नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बिवाइडी एम–६ सार्वजनिक गरेको छ।
पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको अवसरमा हट एयर बेलुन उडाएर एम–६ सार्वजनिक गरिएको हो।
कम्पनीले सार्वजनिक गरेकै दिन सेवाग्राहीलाई १०० वटा गाडी पनि बिक्री गरेको जनाएको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाइडी एम सिक्स वातावरणमैत्री भएको र यसले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
'हामीले देख्यौं हाम्रो माछापुच्छ्रे हिमालमा हिउँ रित्तिएको छ। जलवायु परिवर्तनको असर हाम्रा प्राकृतिक स्रोत साधनमा परिरहेको छ। हामीले कसरी जोगाउने भनेर सोच्न जरूरी छ। बिवाइडीका गाडीले पनि वातावरण जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ,' उनले भनिन्।
साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले बिवाइडीका गाडीहरू वातावरणमैत्री प्रिमियम भएको बताए। एम–६ मा अत्याधुनिक प्रविधि र विशेषता रहेको उल्लेख गर्दै यात्रुहरूका लागि निकै आरामदायी भएको बताए।
एम–६ गाडीको मूल्य ५८ लाख ९० हजार रूपैयाँ तोकिएको छ। बिवाइडी एम–६ मा ५५.४ र ७१.८ किलोवाट आवरको दुई किसिमका ब्याट्री पाउन सकिन्छ। १०० किलोवाटको मोटर उपलब्ध छ।
५५.४ किलोवाटको ब्याट्रीले ४२० र ७१.८ किलोवाटको ब्याट्रीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
यो ७ सिटर गाडीमा हो। यसको लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम र उचाइ १६९० एमएम छ।
गाडी ब्याक गर्नुपर्दा पछाडिको अवस्था देखिने डिस्प्ले राखिएको छ। यसमा वायरलेस फोन चार्जिङ लगायत नवीनतम प्रविधि जोडिएको छ।