मंगलबार राति आएको बाढीका कारण बल्खु तरकारी बजारमा चार करोड मूल्य बराबरको क्षति भएको व्यवसायीहरूले बताएका छन्।
बजार सञ्चालक मोहन बस्नेतका अनुसार किराना, आलु प्याज, अदुवा, लसुन, तरकारी, फलफूल तथा मसलाजन्य (जिरा, धनियाँ) पसलमा सो मूल्य बराबरको क्षति भएको हो।
'धेरैजसो सामान बगाएर लगेको छ। बाँकी रहेका सामान पनि पानीले काम नलाग्ने भएका छन्,' उनले भने।
किराना पसलमा एक करोड, मसलाजन्य पसलमा २० लाख, तरकारी पसलमा दुई करोड बढी, र फलफूल पसलमा १५ देखि २० लाखको क्षति भएको व्यवसायीको अध्ययनले देखाएको छ।
उनका अनुसार बल्खु बजारमा मसलाजन्य पसल चार सय, किराना पसल पाँच, आलु–प्याज पसल १५, अदुवा–लसुन पसल १३ र फलफूल पसल तीन वटा छन्।
बाढीले फलफूल तथा तरकारीमा क्षति पुर्याउनुका साथै गाडी, ट्रक, मोटरसाइक लगायतका ढुवानी साधन पनि पानीले डुबाएको उनले जानकारी दिए। पानीले दुइटा जेनेरेटरमा क्षति पुर्याएको छ।