दाङको तुलसीपुरका सुमन चौधरी बाँकेको कोहलपुर चोकमा गाडीको प्रतीक्षामा थिए। असारको पहिलो साता चर्को घामले हैरान देखिन्थे।
पूर्व–पश्चिम राजमार्ग सम्मुखको चिटिक्क नयाँ बसपार्क नियाल्दै सुमनले ड्युटीका एक ट्राफिक प्रहरीलाई सोधे– सर, यो केको कार्यालय हो?
प्रहरीले भने– यो कोहलपुरको नयाँ बसपार्क हो। यो चालु भएपछि यात्रुहरू घामपानीमा उभिनु पर्ने छैन।
'कति राम्रो बनेको रहेछ,' सुमनले फेरि सोधे, 'कहिलेदेखि चल्ने रहेछ?
यो प्रश्नको जवाफ आएन। ती ट्राफिक प्रहरीलाई थाहा पनि थिएन।
यो संवाद सुनिरहेकी सुर्खेत मेहलकुनाकी प्रमिला बमले बसपार्कतर्फ हेरिन्।
उनकी साथी मनीषा पुनलाई भनिन्– ओइ, हेर न, यहाँको नयाँ बसपार्क हो रे, कति राम्रो रहेछ!
बसपार्क सञ्चालनमा आएपछि उनीहरू सुर्खेत जाँदा–आउँदा सोझै कोहलपुर चोक भएर उत्तर–पश्चिम जान पाउने छन्।
'अहिले त यहाँ उभिने ठाउँ पनि छैन। यो चलेपछि हामी त्यो पुरानो र धूले बसपार्कमा जानु पर्दैन होला,' मनीषाले आशा प्रकट गरिन्।
पश्चिम महेन्द्रनगर जाने यात्रु महेन्द्र विष्ट पनि त्यहीँ आइपुगे। उनी पेसाले सानो गाडीका चालक रहेछन्। उनले पश्चिम नेपालका अधिकांश बसपार्कहरू अव्यवस्थित रहेको गुनासो गरे।
'म यात्राका क्रममा सकभर कतै पनि बसपार्कमा छिर्नु नपरोस् भन्ने कामना गर्ने व्यक्ति हुँ,' उनी भन्छन्, 'बसपार्कभित्रको वातावरणले उकुसमुकुस हुन्छ। फोहोरले सास फेरिनसक्नु हुन्छ।'
सर्वसाधारणका यस्तै समस्या समाधान गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले नयाँ बसपार्क बनाएको हो। कोहलपुर चौराहामा करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको बसपार्क आधुनिक छ। निर्माणको काम गत फागुनमै पूरा भए पनि नगरपालिकालाई हस्तान्तरण भइसकेको छैन।
नगरपालिका र निर्माण कम्पनी 'खड्का दया जेभी' बीच २०७७ फागुन २४ गते २७ करोड ८४ लाख रूपैयाँमा बसपार्क निर्माणको ठेक्का सम्झौता भएको थियो।
'यो बसपार्क नेपालभरिमै आधुनिक छ। यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारको सुविधा उपलब्ध छ,' कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख बालकृष्ण महतराले भने।
बसपार्क प्रवेशका लागि दुईवटा गेट हुनेछन्। मुख्य गेट पश्चिमतर्फ चौराहमा छ जहाँबाट छोटो दूरीका सवारीसाधन छुट्ने छन्। यो गेट तयार भइसकेको छ।
लामो दूरीका सवारीसाधनले चौराहा नपुगी पूर्वबाटै सोझै प्रवेश पाउने छन्। पूर्वी गेट भने तयार भइसकेको छैन। पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजनाका कारण पूर्वी गेट तत्कालै प्रयोगमा आउन नसक्ने इञ्जिनियर महतराले बताए।
बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ। बाहिर निस्कन अलग्गै गेट छन्।
बाँके पश्चिम नेपालकै व्यापारिक केन्द्र हो। कोहलपुर नगर त्यसको धमनी हो। पूर्व–पश्चिम राजमार्ग कोहलपुर हुँदै वारपार भएको छ। यहाँ मेडिकल कलेज पनि छ। निकट भविष्यमा व्यापारिक केन्द्र बन्ने सम्भावनाका आधारमा बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटरहरू राखिएका छन्।
उत्तरतर्फ स्टोरसहितका २९ वटा ठूला सटर छन्। दक्षिणतर्फ स्टोरबिनाका ३० वटा सटर छन्। बसपार्कमा होटल र पसलका लागि सटरहरू निर्माण गरिएको महतराले बताए।
सबैजसो सटर बुकिङ भएका छन्। सटर भाडाबाट मात्रै नगरपालिकाले वार्षिक डेढ करोड रूपैयाँ आम्दानी गर्ने देखिएको छ। व्यापारिक भवन, गाडी मर्मत गर्ने ग्यारेज भाडा, प्रवेश शुल्क, पार्किङ शुल्क, टिकट काउन्टर लगायत गरी एकमुस्ट वार्षिक ४८ लाख रूपैयाँमा टेन्डर गर्ने योजना नगरपालिकाको छ।
सटर भाडामा दिँदा स्थानीयवासी प्राथमिकतामा परेका छन्। असी प्रतिशत सटर स्थानीयवासीका लागि र बाँकी बीस प्रतिशत खुला प्रतिस्पर्धाबाट अन्य व्यक्तिलाई छुट्ट्याइएको छ।
बसपार्कको बीचमा भागमा चार तलाको व्यापारिक भवन छ। भुइँतला आठ हजार वर्गफिट क्षेत्रफलको छ। लिफ्टसहितको उक्त भवनका माथिल्ला प्रत्येक तला पाँच हजार वर्गफिट क्षेत्रफलका छन्। व्यापारिक भवन वार्षिक ८७ लाख रूपैयाँमा टेन्डर आह्वान भएको छ।
यसअघि वार्षिक एक करोड रूपैयाँभन्दा बढीमा टेन्डर आह्वान भएकोमा आवेदन नपरेपछि रकम घटाएर फेरि आह्वान गरिएको हो।
व्यापारिक भवन पाँच तले बनाउने योजना रहे पनि हाल चार तले मात्रै बनाइएको महतराले बताए। उनका अनुसार बसपार्क पूर्ण रूपमा सञ्चालन भएपछि नगरपालिकाले वार्षिक कम्तीमा तीन करोड रूपैयाँ आम्दानी गर्नेछ।
व्यापारिक भवनसँगै जोडिएका दसवटा कोठामा बीसवटा टिकट काउन्टर बनाइएका छन्। सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ। बसपार्कभित्र दुई वटा चार्जिङ स्टेसन पनि छन्। विद्युतीय गाडी प्रर्वद्धन गर्ने उद्देश्यले करिब एक करोड रूपैयाँ लागतमा नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन बनाइदिएको हो। चार्जिङ स्टेनसनबाट हुने आम्दानी नगरपालिका र प्राधिकरणबीच बाँडफाँट हुनेछ।
बसपार्कका शौचालयहरू सुविधायुक्त छन्। यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ। टर्मिनल भवनमा यात्रु प्रतीक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ। बसपार्कभित्र जहाँसुकै धूम्रपान गर्न पाइने छैन। निर्धारित ठाउँ अर्थात 'स्मोकिङ जोन' छुट्ट्याइएको छ। त्यस्तै केही बिरूवा पनि रोपिएको छ।
यहाँ तीन वटा 'हाई मास्क लाइट' राखिएका छन्। रातमा पनि झलमल्ल उज्यालो हुनेछ।
बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला बस तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ।
गत फागुन चौथो सातामै निर्माण पूरा भएको बसपार्क सञ्चालन भइसकेको छैन। नगरपालिकाका पूर्वाधार विकास प्रमुख महतराका अनुसार टेन्डर प्रक्रियाका कारण सम्झौता र व्यवस्थापनमा पनि केही ढिलाइ भएको हो।
नगरपालिकाले नगर विकास कोषसँग साझेदारीमा यो बसपार्क बनाएको हो। कुल लागतमा विकास कोषले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत बेहोरेका छन्। नगरपालिकाले यो रकम ऋणमा लिएको हो।
निर्माण कम्पनी 'खड्का दया जेभी' का इञ्जिनियर अञ्जयकुमार ठाकुरले नेपालमा हालसम्म बनेमध्ये कोहलपुरको यो बसपार्क सुन्दर र अत्याधुनिक भएको दावी गरे।
'मैले यो जत्तिको आधुनिक बसपार्क नेपालमा कहीँ देखेको छैन। यहाँ हरेक सुविधा छ। देशकै जनशक्तिबाट यति राम्रो बसपार्क बन्नु खुसीको कुरा हो,' उनले भने।
उनका अनुसार निर्माण कम्पनीका तर्फबाट सबै काम काम पूरा भएको छ। अब भुक्तानी र हस्तान्तरणको काम मात्रै बाँकी हो। यो पनि चाँडै हुने विश्वास उनले व्यक्त गरे।