कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताएका छन्।
कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जन विषयक आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरी कृषि विकास आवश्यक रहेको बताएका हुन्।
मुलुक संघीयतामा जानु अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकूल परिमार्जन गरिनुपर्ने मन्त्री अधिकारीको भनाइ छ।
मन्त्री अधिकारीले संघीयता लागु भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन नसकिएको बताए।
कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेको उनको भनाइ छ।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा छ। रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरूबीच छलफल गरी सुझाव लिएको छ।
पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य सुरू गरेको छ।