सरकारले २५० सिसीभन्दा माथिका दुईपांग्रे (मोटरसाइकल र स्कुटर) ले तिर्नुपर्ने सडक निर्माण दस्तुर घटाएको छ।
यसअघि २५० सिसीदेखि ४०० सिसीसम्मका दुईपांग्रेले प्रतिगोटा ५० हजार रूपैयाँ तिर्नुपर्नेमा अब २० हजार रूपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको हो।
त्यस्तै ४०० सिसीभन्दा माथि क्षमताका लागि सवारी साधनको मूल्यको १० प्रतिशत तोकिएको छ। यस अघिसम्म ४०० सिसी नाघेकोले एक लाख रूपैयाँ तिर्नुपर्ने थियो।
यो नयाँ नीतिले ४०० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल जसको मूल्य ९ लाख ९९ हजारसम्म पर्छ, उनीहरूलाई सडक निर्माण दस्तुर पहिलेको तुलनामा कम पर्नेछ। अर्थात् सडक निर्माण दस्तुर घट्छ।
तर, १० लाखभन्दा बढी पर्ने मोटरसाइकलमा लाग्ने सडक निर्माण दस्तुर भने बढ्नेछ। नेपालमा १० लाख भन्दा बढी मूल्यका दर्जन बढी दुईपांग्रे उपलब्ध छन्। तिनीहरूको सडक निर्माण दस्तुर भने बढ्नेछ। उदाहरणको लागि बेनेलीको टिएनटी ६०० आई, ७५२ एस जसको मूल्य क्रमशः २३ लाख ५८ हजार र २५ लाख १५ हजार रूपैयाँ तोकिएको छ।
सरकारले २५० सिसीदेखि ४०० सिसीसम्मका मोटरसाइकलमा लाग्ने अन्तः शुल्क पनि घटाएको छ। यसअघि ९० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ६० प्रतिशत मात्र लाग्ने भएको छ।
अन्तः शुल्क र सडक निर्माण दस्तुर घटेसँगै केही कम्पनीहरू मोटरसाइकलको मूल्य घट्ने बताइरहेका छन्। बजाजले ४०० सिसी क्षमताको डोमिनार-४०० को मूल्य ६ लाख ५९ हजार नौ सय रुपैयाँबाट घटाएर ५ लाख ९९ हजार नौ सय रुपैयाँ पुर्याएको छ।
होन्डाले पनि २५० सिसीभन्दा बढी क्षमता भएको मोटरसाइकल सेगमेन्टमा मूल्य घट्ने बताएकाे छ। कम्पनीले धेरैजसो १२५ सिसीदेखि २५० सिसीसम्मको मोटरसाइक बिक्री गर्दैछ। यद्यपि ५ प्रतिशत मोटरसाइकल माथिल्लो सेगमेन्ट अर्थात् २५० सिसीभन्दा बढी क्षमताको छ।
बेनेली जस्ता कम्पनी जसले तेस्रो मुलुकबाट उत्पादन आयात गर्छन्, उनीहरू भने साधनको मूल्य घट्नेमा यकिन साथ भन्न सकिरहेका छैनन्। 'हामी तेस्रो मुलुक आयातकर्ता हौं। अहिले चीनमा उत्पादनको मूल्य बढिरहेको छ। नेपालमा अन्तःशुल्क घट्यो अब हामी बाइकको मूल्य घटाउँछौं भन्ने स्थितिमा छैनौं,' कम्पनीका एक अधिकारीले भने, 'चीनबाट नयाँ मूल्य सूची आउँछ। त्यसपछि निश्कर्षमा पुग्छौं।'
ती अधिकारीका अनुसार चीनबाट आउने उत्पादनको मूल्य सूचीलाई नेपालमा घटेको अन्तः शुल्क र सडक निर्माण दस्तुर घटेको/बढेकोसँग तुलना गरेपछि नै आवश्यकताअनुसार मूल्य सूची परिमार्जन गरी सूची सार्वजनिक गरिनेछ।
हाल नेपालमा होन्डा, यामाहा, केटिएम, बजाज, कावासाकी, सिएफ मोटो, रोयल इन्फिल्ड, बिएमडब्ल्यू, हस्कभर्ना, बेनेली जस्ता ब्रान्डको २५० सिसीभन्दा माथिका मोटरसाइकल उपलब्ध छन्।
सरकारले १२५ सिसीदेखि २५० सिसीसम्मका दुईपांग्रेले तिर्नुपर्ने सडक निर्माण दस्तुरमा भने कुनै परिवर्तन गरेको छ। १२५ सिसीसम्मका दुईपांग्रेले १५ हजार रूपैयाँ र १२५ सिसीदेखि २५० सिसीसम्मका दुईपांग्रेले १८ हजार रूपैयाँ सडक निर्माण दस्तुर तिर्नुपर्ने व्यवस्था छ।
धक्का दिन विद्युतीय मोटर मात्र भएका मोटरसाइकल र स्कुटरले भने प्रतिगोटा १० हजार रूपैयाँ सडक निर्माण दस्तुर बुझाउनुपर्ने हुन्छ। विद्युतीय दुईपांग्रे (मोटरसाइकल र स्कुटर)को लागि भने कुनै पनि प्रकारको सडक निर्माण दस्तुर तोकिएको छैन।
सरकारले चार पांग्रे सवारी साधनहरूको सडक निर्माण दस्तुरमा पनि परिवर्तन गरेको छैन।
चार पांग्रेमा बस, मिनीबस, माइक्रोबस, ट्रक, लरी, ट्रकलरी, मिनीट्रक, मिनीट्रिपर, बन्द कन्टेनर सहितको ट्रक, ग्याँस बोक्ने बुलेट, ट्याकंकर, ट्रक चेसिसमा जडान भएको गार्बेज कम्प्याक्टर र सिमेन्ट बल्करले वार्षिक मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने हुन्छ।
२००० सिसीसम्मका कार, जीप, पिकअप गाडी तथा डेलिभरी भ्यानहरूले वार्षिक मूल्यको ८ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने व्यवस्था छ। २००० सिसीभन्दा माथिका सोही सवारी साधनको लागि भने मूल्यको १० प्रतिशत सडक निर्माण दस्तुर तोकिएको छ।
धक्का दिने विद्युतीय मोटर मात्र भएका कार, जीप, भ्यान (तीन पांग्रे बाहेक) ले लागि प्रतिगोटा ५ प्रतिशत र धक्का दिने विद्युतीय मोटर मात्र भएका बस, मिनिबस, माइक्रोबस र ढुवानीका साधन (तीन पांग्रे बाहेक) ले मूल्यको २.५ प्रतिशत सडक निर्माण दस्तुर तिर्नुपर्ने हुन्छ।
विद्युतीय चार पांग्रे (कार, जीप र भ्यान)को लागि भने प्रतिगोटा मूल्यको ५ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने हुन्छ।