रोयल इनफिल्डले महिला सशक्तिकरण र साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले  ‘मिस्टिक मुस्ताङ राइड’ नामक मोटरसाइकल यात्रा सुरु गरेको छ।
काठमाडौंदेखि मुस्ताङसम्म चार दिन चल्ने यो अभियानमा पाँच जना महिला राइडरहरू सहभागी हुने छन्। 
उनीहरूले नेपालको विविध भू–परिदृश्य, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य पार गर्दै साहसिक यात्राको अनुभव साट्नेछन्। 
कम्पनीका अनुसार ‘मिस्टिक मुस्ताङ राइड’ केवल एक मोटरसाइकल यात्रा मात्र नभई महिला राइडरहरूलाई मोटरसाइक्लिङमा सहभागी हुन प्रेरित गर्ने अभियान पनि हो।
यसले मोटरसाइकल संस्कृतिमा समावेशिता र समान अवसरको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ।
यात्राका क्रममा सहभागी महिला राइडरहरूले काठमाडौंका व्यस्त सडकदेखि मुस्ताङका शान्त र हिमाली दृश्यसम्मको अनुभव लिँदै स्थानीय समुदायसँग अन्तर्क्रिया गर्ने र मुस्ताङको अनौठो संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन्।
रोयल इनफिल्डले यस यात्रामार्फत नेपाललाई दक्षिण एसियाको प्रमुख मोटरसाइकल पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गर्ने र नयाँ पुस्ताका महिला साहसिक यात्रुहरूलाई प्रेरित गर्ने उद्देश्य लिएको जनाएको छ।