गत भदौमा सम्पन्न नाडा अटो शोमा टाटाले नयाँ ‘हेक्जा एक्स टी ४×४’ सार्वजनिक गर्यो। सार्वजनिक हुनेबित्तिकै राम्रो चर्चा कमाएको हेक्जाको विक्री वितरण भने गत हप्ता देखि मात्र सुरु भएको हो।
सिप्रदीले हेक्जा ल्याउने तयारी पुरा नहुँदै नाडा शोबाटै आफ्नो नयाँ गाडीको बारेमा जानकारी दिने उद्देश्यले भारतमा ‘प्रमोस्नल’ सुटिङमा प्रयोग गरिएको गाडी ल्याएको थियो।
नाडा अटो शोमा हेक्जा सार्वजनिक गर्ने वित्तिकै २ सयभन्दा धेरै इन्क्वायरी आएको सिप्रदी ट्रेडिङ ‘प्यासेन्जर भेइकल बिजनेस युनिट’का जनरल म्यानेजर प्रविन खतिवडाले जानकारी दिए।
त्यस्तै कम्पनीले हेक्जाको बिक्री सुरु गर्नु १ हप्ता मात्र बाँकी हुँदा बुकिङ खुला गरेको थियो। त्यो अवधिमा १५ वटा बुकिङ भए पनि गाडी भने १२ वटा भन्दा थिएन। जसमध्ये एउटा शोरुममा राख्नै पर्ने बाध्यता भएको कारण ११ जनाले मात्र गाडी पाउन सकेको उनले जानकारी दिए।
हेक्जा नेपालको सडकमा भर्खरै आए पनि भारतमा भने ८ महिना अगाडिबाटै गुड्न थालेको हो। भारतमा यसको रिभ्यु निकै राम्रो भएको कम्पनीले जनाएको छ।
यसको मूल्य निर्धारण गर्न आफूहरुलाई ३–४ महिना लागेको जनरल म्यानेजर खतिवडाले बताए। ‘यो गाडी ७७ लाख ९५ हजारमा बेच्नेगरी ल्याउन सकिन्छ कि सकिँदैन भनेर हामीले धेरै छलफल गर्यौँ, टप भेरियन्टको गाडी भएकाले यति कम मूल्य तोक्न हामीलाई निकै गाह्रो पर्यो’ सेतोपाटीसित उनले भने ‘यत्तिको गाडी अरु कम्पनीले ल्याएको भए ८५ लाख भन्दा तल हुँदैनथ्यो।’
कम्पनीले हेक्जा यो प्याकेजभित्र ‘भ्यालु फर मनी’ कार भएको दावी गरेको छ। ७७ लाख ९५ हजार मूल्य सुन्दा महँगो लाग्ने गरे पनि यसमा प्रयोग भएको सामान, यसको क्षमता, प्रविधि राम्रोसँग बुझ्ने हो भने निकै सस्तो रहेको कम्पनीले जनाएको छ। यो डिसेम्बर भित्रमा ३० देखि ४० वटा हेक्जा डेलिभर गर्ने लक्ष्य कम्पनीले लिएको छ।
हेक्जामा २.२ लिटरको डिजल इन्जिन समावेश छ। १५६ पिएस पावरले ४०० एनएममा टर्क उत्सर्जन गर्छ। यो ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। यसमा ६ एयर ब्याग जडान गरिएको छ। एन्टी लकिङ ब्रेकिङ सिस्टम समेत रहेको छ।
यात्रा रोमान्चक बनाउनको लागि हेक्जामा संसारका टप क्लास गाडीमा प्रयोग गरिने ‘हर्मन कार्डन’को म्युजिक सिस्टम जडान गरिएको छ, जसलाई भ्वाइस कमाण्डबाट नियन्त्रण गर्न सकिन्छ। त्यसैगरी यसमा १० स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ।
मुख्य विशेषता भनेको यसमा ‘हिल होल्ड कन्ट्रोल’ छ, जसले गर्दा उकालोमा गाडी रोकेपछि फेरि अगाडि बढाउनु पर्दा ब्याक भएर दुर्घटना हुने सम्भावना न्यून हुन्छ। त्यस्तै ‘हिल डिसेन्ट कन्ट्रोल’ छ जसले ओरालोमा गाडी चलाउँदा हुत्तिने समस्या हुँदैन।
सामान्यतया गाडीमा एसी अगाडिको सिटमा मात्र प्रभावकारी हुन्छ तर हेक्जामा सबै प्यासेन्जरको लागि अर्थात ‘इन्डिभिज्योल एसी भेन्ट’ छ।
त्यस्तै यसको अर्को महत्वपुर्ण फिचर्स भनेको ‘टर्क अन डिमान्ड’ हो। गाडी फँस्यो भने चक्का घुमेको घुम्यै गरेर गाडी ननिस्कने हुन्छ तर यो फिचर्सले घुमेको चक्काबाट टर्क हटाएर अर्को चक्कामा पावर लागाइदिन्छ, गाडी सजिलै बाहिर निस्कन्छ।
यसमा रहेको ‘क्रुज कन्ट्रोल’ मोडमा निश्चित स्पिड सेट गरेपछि सिधा र फराकिलो बाटोमा एक्सिलेटर नथिची गाडी चलाउन सकिन्छ। यात्रा आरामदायक बनाउन यसमा अमेरिकन कम्पनीको ७ जना अट्ने उच्चस्तरीय सिट प्रयोग भएको छ। सबै सिट एट्जस्टेवल छ। सेग्मेन्टमै ठूलो १९ इन्चको अलोए ह्वील समेत यसमा प्रयोग गरिएको छ।
हेक्जाको अर्को महत्वपूर्ण पक्ष भनेको ‘सुपर ड्राइभ मोड’ हो। यसले चालकहरुलाई अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार चलाउन सक्ने विशेषता दिएको छ। यसको ग्राउण्ड क्लियरेन्स २ सय ९ मिलिमिटर रहेको छ, जो नेपालको बाटो सुहाउँदो हो।
त्यसैगरी यसमा मिनी फ्रिज, एड्जस्ट स्ट्यरिङ, अटोमेटिक सेन्सर हेड ल्याम्प, अटो रेन सेन्सिङ वायपर, मुड ल्याम्प लगायतका फिचर्स समावेश छन्।