बजारमा च्याउको मूल्य बढेको छ। च्याउ उत्पादनमा समस्या आएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।
अहिले बजारमा च्याउ डल्ले, कन्य, राजा र सिताके गरि चार प्रकारका पाइन्छ। च्याउको प्रकार अनुसार मूल्य फरक हुन्छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा आइतबार डल्ले चार सयदेखि चार सय ५०, कन्य ८० देखि एक सय, राजा दुई सय ८० देखि तीन सय र सिताके च्याउ प्रतिकिलाे थोक मूल्य आठ सयदेखि एक हजार मूल्यमा कारोबार भइरहेको छ।
एकसातादेखि डल्ले च्याउको मूल्य बढ्न थालेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए।
‘डल्ले च्याउ उत्पादन गर्ने एउटा फार्ममा समस्या आएर मूल्य बढेको हो,’ उनले भने, ‘समाधान हुनेबित्तिकै फेरि घट्न थाल्छ।’
उनका अनुसार हाल यहाँ डल्ले च्याउ उत्पादन गने करिब दश वटा फर्म छन्। अहिले च्याउको माग भएका कारण एउटा फार्ममा समस्या आउँदा पनि मूल्यमा असर गर्छ।
‘विवाह ब्रतबन्धको लगनले गर्दा च्याउको माग छ,’ उनले भने।
डल्ले च्याउको मूल्य बढेपनि कन्य च्याउको मूल्य भने अत्यधिक घटेको उनी बताउँछन्। उनका अनुसार दुई महिनादेखि कन्य च्याउको मूल्य ओरालो लागेको हो। अहिले किसानले लागत मूल्यभन्दा कममा कन्य च्याउ बेचिरहेको बताए।
‘कन्य च्याउमा ३० देखि ४० रूपैयाँ घाटा खाइरहेका छौं,’ उनले भने।
उनका अनुसार एक किलो कन्य च्याउ उत्पादन गर्न किसानले ९० रूपैयाँ खर्चिनु पर्छ। तर बजारमा बेच्दा भने ५० देखि ६० रूपैयाँ पाइरहेका छन्।
‘लागत नउठ्दा धेरै किसान पलायन भइसके,’ उनले भने।