साझा यातायातले पहिलो लटमा परीक्षणका लागि बिजुली बस ल्याउने भएको छ। परीक्षणका लागि तीनवटा बिजुली बस ल्याइने साझा यातायातका सुपरभाइजर हरिराम मिश्रले जानकारी दिए।
साझाले गत चैत १३ गते बोलपत्र आह्वान गर्दै ४० वटा बिजुली बस किन्न प्रकृयाअघि बढाएको थियो। बस किन्ने टेण्डर आह्वानमा ९ चिनियाँ कम्पनीको बोलपत्र परेकोमा सिएचपिसी कम्पनीले टेण्डर पाएको छ। आर्थिक तथा प्राविधिक मूल्यांकन गर्दा सिएचपिसी कम्पनी छनोट भएको हो।
प्राविधिक स्पेसिफिकेसनहरु मिलेको र कम मूल्य कबोल गरेकाले सिएचटिसीको प्रस्ताव स्वीकृत गरिएको साझाले जानकारी दिएको छ।
उक्त कम्पनीमार्फत बस ल्याउनका लागि एक महिना अगाडि नै एलसी खुला गरिसकिएको छ।
साझाका सञ्चालक भुषण तुलाधरका अनुसार तीन वटा बस ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छन्/छैनन् परीक्षण गरिनेछ। ठीक भएमा आठ महिनापछि थप ३७ वटा बस ल्याइने गरी कम्पनीसँग सम्झौता भएको साझाका सुपरभाइजर मिश्र बताउँछन्। बसहरु कम्पनीले पाँच वर्षसम्म बस मर्मतसम्भार समेत गर्नेछ।
सम्झौताअनुसार साझाले ४०बिजुली बस र २० वटा चार्जरका लागि ४५ करोड ११ लाख नेपाली रुपैयाँ बढी र तालिम, पाँच वर्षको मर्मतसम्भारसहित स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ सिएचपिसी कम्पनीलाई दिनुपर्नेछ।
२६ सिट क्षमताका बस अपांगमैत्री हुनेछन्। यी बस एक पटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु राखेर २०० किलोमिटर गुड्न सक्ने उल्लेख गरिएको छ।
४० बसहरुसँगै साझाले यीभन्दा ठूला चार बिजुली बस खरिद प्रकृया अगाडि बढाएको बताएको छ। साथै सरकार र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न अनुसन्धान भइरहेको सञ्चालक तुलाधरको भनाई छ।
सार्वजनिक यातायातको विद्युतीकरणले आयातित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी उर्जाले विस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा पुग्ने साझाको विश्वास छ।
अर्कोतिर बिजुली बसले वायुप्रदुषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुर्याउने तुलाधर बताउँछन्। जसकारण पनि साझाले आउँदा दिनमा विद्युतीय बसको प्रयोग बढाउँदै लैजाने उनको जोड छ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा काठमाडौंसँगै देशका अन्य स्थानमा समेत बिजुली बस विस्तार गरिने साझाको भनाई छ।