी बढेको बताए।
उनले भने, ‘यहाँका किसान रोजगारी खोजीमा बालबच्चासमेत साथमा लिएर कालापहाड जानुपर्ने बाध्यता थियो। आलुखेती गर्न थालेपछि र मोटरबाटो आएपछि कालापहाड जाने क्रम रोकिएको छ।’
बागचौर नगरपालिकाको कृषि विकास शाखाका अधिकृत हेमराज बस्नेतका अनुसार सबैभन्दा बढी आलु उत्पादन हुने वडा नम्बर ११ र १२ मै हो।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि आलुखेती गर्ने किसानको तथ्यांक संकलन गर्दै आएको छ।
कृषि विकास शाखाका अनुसार उक्त वर्ष नगरपालिकाका १२ वटा वडामा करिब १२४ रोपनी क्षेत्रफलमा आलुखेती भएको थियो। उत्पादन एक हजार सात सय क्विन्टल भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा २१९ रोपनी जमिनमा करिब तीन हजार १०० क्विन्टल आलु फल्यो।
नगरपालिकाले आलु उत्पादन गर्ने किसानलाई कुनै किसिमको अनुदान दिने गरेको छैन। किसानको मागअनुसार कृषि प्राविधिक भने पठाउने गरेको छ।
संघ सरकारले यहाँका किसानलाई बिउआलु उत्पादन, सिँचाइ ट्यांकी निर्माण, भण्डारण लगायतमा ५० प्रतिशत अनुदान दिने गरेको थियो। आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले ५० प्रतिशत अनुदान बापत १५ लाख ५० हजार रुपैयाँ पठाएको थियो।
हाल यो अनुदान बन्द छ।
किसान आलुखेतीमा आकर्षित हुनुको कारण बिउ उत्पादनमा जिल्ला कृषि विकास कार्यालयको सहयोग पनि मानिएको छ। जिल्ला कृषि विकास कार्यालयले आलुको बिउ उत्पादनमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएको छ।
जिल्ला कृषि विकास कार्यालय, सल्यानका प्रमुख रमेश बस्नेतका अनुसार उक्त कार्यालयले २०७७ देखि आलुखेती हुने मुख्य ठाउँ बागचौरका वडा नम्बर ११ र १२ मा तीन वर्ष ‘आलु ब्लक’ कार्यक्रम चलाएको थियो। हाल यो कार्यक्रम वडा नम्बर ४ मा सारिएको छ। यसअन्तर्गत किसानले बिउआलु खरिदमा ५० प्रतिशत अनुदान पाउँछन्।
वडा नम्बर ११ र १२ भने जिल्ला कृषि विकास कार्यालयले तालिम कार्यक्रम चलाएको छ। सिँचाइका लागि मोटर खरिद र पिबिए (प्रि–ब्रिडिङ सिड) अनुदान सुरू गरेको छ।
उक्त कार्यालयले वडा नम्बर २ मा आलु भण्डारणका लागि घर बनाइदिएको छ। उक्त घरमा किसानहरूले बिउआलु भण्डारण गर्ने गरेका छन् जहाँ सय क्विन्टल आलु भण्डारणको क्षमता छ।
बस्नेतका अनुसार सल्यानमा एक हजार ७०० मिटरदेखि एक हजार ८५० मिटरसम्म उचाइमा आलु उत्पादन राम्रो हुने गरेको छ।
सल्यानको त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकामा पनि केही मात्रामा आलुखेती हुने गरेको छ।
बस्नेतले पछिल्लो एक वर्षमा सल्यान जिल्लाबाट २८ करोड १२ लाख रुपैयाँ बराबरको आलु अन्य जिल्लामा गएको बताए। जिल्लाभरमा ७९ हजार ४२५ क्विन्टल आलु उत्पादन भएको थियो।
तस्बिरहरू : झग्गु भण्डारी