स्वरूप परिवर्तन गरेर चलाइने मोटरसाइकलको आवाजले ध्वनी प्रदूषण बढाउने गरेको छ।
विशेष गरेर रोयल इन्फिल्ड (बुलेट बाइक), पल्सर लगायतका मोटरसाइकल चलाउने युवाहरूले स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने बनाउने गरेका छन्।
गत भदौ २३ र ३४ गतेको जेन–जी आन्दोलनमा त यस्ता मोटरसाइकलको जगजगी नै भयो। कानै खाने आवाज निकाल्ने मोटरसाइकलले समाजलाई त्रस्त पार्यो। त्यो अवस्था दुई दिनमा सीमित रहेन। दसैं, तिहारमा मोटरसाइकल पड्काएको आवाज झनै धेरै सुनियो।
यो अवस्थालाई नियन्त्रणमा लिन चितवनमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा विशेष अभियान सञ्चालन गरिरहेका छन्। त्यो अभियानको नाम हो ‘अपरेसन एम्बुसिङ एण्ड ट्र्यापिङ’।
जिल्ला प्रहरी प्रमुख एसपी गोबिन्द पुरीकाअनुसार अपरेसन एम्बुसिङ एण्ड ट्र्यापिङ ध्वनी प्रदूषण गर्ने मोटरसाइकललाई कुनै पनि क्षेत्रभित्र पारेर सुरक्षित तरिकाले समात्ने अभियान हो। जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त अपरेसनबाट अहिलेसम्म ४० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको पुरीले बताए।
‘जेन–जी आन्दोलनमा मोटरसाइकल पड्काएर आतंकित पारिएको थियो। त्यसपछि पनि मान्छेलाई सुत्न, हिँड्न पनि समस्या हुनेगरी समाजलाई आतंकित पार्ने काम भइरहेको थियो। बच्चालाई स्कुल पठाउन पनि सकिएन भनेर पनि गुनासा आए। गुनासो बढ्दै गएपछि हामीले स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू अभियान नै सञ्चालन गरेर समात्न थालेका हौं,’ पुरीले सेतोपाटीसँग भने, ‘अहिले जिल्लाका ७५ वटै प्रहरी युनिटकहरू अपरेसन एम्बुसिङ एण्ड ट्र्याकिङमा सक्रिय छन्।’
नियन्त्रणमा लिएपछि प्रहरीले सम्बन्धित मोटरसाइकल चालकको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) हेर्ने गरेको छ। त्यसक्रममा विगतमा कुनै अपराधिक कार्यमा संलग्न रहेको इतिहास भेटिएकालाई विशेष निगरानीमा राखिएको एसपी पुरीले बताए।
‘५ जनालाई त सिआरएसको आधारमा मुद्दा नै चलाइयो। सबैको रेकर्ड राखिएको छ। जेन–जी आन्दोलनको क्रममा तोडफोड, आगजनीमा संलग्न रहेछन् भने त्यो कसुरमा कारबाही गर्ने परिस्थिति पनि आउँछ,’ उनले भने।
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्र खनालले नियन्त्रणमा लिइएका मोटरसाइकल र चालकहरू विस्तृत विवरण संकलन गरेर राखिएको बताए। सवारी साधनको स्वरूप परिवर्तन गर्ने वर्कसपहरूलाई पनि कानुनको दायरामा ल्याएर विवरण राखिएको जानकारी उनले दिए। यो विवरणले कानुनी प्रकृया पूरा गरेर छुटेपछि भविष्यमा फेरि समातिएको अवस्थामा पटकेको रूपमा थप कारबाही गर्न सहज हुने खनाल बताउँछन्।
उनकाअनुसार अहिले नियन्त्रणमा लिइएकाहरू कम उमेरका, देखासिकीमा स्वरूप परिवर्तन गरेका, अभिभावकलाई नटेर्ने स्वभावका छन्।
उनीहरूलाई काउन्सिलिङ गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने अभिभावकको प्रतिबद्धतापछि मोटरसाइकलको स्वरूप पहिलेकै अवस्थामा फर्काएरमात्रै छाड्ने गरिएको खनालले बताए।
‘कतिपयले आफैले साइलेन्सर पाइप काटेर तार निकाल्ने रहेछन्। कसैले वर्कसपमा लगेर स्वरूप परिर्वतन गर्ने रहेछन्। कोहीले त साइलेन्सर पाइपमा चिया खाने गिलास, टिन जोडेर ठूलो आवाज निकाल्ने बनाएको पाइयो,’ खनाल भन्छन्, ‘हाम्रो नियन्त्रणमा आएपछि सबैले गल्ती गरियो अब यस्तो गर्दैनौं भन्छन्। फेरि यस्तै अवस्थामा भेटियो भने अहिलेभन्दा कडा कारबाही हुन्छ भनेर छाड्ने गरिएको छ। आइतबारमात्रै ४ वटा मोटरसाइकल जरिबाना तिराएर अभिभावकको जिम्मा लगाई छाडियो।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर अनिल थापाले स्वरूप परिवर्तन गरिएका र ध्वनी प्रदूषण बढी गरेका मोटरसाइकलको विषयमा चाडपर्वमा धेरै गुनासो आएको बताए।
सोही गुनासोको आधारमा नियमित जाँचको क्रममा ठूलो आवाज निकाल्ने सवारी साधनलाई नियन्त्रणमा लिने अभियान सञ्चालन गरिएको बताए।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा अनुमति बिना सवारी साधनको स्वरूप परिर्वतन गर्न नपाइने उल्लेख छ। यही ऐनको आधारमा प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनका चालकलाई चिट काटेर यातायात व्यवस्था कार्यालय पठाउने गरेको छ।
‘जरिबाना तिरेको भौचर ल्याएपछि मोटरसाइकलको सक्कली स्वरूप बनाएर मात्रै छाड्छौं,’ थापाले भने।
प्रहरीले सवारी साधनको स्वरूप परिर्वतन गर्नेलाई कम्तीमा १४ हजार रुपैयाँ जरिबाना गर्ने गरेको छ।
एसपी पुरीले यो अभियानले दुर्घटना तथा समाजमा हुने झैझगडा, कुटपिट तथा अराजक गतिविधिमा कमी आउने विश्वास लिएको बताए।
‘हामीले नियन्त्रणमा लिएर बोलाएपछि अभिभावक आएर हामीलाई टेर्दैन भनेपछि अरू गतिविधिको आधारमा मुद्दा पनि चलाइयो। अभिभावकलाई नटेरेर साथीको देखासिकीमा अपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेको हामीले पायौं,’ पुरीले भने, ‘अपराधिक घटना नियन्त्रण गरेर समाजमा शान्ति कायम गर्न हामी लागिपरेका छौं। आम जनताको चाहना यही छ।’
उनले गुनासो सुनिँदासम्म यो अभियानले निरन्तरता पाउने बताए।