लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दूधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहीबार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ६/७ महिनादेखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै तत्काल भुक्तानी दिन निर्देशन दिएका हुन्।
बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले किसानलाई २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
‘तपाईंहरूसँग छलफल गर्न चाहन्थेँ। किसानले दुधको भुक्तानी नपाउँदा समस्या परेको छ। मकहाँ पनि किसानको कुरा आइपुगेको छ। दुधको भुक्तानी रोकिँदा चौतर्फी असर परेको छ। छिटो भुक्तानी गर्नुहोस्,’ उनले भने, ‘किसानको भुक्तानी रोकेर राख्न हुँदैन। म संघीय सरकारसँग पनि यस बारेमा पहल गर्छु।’
गत पुस महिनायता किसानले दुधको भुक्तानी नपाएको गुनासो गर्दै आएका छन्।
दुग्ध विकास संस्थानले दुधको भुक्तानीका लागि अर्थ मन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ।
छलफलका क्रममा ग्रामीण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्ने गरी प्रदेश सरकारले योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरेका थिए।
भेटमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीले दूधमा आत्मनिर्भरताको लागि नेपालगन्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका थिए।
सोही आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेशमा समेत गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएका छन्।
तर, किसानले भने दुध उत्पादन बढ्दै गए पनि बजारीकरणको समस्या भोग्नु परेको गुनासो गर्दै आएका छन्।
आयोजनामा असोज महिनादेखि चैतसम्म दैनिक आठ हजार लिटर दूध संकलन हुने गरेको जानकारी दिइएको थियो। असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढे पनि बजारीकरण गर्न समस्या हुँदा मिल्क होलिडेको मारमा आफूहरू रहेको किसानले बताएका थिए। तर, वैशाखदेखि भदौ महिनासम्म दुध संकलन ह्वात्तै घट्ने हुँदा बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने कुरा किसानले गरेका थिए।
वैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुँदा बजारको माग धान्न नसक्ने अवस्था रहने पनि उनीहरूले बताएका थिए। दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरीगाउँ चिस्यान केन्द्रबाट दुध संकलन गर्दै आएको छ।
त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतको छिन्छु दुग्ध चिस्यान केन्द्र र बाँकेको कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको हो। जहाँ एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध बिक्रीवितरण गर्दै आएका छन्।
प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्न सक्ने उद्योगको क्षमता छ। हाल दैनिक १२ हजार लिटर दुध संकलन हुँदै आएको आयोजना कार्यालयले जानकारी दिएको थियो। साथै दुधको सहज बजारीकरणको लागि पाउडर प्लान्ट निर्माणको प्रस्ताव पनि गरिएको छ।