अभिनेता निखिल उप्रेतीले आफूलाई विगतमा चालक हुन मन लागेको बताएका छन्। लामो लरी चलाएर पूर्व-पश्चिम यात्रा गर्ने चाहना अझै पनि रहेको उनले बताए।
शनिबार दाङको तुलसीपुरमा त्रिशिद्धेश्वरी यातायात सेवाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै निखिलले यस्तो बताएका हुन्।
उनले आफू सिनेमाको नायक भए पनि वास्तविक जीवनमा सार्वजनिक यातायातका सवारी चालकहरू नायक भएको बताए।
'बस वा सार्वजनिक सवारी चलाउनेलाई पनि पाइलटसरह सम्मान गरिनुपर्छ। आकासमा यात्रु उडाउने र जमिनमा यात्रुलाई सुरक्षित गुडाउने दुवैको भूमिका उत्तिकै महत्वपूर्ण छ,' उनले भने।
यातायात क्षेत्रमा केही सुधार हुनुपर्ने र चालकले गाडी चलाउने तरिकादेखि यात्रुलाई गर्ने व्यवहारसम्म सुधार हुनुपर्ने पनि उनले बताए।
'अब चालकहरू थप जिम्मेवार र स्मार्ट बन्न सक्नुपर्छ। पेसा कुनै पनि ठूलो सानो हुँदैन,' उनले भने, 'अरूको प्रगतिमा रिस वा डाह नगरी आफ्नो पेसालाई सम्मान गर्ने बानी विकास गर्नुपर्छ।'
कार्यक्रमलाई सम्बोधन गर्दै हाँस्य व्यंग्य कलाकार कमल गाउँलेले पनि यातायात क्षेत्रको नेतृत्व गर्नेहरू वास्तविक हिरो भएको बताए।
'नेपालमा खोल्सा र मोड्नै नसकिने घुम्तीहरूमा चालकले वारपार गराउनु चानचुने कुरा होइन। दुर्घटनामा सडकको अवस्था पनि प्रमुख कारक हो। अहिले राम्रा बसहरू आएका छन् तर बाटो उध्रेको सिरक जस्तै छ,' उनले भने, 'तर चालकहरूले पनि आफ्नो व्यवहार राम्रो बनाउनुपर्छ।'
त्रिशिद्धेश्वरी यातायातले चिठ्ठा कार्यक्रम पनि सञ्चालन गरेको थियो। प्रालिमा आवद्ध सवारीधनीका लागि नगददेखि टायर तथा लुब्रिकेन्ट्स उपहार कार्यक्रम गरिएको थियो। एक जना गाडीधनीले ५५ हजार रूपैयाँभन्दा बढीको चिठ्ठा जिते भने केहीले टायर र केहीले लुब्रिकेन्ट्स जिते।
प्रालिमा निरन्तर चार कार्यकाल नेतृत्व गर्दै आएका अध्यक्ष सुरेश हमालले भने, 'भौतिक सम्पत्तिका हिसाबले त्रिशिद्धेश्वरी यातायात सबभन्दा धनी हो।'
उनका अनुसार प्रालिमा हाल ६ सय वटाभन्दा बढी बस छन् भने दुई हजारभन्दा धेरै कर्मचारी छन्। यसले देशका विभिन्न ठाउँका साथै भारतको दिल्लीसम्म दाङदेखि सिधा बस सेवा सञ्चालन गर्दै आएको छ।
संस्थापक अध्यक्ष देवीबहादुर डिसीले भने सरकारप्रति गुनासो गरेका थिए।
'नेपालमा यातायात मन्त्रालय छ भन्नु मजाक मात्रै हो। प्लेन दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा पनि छानबिन समिति बन्छ। बस दुर्घटनामा दोब्बर, तेब्बर मानिसको मृत्यु हुँदा पनि राज्यले वास्ता गर्दैन। के मानिसको मृत्यु र मूल्य पनि धनी र गरिबका बीचमा फरक हुन्छ र,’ उनले भने।
कार्यक्रमका अरू वक्ताहरूले पनि राज्यले सवारी सञ्चालनका लागि केन्द्रीय राजधानी बाहेक अन्यत्र उपयुक्त सडक निर्माण गर्न नसकेको भन्दै गुनासो गरेका थिए।